सडकमा स्टन्ट होइन, सचेतना रोजौँ

आजको डिजिटल युगमा सामाजिक सञ्जालमा भाइरल हुने चाहना विशेषगरी युवापुस्तामा तीव्र रुपमा बढिरहेको छ । केही सेकेन्डको भिडियो, धेरै लाइक र भ्युज तथा कमेन्ट पाउने उद्देश्यले सडकमा मोटरसाइकल, स्कुटर वा अन्य सवारी साधन प्रयोग गरेर खतरनाक स्टन्ट गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यस्ता गतिविधि कतिपयलाई रमाइलो वा साहसिक लाग्न सक्छन्, तर वास्तविकतामा यसले ज्यानै जाने, गम्भीर घाइते हुने तथा अरू निर्दोष व्यक्तिको जीवनसमेत जोखिममा पार्ने खतरा बोकेको हुन्छ ।

       सडक मनोरञ्जन गर्ने स्थान होइन, जिम्मेवारीपूर्वक यात्रा गर्ने सार्वजनिक क्षेत्र हो । हेल्मेट नलगाई तीव्र गतिमा सवारी चलाउने, एक हातले बाइक चलाउँदै भिडियो बनाउने, सिटमा उभिएर यात्रा गर्ने, जथाभावी ओभरटेक गर्ने वा ट्राफिक नियम उल्लंघन गर्दै स्टन्ट प्रदर्शन गर्ने कार्यले क्षणिक चर्चा त दिलाउन सक्ला, तर त्यसको परिणाम कहिलेकाहीँ जीवनभरको पीडा बन्न सक्छ । धेरै दुर्घटनामा युवाहरूले ज्यान गुमाउनु वा अंगभंग हुनुको प्रमुख कारण लापरवाहीपूर्ण सवारी चलाउने बानी नै हो ।

       विशेषगरी किशोर तथा युवापुस्ताले बुझ्नुपर्ने कुरा के हो भने वास्तविक बहादुरी स्टन्टमा होइन, जिम्मेवार व्यवहारमा हुन्छ । परिवारको सपना, अभिभावकको आशा र आफ्नो भविष्यलाई केही क्षणको उत्तेजनाका लागि जोखिममा राख्नु बुद्धिमानी होइन । सामाजिक सञ्जालमा देखिने दृश्यहरुको अनुकरण गर्दा त्यसको सम्भावित परिणामबारे धेरैले सोच्दैनन् । तर दुर्घटना भएपछि पछुताउनुको कुनै अर्थ रहँदैन ।

       यस सन्दर्भमा सडक स्टन्ट संस्कृतिलाई पूर्ण रूपमा निरुत्साहित गर्न र युवाहरूको अमूल्य जीवन रक्षा गर्न निम्न सुरक्षा सावधानीहरू अपनाउन आवश्यक छ :

. सडकलाई मनोरञ्जनको थलो नबनाउने :-

       सडक सुरक्षित आवागमनका लागि हो, जोखिमपूर्ण प्रदर्शनका लागि होइनन् । गुडिरहेको सवारी साधनमा उभिनु, पाङ्ग्रा उचाल्नु, ह्यान्डिल छोडेर कुदाउनु आत्मघाती कदम हो । सडकमा जहिले पनि आफ्नो ध्यान सवारी नियन्त्रणमा मात्र केन्द्रित गर्नुपर्छ ।

. भाइरल हुने सस्तो मानसिकताबाट मुक्ति :-

सामाजिक सञ्जालका लाइक्स र भ्युज क्षणिक हुन्, तर यसले निम्त्याउने दुर्घटना र शारीरिक अपाङ्गता जीवनभरिको पीडा बन्न सक्छ । युवाहरूले भर्चुअल संसारको वाहवाही भन्दा वास्तविक जीवनको मूल्य बढी हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । अरूलाई प्रभावित पार्ने नाममा आफ्नो र अरूको जीवन जोखिममा राख्नु गलत कार्य हो ।

