आगामी चैत १४ देखि १६ गते सम्म चितवनदेखि मुस्ताङको मुक्तिनाथ सम्म मोटर र्यालीको आयोजना हुँदैछ ।
आन्तरिक पर्यटन प्रर्वद्धन, मोटर स्पोर्ट्स विकास र सुरक्षित यात्राको सन्देश फैलाउने लक्ष्य बोकेर नेपाल अटोमोबाइल्स एसोसिएसन प्रदेश नम्बर ३ र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा ३ दिने मोटर र्याली गरिने भएको हो ।
मोटर र्यालीको संयोजकको रुपमा नेपाल अटोमोबाइल्स एसोसिएसन प्रदेश नम्बर ३ का अध्यक्ष राजनकुमार पिया क्रियाशील छन् । हाल सम्म र्यालीका लागि २० वटा कारले सहभागिता जनाउने पक्का भइसकेको र अन्तिम सम्म ३० वटा कारमा करिव १ सय ३० जनाको सहभागिता हुने अपेक्षा गरिएको पियाले बताए ।
र्यालीको तयारी र औचित्य वारेमा संयोजक पियासँग गरिएको कुराकानी :
कुन उद्देश्यका साथ चितवन–मुक्तिनाथ मोटर र्यालीको आयोजना गर्न लाग्नुभएको हो ?
कोभिड–१९ का कारण अटोमोबाइल व्यवसाय सुस्ताए पनि अब विस्तारै व्यवसायमैत्री वातावरण बन्दै छ । हामीले यो भन्दा पहिले विभिन्न अन्तर्राष्ट्रिय स्तरका र्यालीमा सहभागिता जनाइसकेका थियौ । ३ वर्ष पहिले हामी हिमालयन ड्राइभ ६ मोटर र्यालीमा सहभागी भएका थियौ । त्यो समयमा भुटान र भारतका सहभागीहरुलाई चितवनसम्म ल्याउन सफल भएका थियौ । चितवनबाटै सो र्यालीमा ५ जना साथीहरु सहभागी हुनुभएको थियो ।
पहिलो पटक सहभागी बन्दा उहाँहरु पनि निकै उत्साही बन्नुभएको थियो । यो अवस्थामा देशभित्र नै केही गरौ भन्ने हाम्रो चाहना थियो । त्यसैलाई मुर्तरुप दिनका लागि हाल चितवन–मुक्तिनाथ मोटर र्यालीको आयोजना हुन लागेको हो ।
र्यालीको प्रारम्भ र अन्त्य कसरी हुँदैछ ?
आगामी चैत १४ गते भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालबाट फ्ल्याग डाउन भए पश्चात विहान ७ बजे र्याली प्रारम्भ हुनेछ । पहिलो पटक भएकाले सो र्याली टाइम, डिस्टेन्स र स्पिड अर्थात टीडीएसको आधारमा हुने भए पनि हामीले यसका लागि सहभागीहरुलाई सामान्य धारणा बसाल्ने गरी कार्य गर्नेछौ । चितवन देखि मुक्तिनाथको बीचमा विभिन्न ६ स्थानमा चेक प्वाइन्ट हुने छन् । यी सबै व्यवस्थापनको वारेमा सहभागीहरुलाई एक दिन पहिले जानकारी प्रदान गरिने छ ।
बीचमा पोखरा पुगे पश्चात नेपाल पर्यटन बोर्डले स्वागत गर्नेछ । पर्वतको कुश्मामा लन्च पश्चात बेलुकी मुस्ताङको लेतेमा पुगेर त्यसदिनको र्याली समापन हुनेछ । १५ गते विहान लेतेको बगरमा जिमखाना प्रतियोगिता हुनेछ । सो प्रतियोगितामा पहिलो र दोस्रो हुने विजेतालाई भविष्यमा साउथ इस्ट एसियन जिमखाना प्रतियोगितामा सहभागिताका लागि पठाइने छ । दिउसो जोमसोममा जिल्ला प्रशासन कार्यालय र विभिन्न निकायबाट र्यालीलाई स्वागत गरिने छ । त्यसै दिन २ बजे र्याली मुक्तिनाथ पुग्ने छ । बेलुकी फेलोसिप प्रोग्राम गरेर र्याली समापन गरिने छ । अर्को दिन विहानको ब्रेकफास्ट पश्चात सहभागीहरु आफ्नै तरिकाले घुमफिरमा रमाउने छन् ।
र्यालीमा कति संख्यामा सहभागिता हुनेछ ? यसका लागि शुल्क कति लाग्ने व्यवस्था छ ?
