स्कोडाको नयाँ एसयूभी कुशाक पर्सि अर्थात मार्च १८ का दिन भारतमा ग्लोबल डेब्यु गरिदै छ ।
कम्पनीले कुशाकको इन्टेरियर स्केच जारी गरेको छ । कम्पनीको सो कार फक्सवागन समूहको भारतमा २।० प्रोजेक्टको रुपमा लन्च हुने पहिलो कार हुनेछ । कम्पनीले पहिला नै कारको बाहिरी डिजाइनको स्केच सार्वजनिक गरिसकेको छ ।
नेपालमा समेत यो गाडीको निकै नै प्रतीक्षा गरिएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले नेपालमा आगामी साउन महिना सम्ममा यो गाडी आइपुग्ने बताएको छ । विभिन्न स्थानमा डिलर स्थापना र जनशक्ति तयार गर्ने कार्य समेत एमएडब्ल्युले गरिरहेको छ ।
स्कोडा कुशाकमा विभिन्न विशेषताहरु हुने र यसले बजारमा उपलब्ध अन्य एसयूभीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । यसमा भएका १० विशेषता यस प्रकार छन् ः
१. फक्सवागन ग्रुपको इन्डिया २.० अन्तर्गत पहिलो कार
सन् २०१८ मा विशेष गरी भारतीय बजारलाई लक्ष्यित गरी फक्सवागन ग्रुपले विभिन्न मोडल विकासका लागि रणनीतिको घोषणा गरेको थियो । सो रणनीतिलाई इन्डिया २.० भनिएको थियो । यस अन्तर्गत पहिलो कारको रुपमा स्कोडा कुशाक बजारमा उपलब्ध हुने भएको छ ।
२. नाम
सो मिड–साइज एसयूभीको नाम संस्कृत शब्द ‘कुशाक’ बाट लिइएको हो, जसको अर्थ राजा अथवा शासक हुन्छ । तर पनि स्कोडाले धेरै एसयूभीहरुको नाम शुरुमा के र अन्त्यमा क्यु अल्फाबेट आउने शब्दबाट राखेको पाइन्छ । जस्तो कि कोडियाक, कारोक, कामिक इतयादि । स्कोडा ब्रान्डका लागि यी शब्द सफल पनि बनेका छन् । यसकारण कुशाकको नाममा पनि अन्त्यमा क्यु राखिएको बताइन्छ ।
३. डिजाइन
कुशाकको डिजाइनको वारेमा सार्वजनिक जानकारी उपलब्ध छैन । यद्यपि गत वर्षको अटो एक्सपोमा सार्वजनिक गरिएको कन्सेप्टका आधारमा केही अनुमान लगाउन सकिन्छ । कुशाकमा टु पिस एलईडी हेडल्याम्प डिजाइन हुने र यसलाई एलईडी डीआरएलका साथ इन्टिग्रेड गरिएको हुने अनुमान गरिएको छ ।
फ्रन्टमा स्कोडाको सिग्नेचर बटरफ्लाई ग्रिल हुनेछ भने रियरको टेलगेटमा स्कोडा लेटर हुनेछ । यसैगरी फङ्सनल रुफरेलका साथै १७ इन्चको डायमन्ड कट अलोय ह्विल पनि हुने अनुमान गरिएको छ ।
४. प्लेटफर्म
फक्सवागन ग्रुपले स्थानीय रुपमा तयार गरेको एमक्युबी एओ इन प्लेटफर्ममा स्कोडा कुशाक आधारित हुनेछ र भारतमा यो प्लेटफर्ममा बनेको पहिलो कार समेत हुनेछ । यो प्लेटफर्म आगामी दिनमा फक्सवागन र स्कोडका अन्य कारहरुमा समेत प्रयोग गरिने छ ।
५. पेट्रोल इन्जिन मात्र
कुशाको इन्ट्री लेवल भेरिएन्टमा १.० लिटर थ्री सिलिन्डर टीएसआई टर्बो पेट्रोल इन्जिन हुनेछ, जसले ११० पीएस पावर र १७५ एनएम टर्क जेनेरेट गर्नेछ । माथिल्लो ट्रिममा भने १.५ लिटर फोर सिलिन्डर टीएसआई टर्बो पेट्रोल इन्जिन हुनेछ, जसले १५० पीएस पावर र २५० एनएम टर्क जेनेरेट गर्नेछ ।
६. ट्रान्समिसन
स्कोडाको १.० लिटर टीएसआई मोटरमा ६–स्पिड म्यानुअलका साथै टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन हुने स्कोडाले पहिले नै निश्चित गरिसकेको छ । त्यसैगरी १.५ लिटर फोर सिलिन्डर टीएसआई इन्जिनमा ७–स्पिड डीएसजी हुनेछ । यसमा ६–स्पिड म्यानुअल ट्रान्समिसन पनि हुन सक्ने छ ।
७. फिचर
स्कोडा कुशाकमा विभिन्न फिचर उपलब्ध हुनेछन् । ती मध्ये एप्पल कारप्ले र एन्ड्रोइड अटोसहितको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम हुनेछ । त्यसैगरी कनेक्टेड कार टेक्नोलोजी, माथिल्लो भेरिएन्टमा १०.२५ इन्चको भर्चुअल इन्स्ट्रयुमेन्ट क्लस्टर, इलेक्ट्रिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल र यस्तै विभिन्नि फिचर उपलब्ध हुने छन् ।
८. सुरक्षात्मक प्रविधि
सुरक्षाका लागि स्कोडा कुशाकमा ६ एयरब्याग, ईबीडी सहितको एबीएस, आइसोफिक्स चाइल्ड सिट एंकर, रियरभ्यु क्यामेरा, हिल स्टार्ट असिस्ट कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र अन्य धेरै फिचर हुने छन् । स्ट्यान्डर्डको रुपमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल अर्थात ईएससी हुने स्कोडाले पहिले नै निश्चित गरिसकेको छ ।
९. लन्चिङ
मार्च १८ मा सार्वजनिक गरिए पश्चात जुन महिनामै यो कार लन्च हुने अनुमान गरिएको छ ।
१०. प्रतिस्पर्धा
स्कोडा कुशाकको प्रतिस्पर्धा हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स र रेनो डस्टरसँग हुनेछ । त्यसैगरी ठूला एसयूभी टाटा एच५ र एमजी हेक्टरको तल्लो भेरिएन्टसँग पनि यसको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।