पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मुस्ताङ । मुस्ताङको मार्फा भन्ने वित्तिकै त्यहाँ स्याउको बगान । पुराना प्राचीन घरहरू । गाउँभित्र साँघुरो गल्ली र त्यसभित्र चाहार्दै जाँदा एक दर्जन बढी शाखा गल्लीगल्ली । त्यही जैविक तथा सांस्कृतिक विविधताले भरिएको छ मुस्ताङको मार्फा ।

यही पृष्ठभूमिलाई समेट्दै त्यही गाउँ जन्मिएकी एक सर्जक स्वर्गाीय बसन्ती लालचनले तीन दशक अघि ‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा’ गीत रचना गरेकी थिइन् । ज्योति गुरूङको स्वर रहेको त्यही गीतले नेपालभरी मार्फालाई गुञ्जायो, त्यसपछि त मुस्ताङको मार्फा नआउने पनि मुस्ताङमा मार्फा गाउँ छ भन्ने थाहा पाए ।

आजभोलि सडक सञ्जाल सहज हुँदै जान थालेपछि मुस्ताङको मार्फा गाउँ नपस्ने कुनै पर्यटक हुँदैनन् । सडकमार्गमा सवारी रोकेर मार्फा गाउँमा लुकेर रहेको भौतिक तथा सांस्कृतिक सम्पदा नियाल्न पर्यटक घण्टौँ बिताउँछन् ।

क्या राम्रो स्याउबारी मार्फा गावैमा गीतले भने जस्तै अहिले मार्फा गाउँको स्याउ बगानमा स्याउ देख्न पाइँदैन । पुस र माघ महिनामा स्याउ बगैँचा व्यवस्थापन गरिएका यहाँका स्याउ बगानमा स्याउको फूल फूल्ने तयारीमा छ । बर्सेनि असोज कात्तिकमा स्याउ बगान ‘पोस्ट हार्भेस्ट’ गरिसकेपछि यहाँ स्याउ बगान उजाडमय हुन्छन् । बर्सेनि भदौदेखि असोज र कात्तिक महिनामा मुस्ताङ आउने पर्यटकले मुस्ताङको मार्फा स्याउ बगानमा लटरम्म स्याउ फलेको देख्न सक्छन् ।

हिउँदयाम सकिँदै गर्दा र वसन्त ऋतुको आगमनसँगै मुस्ताङको मार्फा गाउँमा आन्तरिक पर्यटकको उपस्थिति थेगिनसक्नु छ । राष्ट्रिय गौरवको (बेनी—जोमसोम) सडक नजिकै पर्ने मार्फा गाउँमा त्यहाँको पुरानो मौलिक कलासंस्कृति र त्यहाँका प्राचीन घरको संरचना र त्यही घर भित्रभित्र रहेको साँघुरो गोरेटो गल्ली बाटो पुग्ने पर्यटकका यो निकै अविष्मरणीय क्षण हुनेछ । मुख्य सडकमार्गबाट पश्चिम करिब दुई सय मिटरको भिरालो सतहमा अवस्थित मुस्ताङको मार्फा गाउँमा प्रत्येक दिन दिउँसोदेखि साँझसम्मै पर्यटकको निकै बाक्लो भीडभाड रहन्छ ।

सडकमार्ग स्तरोन्नति र विस्तारले मुस्ताङको मार्फा गाउँको पर्यटकीय गतिविधिलाई झनै चलाएमान बनाइदिएको छ । मुक्तिनाथ दर्शन र कोरलानाका पुगेर फर्किएका पर्यटक एक पटक मार्फा गाउँको अवलोकन गर्न छुटाउँदैनन् ।

