सुन्दरका विद्युतीय बस भित्रिदाको कथा : नेपाल देश छ भन्ने थाहै नपाएका सीईओ यसरी बने विश्वस्त

चिल्ला गाडी, हेर्दै चढँुचढुँ लाग्ने, भित्री डेकोरेसन पनि उस्तै मनमोहक, विद्युतीय भुक्तानी गर्न मिल्ने । सुन्दर यातायातले सञ्चालनमा ल्याएको विद्युतीय बसको यिनै विशेषताका कारण यात्रुहरुको रोजाइमा परेको छ ।

यतिबेला काठमाडौं उपत्यकामा ४ वटा विद्युतीय बसले सेवा दिइरहेका छन् । छोटो समयमै यात्रुहरुको मन जित्न सफल बनेको विद्युतीय बसको माग बढ्दो छ । त्यसो त सुन्दर यातायातले थप २५ वटा विद्युतीय बस ल्याउन लागेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा बताउँछन् ।

नेपालमा विद्युतीय बस संचालनमा ल्याउनका लागि थापा र उनका साथीहरुको ठूलो भूमिका छ । देश विदेशमा घुमिरहने थापा विदेशमा चलेका विद्युतीय बसबाट लोभिए । उनी लगायत सुन्दर यातायात सञ्चालक सदस्यहरु बीचमा पनि नेपालमा विद्युतीय बस सञ्चालन गर्न कत्तिको सहज होला भनेर छलफल गरे । त्यसका लागि करिव ६ महिना लामो अध्ययन गरे । जसका लागि नेपाल इन्जिनियरिङ कलेज, थापाथली इन्जिनियरिङ कलेज र काठमाडौं विश्वविद्यालयका इन्जिनियरहरुसँग नेपालमा विद्युतीय बस चलाउन कतिको सम्भावना छ भनेर छलफल गरे । सबैबाट सकारात्मक सुझाव आएपछि विद्युतीय बस सञ्चालन गर्ने मनस्थितिमा पुगेको थापा बताउँछन् ।

यसरी सबैबाट सकारात्मक सुझाव आएपछि सुन्दर यातायात चिनियाँ कम्पनी बिएकेसँग व्यावसायिक सम्झौता गर्ने प्रक्रियामा लाग्यो । सुरुमा उनीहरुका लागि आर्थिक समस्याको पाटो त छँदै थियो, बिएकेले पनि झट्टै उनीहरुलाई विश्वास गरेन । कम्पनी नै दोधारमा भयो ।

सुन्दर यातायातको टिमले नेपालको भौगोलिक अवस्था र यहाँको सम्भावनाका बारेमा कम्पनीलाई जानकारी गराएपछि कम्पनीबाट मार्केटिङ अफिसर र एकजना इन्जिनियर नेपाल आए । नेपालमा आएर सबै हेरेपछि उनीहरु सकारात्मक भएर फर्किए । त्यसपछि सीईओसँग कुराकानी भयो ।

रोचक त के भने बिएकेको सीईओलाई ‘नेपाल’ देश छ भन्ने नै थाहा रहेनछ । त्यसैले सुरुमा बुझाउनका लागि निकै गाह्रो भएको थापा बताउँछन् । ‘हामी व्यावसायिक सम्झौताका लागि कुरा गरिरहेका छौं, तर सीईओलाई नेपाल देश छ भन्ने पनि थाहा रहेनछ,’ उनले भने, ‘उनी बुद्ध धर्म मान्दा रहेछन्, हामीले नेपाल बुद्ध जन्मिएको देश हो भनेपछि उनी नेपाल आउन उत्साहित भए ।’

केही समयमा बिएकेको सीईओ नेपाल आए । उनले काठमाडौं उपत्यकादेखि लुम्बिनीसम्मको भ्रमण गरे । नेपाल भ्रमण गरेपछि उनले नेपालमा विद्युतीय बस सञ्चालनका लागि पूर्ण प्रतिबद्धता जनाएको थापा बताउँछन् । ‘लुम्बिनी भ्रमण गरेर निस्कने बेलामा उहाँ निकै उत्साहित भएर जतिवटा विद्युतीय बस चाहिन्छ सहयोग गर्छु भन्नुभयो,’ उनले भने, ‘कम्पनीलाई राइट ह्यान्ड स्टेयरिङ भएको गाडी बनाउँदा त्यति फाइदा नहुने रैछ तैपनि उहाँले नेपालका लागि राइट ह्यान्ड स्टेयरिङ गाडी बनाइदिने प्रतिवद्धता जनाएर फर्किनुभयो ।’

