के ब्याट्री एज ए सर्भिस मोडल अन्तर्गत गाडी खरिद गर्नु फाइदाजनक छ?

इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनीहरुले अहिले ब्याट्री एज ए सर्भिस मोडललाई प्राथमिकताका साथ अघि बढाइरहेका छन्। यस मोडलमा ग्राहकले गाडी खरिद गर्दा ब्याट्रीको पूरा मूल्य तिर्नु पर्दैन, जसका कारण गाडीको सुरुवाती मूल्य उल्लेखनीय रूपमा कम हुन्छ । तर ब्याट्री प्रयोगका लागि छुट्टै मासिक वा प्रतिकिलोमिटर शुल्क तिर्नुपर्ने भएकाले लामो अवधिमा यसको लागत बढ्न सक्ने अनुमान गरिएको छ ।

यस मोडलमा गाडी र ब्याट्रीलाई छुट्टाछुट्टै सम्पत्तिको रूपमा लिइन्छ। यसमा गाडी खरिद गर्दा केवल सवारी साधनको मूल्य मात्र तिर्छन् भने ब्याट्रीको लागि अलग नियमित भुक्तानी गर्नुपर्छ।

यसले इलेक्ट्रिक गाडीको मूल्यमा ठुलो अन्तर देखिन्छ । उदाहरणका लागि, भारतमा टाटा पन्च ईभीको सुरुवाती मूल्य करिब ९ लाख ७ हजार भारुबाट घटेर करिब ६ लाख ५ हजार भारुमा झरेको छ। त्यस्तै, हुन्डाई क्रेटा इलेक्ट्रिकको मूल्य करिब १८ लाख भारुबाट घटेर झन्डै ११ लाख भारुमा सीमित भएको छ । मारुती सुजुकी ग्रान्ड भिटारा ईभीको मूल्य पनि करिब ८ लाख भारुसम्म झार्न सकिने अपेक्षा गरिएको छ।

यद्यपि प्रारम्भिक मूल्य कम हुनु नै सम्पूर्ण लाभ भने होइन। ब्याट्री एज ए सर्भिस मोडलमा ग्राहकले गाडी खरिद गरिसकेपछि ब्याट्री प्रयोगका लागि नियमित शुल्क तिर्नुपर्ने हुन्छ। केही योजनामा मासिक न्यूनतम उपयोगको सर्त पनि राखिएको हुन्छ, जसका कारण कम दूरीमा गाडी चलाउने ग्राहकले पनि निश्चित रकम तिर्न बाध्य हुन सक्छ। ५ देखि ८ वर्षसम्मको अवधिमा ब्याट्री शुल्क, कर, सम्भावित शुल्क वृद्धि र फाइनेन्सिङ चार्ज जोडिँदा कुल खर्च लाखौँ भारुसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

हाल उपलब्ध अधिकांश ब्याट्री एज ए सर्भिस मोडल योजनामा प्रतिकिलोमिटर शुल्क लिने व्यवस्था छ। विभिन्न कम्पनीअनुसार सो शुल्क प्रतिकिलोमिटर २.३ भारुदेखि ५ भारुसम्म हुन सक्छ। यदि ग्राहकले वर्षमा १५ हजार किलोमिटर यात्रा गर्छ र प्रतिकिलोमिटर ४ भारुका दरले शुल्क लाग्छ भने वार्षिक रूपमा करिब ६० हजार भारु ब्याट्री प्रयोग शुल्क तिर्नुपर्ने हुन्छ। यही हिसाबले ५ वर्षमा ब्याट्री शुल्क मात्रै करिब ३ लाख भारु पुग्न सक्छ।

कम दूरीमा गाडी चलाउने ग्राहकका लागि भने यो मोडल महँगो बन्न सक्छ । केही कम्पनीले न्यूनतम मासिक बिलिङको व्यवस्था गरेका छन्। उदाहरणका लागि, सिट्रोन ईसी३एक्समा मासिक न्यूनतम २ हजार किलोमिटरको बिलिङ लागू गरिएको छ। ग्राहकले त्योभन्दा कम दूरी यात्रा गरे पनि कम्तीमा ४ हजार ५२० भारु ब्याट्री शुल्क तिर्नुपर्ने हुन्छ। त्यस्तै, मारुती सुजुकी ई भिटारामा मासिक १ हजार ८०० किलोमिटरको न्यूनतम सीमा तोकिएको छ । महिनामा केवल ८०० देखि १ हजार किलोमिटर मात्र यात्रा गर्ने ग्राहकका लागि प्रतिकिलोमिटर खर्च बढी पर्ने हुन्छ ।

रिपोर्टका अनुसार ब्याट्री एज ए सर्भिस मोडलमा सवारी साधनको सुरुवाती मूल्य कम भए तापनि दीर्घकालीन रुपमा खर्च बढी देखिन सक्छ । एकातिर सवारी साधनको ऋणको मासिक किस्ता तिर्नुपर्छ भने अर्कोतर्फ ब्याट्रीको छुट्टै शुल्क पनि नियमित रूपमा भुक्तानी गर्नुपर्ने हुन्छ।

त्यसैले ब्याट्री एज ए सर्भिस मोडल अन्तर्गत गाडी खरिद गर्दा आफ्नो वार्षिक यात्रा, मासिक बजेट र कुल स्वामित्व लागतको विस्तृत मूल्याङ्कन गर्नु आवश्यक देखिन्छ। नेपालमा भने याे सर्भिस अहिले उपलब्ध छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...