सूर्य विनायक नगरपालिका भक्तपुरबाट मुक्तिनाथ दर्शन गर्न परिवारका सदस्यसहित मुस्ताङ आएका बलराम गौतम मुस्ताङको मार्फा गाउँको सांस्कृतिक सम्पदा देखेर आफू मोहित भएको बताए । पहिलो पटक मुस्ताङ आएका गौतमले मार्फा गाउँको परम्परागत सदियाैं वर्ष पुराना, ढुङ्गा र माटोले बनेका घर, प्रत्येक घरका छतमाथि राखिएका दाउराको चाङ र अनि गाउँभित्रको साँघुरो गोरेटो गल्ली चाहार्दा निकै आनन्दित तुल्याएको अनुभूति सुनाए । ‘मार्फा गाउँको मुख्य विशेषता भनेका यहाँको प्राचीन घर र साँघुरो गल्ली रहेछ’ उनले भने, “साँघुरो गल्लीभित्र होटल र समथिङ पसलनै रहेछन्, सडकमार्गमै पर्ने भएकाले यहाँ घुम्न निकै सजिलो पनि रहेछ ।”

मुस्ताङको मार्फा गाउँमा करिब एक सय भन्दाबढी घरधुरी छन् । जहाँका स्थानीयले कृषि र पर्यटन व्यवसाय अपनाएको पाइन्छ । स्याउ लगायतका अन्नबाली उत्पादन गरेर मनग्ये आम्दानी गर्ने मार्फाली समुदायले पर्यटन व्यवसायलाई पनि मुख्य आम्दानीको रूपमा व्यवसाय चलाउँदै आइरहेका छन् ।

बर्सेनि पर्यटक आगमन बढेसँगै पछिल्लो समय बेनी—जोमसोम मुख्य सडकमा स्याउ बगैँचा मासेर कङ्क्रिट होटल निर्माण गर्नेसमेत होडबाजी चलेको छ । मार्फा गाउँको पुरानो भौतिक संरचना मासिन नहुने घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन बताए ।

सडकमार्गमा कङ्क्रिट घर बनेपनि मार्फाको प्राचीन बस्तीको भौतिक तथा सास्ंकृतिक संरचना मासिएमा मार्फा गाउँको अस्तित्व सङ्कटमा पर्ने गाउँपालिका अध्यक्ष लालचनको भनाइ छ । मुस्ताङको पर्यटकीय गाउँ मार्फाको मुख्य सडकमार्गबाट अलग्गिएर गाउँतर्फ मोडिएर करिब पाँच सय मिटर बढी साँघुरो गल्लीमा पैदलयात्रा गरेपछि उत्तरतर्फको मुख्य राजमार्ग सडकमा निस्किन सकिन्छ । त्यहाँको भिरालो सतहमा एकआपसमा लस्करै जोडिएका प्राचीन घरभित्र दर्जनौँ शाखा गल्ली छन् । मार्फा र यहाँको साँघुरो गल्लीभित्र दर्जनौँ स्वदेशी तथा विदेश चलचित्र र म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।

यहाँ छायाँङ्कन भइसकेका चलचित्र, म्युजिक भिडियो र सामाजिक सञ्जालमा पोष्ट भएका दृष्यहरूले मार्फा गाउँको पर्यटनलाई थप उचाइमा पुर्‍याएको छ ।

पोखराबाट पहिलो पटक मुस्ताङ आएका सुरज कुँवरले मार्फा गाउँको सांस्कृतिक सौन्दर्यता अद्भूत भएको बताए । “हामीले बजारमा यस प्रकार सांस्कृतिक विविधता देख्न पाएका थिएनौँ, जुन यहाँ प्रत्यक्ष साक्षात्कार गर्न पाईयो”, कुँवरले थपे, “साँच्चै मुस्ताङको मार्फा गाउँ पुरानो सांस्कृतिक विविधतायुक्त पुरानो नेपाल देख्न पाइयो ।” उनले मार्फा गाउँ सम्बन्धिको ‘क्या राम्रो स्याउ बारी’ भन्ने गीत सानै छँदा सुनेपनि बमौसममा आएकाले स्याउ फलेको दृष्य देख्न नपाइएको बताए । मार्फा गाउँभित्र एक दर्जन बढी साँघुरा शाखा गल्ली छन् । मार्फा गाउँलाई थप पर्यटन प्रवर्द्धन गर्नका लागि पछिल्लो समय त्यहाँका गल्लीलाई विभिन्न प्रकारले नामाकरण गरिएको छ ।