कम्पनीका सीईओले नै बचन दिएपछि नेपालमा विद्युतीय बस आउने पक्का भयो । सोही अनुसार २०७६ असार ३ गते काठमाडौंमा ७ वटा विद्युतीय गाडी आए । २३ भदौमा उद्घाटन भएपछि अहिले २ वटा रुट सुर्यविनायक–काठमाडौं र चक्रपथ परिक्रमामा यी गाडी चलिरहेका छन् । साथै सुर्यविनायक गएको गाडी धुलिखेलसम्म पु¥याउनका लागि धुलिखेल नगरपालिकासँग सम्झौता भैसकेको थापा बताउँछन् । जसका लागि नगरपालिकाले चार्जिङ स्टेसन र पार्किङको बन्दोबस्त मिलाउँदैछ । पहिलो पटक यो बस धुलिखेल पनि पुगिसकेको छ ।

डेढ करोडभन्दा माथिका बस
सुन्दर यातायात र बिएके कम्पनीको संयुक्त लगानीमा सञ्चालनमा रहेका बस नेपालसम्म आइपुग्दा एउटा बसको १ करोड ६३ लाख रुपैयाँ परेको सुन्दर यातायातका अध्यक्ष थापा बताउँछन् । जसमा ५० प्रतिशत सुन्दर यातायातको र ५० प्रतिशत बिएकेको लगानी रहेको छ ।

बस १०.५ मिटर र ८.५ मिटरका छन् । १०.५ मिटरका बसमा ४४ सिट क्षमता छ भने ८.५ मिटरका बसमा ३२ सिट छन् । माग बढ्दै गएपछि थप २५ वटा बस यही महिनामा नेपाल आउँदैछन् । जसमा १०.५ मिटरका १४ वटा र ८ मिटरका ११ वटा बस आउनेछन् ।

बुटवल र विराटनगरमा ५/५ वटा बस सञ्चालनमा आउने
सुन्दर यातायातले हाल काठमाडौं उपत्यकामा सञ्चालन गरेको विद्युतीय बस बुटवल र विराटनगरमा पनि सञ्चालन गर्ने भएको छ । नयाँ गाडी आउने बित्तिकै ५ वटा विराटनगर र ५ वटा बुटवलमा विद्युतीय बस सञ्चालन गर्नका लागि यातायात कार्यालयमा सम्झौताका लागि प्रस्ताव पठाइएको थापाले बताए । चीनबाट असोज महिनाभित्र २५ वटा बस आउँछन् । त्यसपछि बुटवल र विराटनगर सुन्दर यातायातको १० वटा बस सञ्चालनमा आउनेछ । बाँकी १९ वटा गाडौ काठमाडौं उपत्यकाका विभिन्न स्थान र धुलिखेलसम्म पुग्नेछन् ।

झुक्किदै यात्रु
सुन्दर यातायातले सञ्चालनमा ल्याएका बस हेर्दै चढुँ–चढुँ लाग्छन् । त्यसैले एकपटक प्रयोग गरिसकेकाले यही गाडी कुर्छन् । तर, यति राम्रो गाडीमा चढ्दा बढी भाडा तिर्नुपर्ने हो कि भन्ने भ्रमले यात्रुहरु चढ्नलाई हिचकिचाउने गरेको थापा बताउँछन् । ‘हाम्रा गाडी अन्तर्राष्ट्रिय स्तरका छन्, हेर्दा पनि उस्तै स्ट्यान्डर्ड देखिन्छन्,’ उनले भने, ‘त्यसैले यस्तो गाडीमा चढ्दा बढी भाडा तिर्नुपर्छ होला भन्ने डरले यात्रुहरु हच्किने गरेको पाइएको छ ।’ कोभिड–१९ को महामारीका कारण ठप्प रहेको सार्वजनिक यातायात खुला भएसँगै सरकारले भाडामा ५० प्रतिशत बढाएको छ । तर, सुन्दर यातायातले भने पुरानै भाडादरमा सेवा दिइरहेको छ ।

कालो नम्बर प्लेट लिँदाको सकस
विद्युतीय गाडी नेपालमा आइसकेपछि यातायात व्यवस्था विभागसँग कालो नम्बर प्लेट लिन निकै गाह्रो परेको अध्यक्ष थापा बताउँछन् । ‘नेपालमा विद्युतीय गाडी चलोस् भन्नेमा कर्मचारीतन्त्र र नेताहरु सकारात्मक नहुँदा निकैै गाह्रो प¥यो’ उनी भन्छन्, ‘हामीलाई कालो नम्बर प्लेट दिनका लागि तीन महिनासम्म झुलाइयो ।’ तर नम्बर प्लेटको विषयमा भने प्रधानमन्त्री र मुख्यसचिवले ठूलो भूमिका निर्वाह गरिदिएको थापाले बताए ।

महंगो चार्जिङ शुल्क
विद्युत महसुल निर्धारण आयोगले विद्युतीय सवारी साधन चार्ज गर्नका लागि प्रति युनिट ४ रुपैयाँ ६० पैसा लिने भन्ने निर्णय गरेको छ । तर विद्युत प्राधिकरणले अहिलेसम्म ८ रुपैयाँ ८० पैसा लिँदै आएको थापा बताउँछन् । यसमा सरकारले गरेको निर्णयलाई विद्युत प्राधिकरणले नटेरेको उनको आरोप छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...