युरो ६ मापदण्ड आएमा गाडीको मूल्य महंगो हुने, अन्य सम्भावना यस्तो

फेरि एक पटक युरो ६ को चर्चा चुलिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले केही दिन पहिले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई ‘युरो ६’ मापदण्ड लागू गर्ने घोषणा गरेका थिए । यससँगै फेरि सवारी साधनमा यो मापदण्ड लागू हुने सम्भावना बढेको छ ।

विशेष गरी चारपांग्रे र त्यसमा पनि नेपालको सन्दर्भमा बस लगायतका ठूला सवारी साधनमा यो मापदण्ड लागू भयो भने कस्तो असर पर्ला भनेर आँकलन गर्न थालिएको छ । पहिले पनि पटक पटक यो मापदण्ड लागू गर्ने चर्चा भए पनि लागू हुन सकेको छैन ।

यदि यो मापदण्ड लागू भयो भने कस्तो अवस्था होला ? यसको वारेमा समेत छलफल हुन थालेको छ । यसो भएमा नेपालमा उपलब्ध हुने सवारी साधन गुणस्तरीय हुनुका साथै आवश्यक पूर्वाधार समेत निर्माण गर्नु आवश्यक हुन्छ । यसले गर्दा उपभोक्ताले अन्ततोगत्वा महंगो मूल्यमा सवारी साधन खरिद गर्नु पर्ने अवस्था आउन सक्छ ।

नेपालको सन्दर्भमा धेरै दुई पांग्रे सवारी साधन निर्माता कम्पनीहरुले बीएस६ मापदण्डका सवारी भित्र्याइरहेका छन् । चारपांग्रेमा पनि साना सवारी साधनमा यस्तो समस्या कमै छ । हेभी सवारी साधनका लागि भने यसले केही फरक पार्न सक्ने सम्भावना छ ।

सरकारले नीति तथा कार्यक्रममा यस मापदण्डलाई लागू गर्ने विषय समावेश गरेसँगै यसको कार्यान्वयन छिट्टै हुने विश्वास धेरैले लिएका छन् । सहरी पूर्वाधार विज्ञ आशिष गजुरेलले स्वचालित उत्सर्जन नियन्त्रण प्रविधिहरू अब सवारीहरूको अनिवार्य भाग बन्न थालेको अवस्थामा यो दीर्घकालीन दृष्टिले ऊर्जा दक्षता र न्यून उत्सर्जन सन्तुलनका लागि महत्वपूर्ण कदम सावित हुने बताए ।

गजुरेलका अनुसार युरो ६ मापदण्ड लागू भएपछि पेट्रोलियम गाडी बिक्रेता कम्पनीहरूले पूर्वाधार र लगानी बढाउनु पर्ने हुन्छ । ‘यो मापदण्ड लागू भएपछि सोही अनुसारको पेट्रोलियम पदार्थको आयात हुनुपर्छ, यसमा निजी क्षेत्र र राज्य दुवैको लगानी आवश्यक पर्छ, नयाँ विषय लागू गर्नको लागि तत्पर नहुने र अनेक बहाना गरेर पछाडि हट्दा चाहिँ समस्या भएको छ,’ उनले भने । यो मापदण्डलाई जतिसक्दो छिटो लागू गर्नुपर्ने गजुरेलको भनाई छ ।

नेपालमा युरो ६ मापदण्ड लागू गर्ने लक्ष्य भए पनि यसको कार्यान्वयन निकै चुनौतीपूर्ण छ । पूर्वाधार, इन्धनको गुणस्तर, सवारी साधनको अवस्था र नीति-नियमको प्रभावकारिता जस्ता पक्षले यो प्रक्रिया जटिल रहेको बताइन्छ । यद्यपि, दीर्घकालीन दृष्टिकोणबाट हेर्दा यो आवश्यक र लाभदायक कदम हो ।

युरो ६ मापदण्ड कार्यान्वयनको लागि आवश्यक इन्धन (कम सल्फरयुक्त पेट्रोल र डिजेल) नेपालमा अझै उपलब्ध छैन । भारतले पनि पूर्ण रूपमा युरो ६ मापदण्ड इन्धन वितरण सुरु गरेको धेरै समय भएको छैन । त्यहीबाट इन्धन आउने भएकाले नेपाल आयल निगमले युरो ६ अनुकूल इन्धन आयात गर्न अतिरिक्त तयारी गर्नुपर्ने हुन्छ ।

यसका लागि सरोकारवाला आदि सबैसँगको छलफल गरी उचित रणनीति बनाएको खण्डमा नेपालमा यो मापदण्ड लागू गर्न सम्भावना रहेको सहरी पूर्वाधार विज्ञ गजुरेलले बताए । ‘नेपालमा यो मापदण्ड लागू गर्न सकिन्छ, प्रदूषण बढ्दो क्रममा रहँदा तत्काल युरो ६ मापदण्ड कार्यान्वयन गर्नुपर्ने देखिन्छ,’ उनले भने ।