. सुरक्षा सामग्रीको अनिवार्य प्रयोग :-

       दुई पाङ्ग्रे सवारी चलाउँदा वा चढ्दा दुवैले गुणस्तरीय हेलमेट अनिवार्य लगाउनुपर्छ । साथै ज्याकेट, ग्लोब्स, नी-गार्ड तथा उपयुक्त जुत्ताको प्रयोगले दुर्घटनाको जोखिम कम गर्न मद्दत गर्छ ।

. ट्राफिक नियमको पूर्ण पालना र कानुनी कारबाहीको डर :-

       सडकमा जथाभावी स्टन्ट गर्नु सवारी तथा यातायात व्यवस्था ऐनविपरीतको दण्डनीय कसुर हो । यस्ता गतिविधिले सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बन वा खारेज हुनुका साथै भारी जरिवाना तथा अन्य कानुनी कारबाही समेत हुन्छ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा सूचनाका आधारमा डिजिटल गस्तीलाई प्रभावकारी बनाउँदै यस्ता जोखिमपूर्ण गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने अभियान सञ्चालन गरिरहेको छ । त्यसैले क्षणिक मनोरञ्जन वा लोकप्रियताका लागि कानुन उल्लंघन गर्ने कार्यबाट सबै सचेत रहन आवश्यक छ ।

. साथीभाइको दबाबलाई अस्वीकार गर्ने :-

       धेरैजसो युवाहरू साथीभाइको उक्साहट वा साहसी देखिने होडमा लागेर यस्ता स्टन्टहरू गर्न तम्सिन्छन् । यदि कुनै साथीले सडकमा असुरक्षित रूपमा सवारी चलाउँछ वा त्यसो गर्न दबाब दिन्छ भने, सजग भई त्यसलाई अस्वीकार गर्नुपर्छ र त्यस्ता साथीहरूलाई पनि बेलैमा सम्झाउनुपर्छ ।

६. अभिभावक र समाजको निगरानी :-

       अभिभावकहरूले आफ्ना सन्तानलाई महँगा र शक्तिशाली मोटरसाइकल किनिदिँदैमा आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु हुँदैन । उनीहरूले सवारीको प्रयोग कसरी गरिरहेका छन्, सामाजिक सञ्जालमा कस्ता सामग्री पोस्ट गरिरहेका छन् भन्ने कुरामा नियमित निगरानी राख्नुपर्छ । समाजले पनि यस्ता उच्छृङ्खल स्टन्ट गर्नेहरूलाई प्रशंसा होइन, निरुत्साहन गर्न आवश्यक छ ।

       क्षणिक मनोरञ्जन वा केही थान डिजिटल तालीका लागि आफ्नो र परिवारको भविष्य अन्धकारमा धकेल्नु बुद्दिमानी होइन । घरमा कसैले तपाईंको सुरक्षित आगमनको प्रतीक्षा गरिरहेको हुन्छ भन्ने कुरा सधै सम्झनुपर्छ । त्यसैले सडकमा स्टन्ट होइन, सुरक्षा प्रदर्शन गरौँ । सुरक्षित यात्रा नै सफल जीवनको आधार हो ।

ट्राफिक नियम जानौं पनि, मानौं पनि ।

  • विष्णु थापा

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन

सम्बन्धित समाचारहरू

बाढी र पहिरोका कारण यी राजमार्गहरूमा छ अवरोध

बाढी र पहिरोका कारण यी राजमार्गहरूमा छ अवरोध

काठमाडौँ–अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य...

अब नेपालमा पनि गुगल म्यापको स्ट्रिट भ्यु सेवा सुरु, विश्वको सबै स्थानबाट हेर्न सकिने

अब नेपालमा पनि गुगल म्यापको स्ट्रिट भ्यु सेवा सुरु, विश्वको सबै स्थानबाट हेर्न सकिने

काठमाडौं – गुगल म्याप्सले नेपालमा समेत गुगल स्ट्रिट भ्यु सेवा सुरु गरेको छ...

ट्राफिक नियम उल्लङ्घन गर्दा लाग्ने जरिवाना र सजाय कडा

ट्राफिक नियम उल्लङ्घन गर्दा लाग्ने जरिवाना र सजाय कडा

सडक दुर्घटनाका कारण हरेक महिना धेरै धनजनको क्षति, घाइते तथा मृत्यु हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...