त्यहाँका शाखा गल्लीमा कतिपयलाई चलचित्रको नामसँग जोडिएको छ । मार्फा गाउँभित्र जेरी गल्ली, कबड्डी गल्ली, टिकटक गल्ली र झाँक्री गल्ली लगायतका विभिन्न नामले गल्लीको परिचय खुल्ने गरी स्याउ आकृतिको साइनबोर्ड टाँसिएको छ ।

मार्फा गाउँभित्र चाहार्ने पर्यटकका लागि स्थानीय थकाली, गुरूङ र तिब्बतीय संस्कृति झल्किने मौलिक पोसाक लगाएर फोटो भिडियो खिच्न पाइने व्यवस्था मिलाइएको छ । मार्फा गाउँमा साँझपख स्थानीय मौलिक पोसाक लगाएर फोटो खिच्न पर्यटक लालायित हुने गर्छन् । साँघुरो गल्लीमा पर्यटकको गुल्जार हुँदा एकआपसमा ठोक्किन पुग्छन् ।

मुस्ताङको मार्फा गाउँभित्र एक बौद्ध धार्मिक गुम्बा छ । गाउँभित्रै जापानीज भिक्षु इकाई कावागुची बसेको पाँच सय वर्ष पुरानो घर छ । गाउँ नजिकैको एक थुम्कोमा घरपझोङ गाउँपालिकाले एप्पल पार्कसमेत निर्माण गरिसकेको छ । साँझपखको समयमा सडक बत्तीको उज्यालोले मार्फा गाउँको सौन्दर्यतालाई थप उजागर गरिदिन्छ ।

मार्फा गाउँमाथिको अग्लो पहाडसँगै जोडिएको गुफामा पुगेर त्यहाँको परिदृष्य अवलोकन गर्न सकिन्छ । मार्फा गाउँमा आधा दर्जन स्याउबाट बनाइने ब्राण्डी उत्पादन गर्ने प्रशोधित डिस्टिलरी छन् । मार्फामा नेपाल सरकारको स्वामित्वमा रहेको शीतोष्ण बागबानी विकास केन्द्र नामक कृषि फार्म छ । जसले मुस्ताङका किसानलाई कृषिखेती सिकाउने र बिरूवा उत्पादन गरेर सेवा पुर्‍याइ रहेको छ ।

सम्बन्धित समाचारहरू

९० प्रतिशतलाई छैन जानकारी, बाइकको गियर परिवर्तन गर्दा क्लचलाई आधा थिच्नुपर्छ कि पूरा ?

९० प्रतिशतलाई छैन जानकारी, बाइकको गियर परिवर्तन गर्दा क्लचलाई आधा थिच्नुपर्छ कि पूरा ?

बाइक चलाउँदा गियर परिवर्तन गर्ने प्रक्रिया एक महत्त्वपूर्ण भाग हो, जसले...

यी हुन् यो वर्ष लन्च गरिएका १२५ सीसी देखि १३०० सीसीसम्मका रोचक बाइक

यी हुन् यो वर्ष लन्च गरिएका १२५ सीसी देखि १३०० सीसीसम्मका रोचक बाइक

सन् २०२४ मा भारतीय मोटरसाइकल बजारमा केही नयाँ र रोचक मोडलहरू देखिएका छन् ।...

मोटरसाइकल र स्कुटरको बिक्रीले गति लिँदै, ५० प्रतिशतले बढ्यो आयात

मोटरसाइकल र स्कुटरको बिक्रीले गति लिँदै, ५० प्रतिशतले बढ्यो आयात

काठमाडौं–कोभिडपछि खस्कदै गएको मोटरसाइकल र स्कुटरको बजारले गति लिन थालेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...