नाडाले केही पूर्व तयारी गरेर मात्र प्रदूषण मापदण्ड सम्बन्धी नयाँ नियम लागू गर्नुपर्ने बताएको छ । सम्पुर्ण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागू गर्ने प्रस्तावलाई नाडा अटोमोबाइल्स एसोसिएसनले सकारात्मक रुपमा लिएको बताएको छ । यद्यपि यसको समग्र पूर्वाधार तयारीका लागि चरणवद्ध रुपमा लागू गर्दे जानु पर्ने नाडाले बताएको छ ।

यसलाई आवश्यक तयारीका साथ मात्र लागू गर्नु पर्ने कुरामा नेपाल अटो मेकानिक्स व्यवसायी संघ समेत रहेको छ । संघका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले आवश्यक तयारी गरेर र त्यस्ता सवारी साधनका लागि आवश्यक मर्मत सम्भार गर्न सकिने व्यवस्था गरेर मात्र सो मापदण्ड लागू गरिनु पर्ने बताएका छन् ।

नेपालमा युरो ६ उत्सर्जन मापदण्ड लागू भएपछि गाडीको मूल्यमा वृद्धि हुनेसक्ने सम्भावना प्रबल छ । युरो ६ मापदण्डमा आधारित गाडीहरूमा उन्नत इन्जिन प्रविधि र सफ्टवेयर प्रणालीको आवश्यकता पर्छ । यसका लागि विशेष तालिम प्राप्त प्राविधिकहरू साथै इन्फ्रास्ट्रक्चरमा पनि लगानी बढाउनु पर्ने हुन्छ ।

त्यसैले यसमा मापदण्ड लागू भएपछि केही हदसम्म गाडीको मूल्य बृद्धि हुने अटो व्यवसायीहरू पनि बताउँछन् । मापदण्ड लागू भएपछि सबै भन्दा बढी असर डिजेल इन्जिनका गाडीमा पर्ने नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले बताए । ‘युरो ६ ले विशेष गरी डिजेल इन्जिनका गाडीलाई असर गर्नसक्छ, यसमा केही हदसम्म मूल्य बढ्न सक्नेछ,’ उनले भने ।

भारत वाहेक अन्य देशबाट आएका सवारीहरूलाई यसले असर गर्ने चौधरीले जानकारी दिए । यस्तै, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले युरो ६ मापदण्ड लागू भएपछि इन्जिन गाडीको मूल्य सामान्यतया बढ्ने बताए ।

उनका अनुसार युरो ६ को सबै प्रक्रिया पूरा भइसकेकाले यसलाई तत्काल कार्यान्वयन गर्ने सम्भावना रहेको छ । ‘मापदण्ड लागू भएपछि प्रिन्सिपल कम्पनीसँग बिक्रेता कम्पनी आफैले वार्ता गर्ने हो, त्यसपछि कति बढ्छ, त्यो थाहा हुन्छ, यस विषयमा नेपाली अटो कम्पनीहरूले पनि आ-आफ्नो तयारी गरिसकेका छन्,’ उनले भने ।

बिक्री गरिने कुनै पनि नयाँ गाडीले निकाल्ने प्रदूषणको स्तरलाई युरो स्ट्यान्डर्ड वा युरोपियन इमिसन स्ट्यान्डर्ड भनिन्छ । युरोपियन युनियनले लागू गरेको सो स्ट्यान्डर्ड सवारी साधनले निकाल्ने नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड, टोटल हाइड्रोकार्बन (टीएचसी), नन–मिथेन हाइड्रोकार्बन र पार्टिक्युलेट म्याटर (पीएम) मा आधारित हुन्छ । सवारी साधन अन्तर्गत कार, ट्रक, ट्रयाक्टर र अन्य लोकोमोटिभ पर्छन् भने यसमा सामुद्रिक जहाज र हवाईजहाज भने पर्दैनन् । सवारी साधनको प्रकार अनुसार यसलाई विभाजन गरिन्छ । यसरी तोकिएको मापदण्ड पालना नगर्ने सवारी साधनलाई युरोपियन युनियन अर्थात ईयूमा बिक्री गर्न पाइदैन । छोटकरीमा भन्दा यसबाट हावाको गुणस्तरमा सुधार गर्ने उद्देश्य राखिएको हुन्छ ।

सम्बन्धित समाचारहरू

गुगल म्यापमा अब इन्धन बचाउने फिचर उपलब्ध हुने

गुगल म्यापमा अब इन्धन बचाउने फिचर उपलब्ध हुने

टेक कम्पनी गुगलले प्रयोगकर्ताको अनुभवलाई अझै राम्रो बनाउनका लागि गुगल...

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

दैलेख । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ ।...

पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...