सेडानका लागी चुनौती बनेको ह्याचब्याक संकटमा, अब लोकप्रिय बन्दै माइक्रो एसयूभी

कुनै समय नेपाली सडकमा सेडान कारको उपस्थिति निकै नै बाक्लो देखिन्थ्यो । उक्त समय हाल चर्चामा रहेका ह्याचब्याक र एसयूभीको उत्पादनमा कम्पनीहरुले खासै चासो दिएका थिएनन् । अझ भनौ ह्याचब्याकको त उत्पादन नै सुरु भैसकेको थिएन । एसयूभीमा पनि टोयोटा र केही युरोपियन ब्रान्डका ठूला गाडीमात्र उपलब्ध थिए । बजारमा सेडानको बेग्लै सान थियो ।

लामो आकार, सिल्की डिजाइन र कम हाइट तथा आरामदायी फिचर्स सेडान कारका प्रमुख विशेषता हुन् । क्याबिनभित्र पर्याप्त स्पेस र कम ग्राउन्ड क्लियरेन्सका कारण यस्ता कारमा यात्रा गर्दा आरामपन महसुस हुने कारण पनि सेडानप्रेमीमाझ यस्ता कारको आकर्षण यथावतै छ । विश्वका अधिकांश विकसित राष्ट्रका शहरी क्षेत्रमा अझैपनि सेडानको उपस्थिति बाक्लो छ । तर नेपालको सन्दर्भमा भन्नुपर्दा यहाँको बाटोघाटो र भौगोलिक बनावट सेडानमैत्री नहुँदा र मूल्य समेत महंगो हुँदै गएका कारण यस्ता कारको माग नै हुन छाडेको छ ।

ह्याचब्याक र कम्प्याक्ट एसयूभीको लोकप्रियताका कारण संकटमा
नेपाली बजारमा ह्याचब्याक कार भित्रिनु अघिसम्म सेडान कारको बजार निकै ठूलो थियो । पछि कोरियन अटो निर्माता हुन्डाई र कियाको साथै भारतीय अटो ब्रान्ड मारुती सुजुकीले ह्याचब्याक उत्पादन गर्न थालेपछि सेडानको बजार बिस्तारै ओरालो लाग्न थालेको हो ।

तत्कालीन समयमा हुन्डाई स्यान्ट्रो, किया पिकान्टो र मारुती अल्टो लगायत ह्याचब्याकले सेडानको बजारमा प्रभाव पार्न थालिसकेका थिए । पछि हुन्डाइकै आई–१० र आई–२०, मारुतीसुजुकी स्विफ्ट र डिजायर, फक्सवागन पोलो, स्कोडा फाबिया, फियाटको पुन्टो र टाटा इन्डिका, जेस्ट र बोल्ट लगायत ह्याचब्याक र कम्प्याक्ट एसयूभीको बढ्दो लोकप्रियताका कारण सेडानको बजार लगभग खोसिएको अवस्था छ । नेपाल र भारतसहित दक्षिणपूर्वी एसियाली मुलुकमा यस्ता कारको माग बढ्दै जान थालेपछि उत्पादक कम्पनीले समेत सेडानको सट्टा ह्याचब्याक र कम्प्याक्ट एसयूभीमै बढी जोड दिन थालेका कारण पनि सेडानको बजार प्रभावित बनेको हो ।

सेडानको तुलनामा केही सानो भएपनि उपलब्ध फिचर्स र सुबिधा सेडान सरह नै राखेर उत्पादन हुन थालेपछि ह्याचब्याक र कम्प्याक्ट एसयूभीको लोकप्रियता झनै बढ्न थाल्यो । सेडानको तुलनामा मूल्य समेत सस्तो पर्ने कारण उपभोक्ताको रोजाइमा यस्ता कार पर्न थालेको सहजै अनुमान लगाउन सकिन्छ ।

माइक्रो एसयूभीका कारण संकटग्रस्ट बन्दै ह्याच्ब्याक
सेडान कारको विस्तारमा चुनौती बनेर उदाएको ह्याचब्याक पछिल्लो समय भने आफै संकटग्रस्त अवस्थामा पुगेको छ । ह्याचब्याकको गतिमा ब्रेक लगाउन अहिले विभिन्न कम्पनीहरुले माइक्रो एसयूभीको उत्पादनलाई तीव्र बनाएसँगै यो सेग्मेन्टको बजार चुनौतीपूर्ण बन्न थालेको हो । ह्याचब्याककै प्लेटफर्ममा उत्पादन गरिने यस्ता एसयूभीको मूल्य ह्याचब्याक भन्दा पनि सस्तो पर्ने कारण अहिले माइक्रो एसयूभीको माग बजारमा उच्च हुँदै गएको छ ।

महिन्द्राले पहिलोपटक भारतमा यस्तो एसयूभीलाई बजारमा उतारेर यो सेग्मेन्टमा इन्ट्री गरेपछि हाल मारुती सुजुकी, निसान र रेनोले यसमा बढी जोड दिइरहेका छन् । यो सेग्मेन्टमा पहिलोपटक इन्ट्री गरेपनि महिन्द्रा केयूभी १०० ले भने बजार लिन सकेन । त्यसैगरी मारुती सुजुकी इग्निस, वागेनआर र एसप्रेसो समेत एसयूभीकै आवरणमा उत्पादन भएपनि अपेक्षित बजार लिन सकेनन् ।

निसानले १ हजार सीसी क्षमताको म्याग्नाइटलाई बजारमा उतारेपछि भने यो सेग्मेन्टको कारोबारले गति लिन थालेको छ । निसानको पिछा गर्दै रेनोले समेत सोही सीसी क्षमतामा काइगर लन्च गरेपछि त झन अहिले हुन्डाई र टाटा लगायत ठूला अटो उत्पादकहरुको नजरमा समेत यो सेग्मेन्ट पर्न थालिसकेको छ । फलस्वरुप टाटाले पन्च र हुन्डाईले क्यास्परलाई बजारमा ल्याउने तयारी थालिसकेका छन् ।

सानो इन्जिन र ह्याचब्याककै प्लेटफर्ममा उत्पादन गरिने यस्ता एसयूभीको मूल्य औसत ह्याचब्याक भन्दा पनि सस्तो पर्न थालेपछि नेपालमा पछिल्लो समय यो सेग्मेन्टको लोकप्रियता ह्वात्तै बढेर गएको छ । नेपाल भित्रिएका म्याग्नाइट र काइगरलाई अहिले माग बमोजिम आपूर्ति गर्न नै हम्मेहम्मे परेको छ । बजारमा यो सेग्मेन्टमो प्रबेशसँगै अहिले ह्याचब्याकको मागमा गिरावट आउन थालेको स्वयं व्यवसायीहरुले नै स्विकार्न थालिसकेका छन् ।

एक व्यवसायीले नेपाल अटोसँग भने, ‘कम्प्याक्ट एसयूभीको बढ्दो लोकप्रियताका कारण ओरालो लाग्दै गएको ह्याचब्याकको बजारमा पछिल्लो समय भित्रिएको माइक्रो एसयूभी सेग्मेन्टले ठूलो संकट पैदा गराएको छ । यस्तै अवस्था रहिरहे सेडानको जस्तै भोलिका दिनमा ह्याचब्याकको बजार पनि त्यसैगरी प्रभावित नहोला भनेर भन्न सकिने अवस्था छैन ।’ सोही अवस्थालाई मध्यनजर गर्दै अहिले कतिपय भारतीय अटो निर्माताहरुले ह्याचब्याकको उत्पादन नै कम गर्न थालिसकेको उनको भनाइ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...