हाल सम्म २० वटा कार सो र्यालीमा सहभागी हुने निश्चित भइसकेको छ । तर अन्तिम सम्म ३० वटा कार सहभागी हुने हाम्रो अनुमान छ । हामीले त्यसै अनुसारको तयारी गरेका छौ । यी गाडीमा करिव १ सय ३० जनाको सहभागिता हुने अपेक्षा छ ।
सहभागिताका लागि ३ हजार शुल्क तोकिएको छ । यसवापत सहभागीलाई ज्याकेट, टोपी र २ दिनका लागि बस्न तथा खानाको सम्पूर्ण व्यवस्था आयोजकले गर्नेछ । हामीले पहिलो पटक भएको हुँदा न्यूनतम शुल्कमा अधिकतम मनोरञ्जन प्रदान गर्ने योजना बनाएका छौ । यसका लागि हामीलाई धेरैको सहयोग समेत उपलब्ध हुने भएको छ ।
कुन कुन संस्थाहरुको सहयोग प्राप्त हुने भएको छ ?
हामीलाई आर्थिक रुपमा मुख्य रुपले भरतपुर महानगरपालिका र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सहयोग गर्ने भएको छ । त्यसैगरी उद्योग वाणिज्य संघ चितवन, जश्मिन पेन्ट्स, एनवाईईएफ चितवन च्याप्टर र चितवनमा अवस्थित प्युजो गाडीको डिलर ओजोन मोटर्स, टाटा मोटर्सको डिलर सफल मोटर्स र इसुजु गाडीको डिलर कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले समेत सहयोग गर्ने भएका छन् ।
बैंकिङ पार्टनरको रुपमा प्रभु बैंक र इन्स्योरेन्सको रुपमा एभरेष्ट इन्स्योरेन्स रहने छन् । त्यसैगरी बाटोमा आवश्यक मेकानिकल सपोर्टका लागि एड्भान्स्ड अटो केयर रहने छ । यो वाहेक उद्योग संघ चितवन, चितवन रोटरी क्लब र रोटरी क्लब अफ नारायणगढले समेत र्यालीमा सहभागी बनेर सहयोग गर्दैछ ।
र्यालीका लागि मुस्ताङ नै किन रोज्नुभयो ?
चितवन र मुस्ताङ दुवै पर्यटकीय क्षेत्र हुन् । धार्मिक रुपमा समेत लोकप्रिय मानिएका चितवनको देवघाट र मुस्ताङको मुक्तिनाथलाई जोड्न यो र्यालीले सहयोग गर्ने र यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने हामीले अपेक्षा गरेका छौ । यसले मोटर टुरिजमको प्रवद्र्धनमा सहयोग गर्नेछ ।
आगामी दिनका लागि थप केही योजना छ कि ?
हामीले यो र्याली सफल बनायौ भने अर्को वर्ष चितवनबाट रारा वा मनाङ सम्मको र्याली गर्नेछौ । यही तरिकाले प्रत्येक वर्ष विभिन्न स्थानमा र्यालीको आयोजना गर्ने र यसलाई व्यावसायिक रुपमा समेत अगाडि बढाउने छौ । यसले गर्दा पर्यटन प्रवद्र्धनमा अटोमोबाइल व्यवसायीहरुको समेत योगदान बढ्दै जानेछ ।