सडक सुरक्षामा बाल-उपेक्षा : अभिभावकीय लापरवाही र दायित्व

बालबालिकाको सुरक्षा र सही रेखदेख गर्नु अभिभावकत्वको सबैभन्दा ठूलो नैतिक, सामाजिक र कानुनी जिम्मेवारी हो। तर, दैनिक जीवनमा गरिने सवारी यात्रा (चाहे निजी होस् या सार्वजनिक) मा अभिभावकहरूको चरम लापरबाही र उपेक्षाका कारण हाम्रा बालबालिकाहरू ठूलो जोखिममा परिरहेका छन्।यो विडम्बनापूर्ण छ कि, प्राय: अभिभावक आफू सुरक्षाका उपायहरु (हेल्मेट, सिट बेल्ट, चस्मा, पञ्जा, ज्याकेट) अपनाउँछन् तर आफ्ना अबोध सन्तानलाई भने जोखिमपूर्ण अवस्थामा राख्छन्। सवारी दुर्घटनाको बढ्दो ग्राफसँगै, आफ्ना सन्तानलाई सुरक्षाको न्यूनतम मापदण्ड पूरा नगरी यात्रा गराउने यो प्रवृत्तिले बिगतमा धेरै दुर्घटना निम्त्याएको छ।कतै यही गम्भीर गल्ती हामीले पनि दोहोर्‍याइरहेका पो छौँ कि?

हामी यही बाल सुरक्षाप्रतिको लापरबाहीका जोखिम र समाधानका विषयमा जानकार बन्नेछौँ।

१.दुईपाङ्ग्रे सवारीमा देखिएको लापरबाही

    दुईपाङ्ग्रे सवारी (मोटरसाइकल/स्कुटर) मा बालबालिकालाई राखिने तरिकाले सिधा दुर्घटनाको जोखिम बढाउँछ।

  • धेरैजसो मोटरसाइकल चालकले साना बालबालिकालाई इन्धन ट्याङ्कीमाथि र स्कुटर चालकले 'एप्रन' वा 'फ्रन्ट प्यानल' मा राखेर यात्रा गराउँछन्। यो प्रवृत्ति अत्यन्त जोखिमपूर्ण छ। अचानक ब्रेक लाग्दा, खाल्डोमा पर्दा वा सामान्य ठक्कर हुँदा बच्चा उछिट्टिने, ठोक्किने वा गम्भीर चोट लाग्ने सम्भावना अधिक हुन्छ।
  • हेल्मेट, चश्मा प्रयोग नगरेका बालबालिकाको आँखामा तीब्र गतिमा आएको धुलो पर्छ। हावाको वेग र धुलोले श्वासप्रश्वासमा अवरोध पुर्‍याउनुका साथै चिसो लाग्ने र लामो समयमा आँखाको स्वास्थ्यमा गम्भीर असर पुग्न सक्छ।
  • बालबच्चालाई सवारीका नियम र जोखिमबारे ज्ञान हुँदैन । उनीहरूले उत्सुकता, चञ्चलता वा डरवश ह्याण्डिल समात्ने वा हल्लाउने प्रयास गर्दा गतिमा भएको सवारीको नियन्त्रण गुम्ने र ठूलो दुर्घटना हुने सम्भावना ह्वात्तै बढ्छ।

. चारपाङ्ग्रे सवारीमा सुरक्षा बेवास्ता

          कार, जीप वा भ्यानजस्ता चारपाङ्ग्रे सवारीमा समेत अभिभावकले सुरक्षाको न्यूनतम मापदण्ड पूरा गरेको पाइँदैन।

  • बालबालिकालाई अगाडिको सिटमा राख्ने, सिट बेल्ट नलगाइदिने र काखमा राखेर सवारी चलाउने गरिन्छ। 'एयर ब्याग' भएको गाडीमा अगाडि बस्दा दुर्घटनाको समयमा एयर ब्याग खुल्दा बालबालिकालाई थप गम्भीर चोट लाग्न सक्छ।
  • गाडीको ढोकामा रहेको महत्त्वपूर्ण 'चाइल्ड लक' सुविधाको प्रयोग नहुँदा गुडिरहेको गाडीबाट बच्चाले खेल्दै ढोका खोल्ने र बाहिर खस्ने प्रवल जोखिम रहन्छ।
  • अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निश्चित उमेर (करिब १२ वर्ष मुनिका) बालबालिकाका लागि छुट्टै 'चाइल्ड सिट' वा 'बूस्टर सिट' अनिवार्य हुन्छ, जसले दुर्घटनाको बेला उनीहरूलाई सिटमा बाँधेर सुरक्षा प्रदान गर्छ। नेपालमा यसको चेतना र प्रयोग सामान्य व्यवहारमा अझै परिणत हुन सकेको छैन।

.सार्वजनिक सवारीमा जोखिम

          सार्वजनिक सवारी साधनमा अभिभावकको निगरानी कमजोर हुँदा बालबालिकाले थप जोखिमपूर्ण गतिविधि गर्छन्

  • बालबालिका कहिलेकाहीँ बस चढ्न खोज्दा छतमा बस्ने वा झ्यालबाट माथि चढ्नेजस्ता जोखिमपूर्ण व्यवहार गर्छन्, जसबाट खसेर ठुलो दुर्घटना हुने खतरा रहन्छ।
  • सवारी चलिरहेका बेला बालबालिकाले प्रायः बाहिर हेर्न मन पराउँछन्। उनीहरूले हात हल्लाउने, टाउको झ्याल बाहिर निकाल्ने गर्दा विपरीत दिशाबाट आएको सवारी वा सडक छेउका संरचनामा ठोक्किने सम्भावना हुन्छ।
  • उकालो, घुम्ती वा स्टेसनमा सवारीको गति कम हुँदा बालबालिका उत्सुकता वा हतारमा गाडीको पछाडि दौड्ने वा पछाडिको ढोकामा झुण्डिने/चढ्ने गर्छन्। यस्ता व्यवहारले सन्तुलन गुमाएर सडकमा पछारिने र पछाडिबाट आउने अन्य सवारीले ठक्कर दिइ दुर्घटना हुने सम्भावना बढी हुन्छ।

          बालबालिका भविष्यका कर्णधार र राष्ट्रका धरोहर हुन्। उनीहरूको सुरक्षामा गरिएको बेवास्ता समग्र राष्ट्रको भविष्य माथिको जोखिम हो, साथै यो 'बाल अधिकारको हनन' पनि हो।बाल सुरक्षा सुनिश्चित गर्न हरेक अभिभावकले आफ्नो सुरक्षा र सुविधाभन्दा माथि उठेर बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ।

ट्राफिक प्रहरीको रूपमा, हामी निरन्तर नियमनको प्रयास गर्छौं, तर सडकमा बालबालिकाको असुरक्षित यात्रा तबसम्म जारी रहन्छ जबसम्म हरेक अभिभावकले 'मेरो बच्चा, मेरो जिम्मेवारी' भन्ने नैतिक दायित्व महसुस गर्दैनन्।

प्र.ब.ना.नि. बिष्णु थापा

प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, अँधेरी, सिन्धुपाल्चोक

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...