साँचो मित्रताको कसी: नशामा रहेका साथीलाई स्टेयरिङ छुन नदिऔँ

सडकमा सवारी चलाउनु केवल व्यक्तिगत निर्णय होइन, सार्वजनिक जिम्मेवारी हो । विशेषगरी मदिरा सेवनपछि सवारी चलाउनु भनेको केवल आफ्नो ज्यान जोखिममा राख्नु मात्र होइन, अरूको जीवनमाथि पनि खेलवाड गर्नु हो । क्षणिक रमाइलो, अल्पकालीन आत्मविश्वास र “म त ठीक छु” भन्ने भ्रमले धेरै परिवारहरूलाई जीवनभरको पीडामा धकेलेका उदाहरणहरू हाम्रो वरिपरि प्रशस्तै छन् ।

   मदिराले निर्णय क्षमता, प्रतिक्रिया समय र सन्तुलनलाई गम्भीर रूपमा असर गर्छ । त्यसैले नशामा गरिएको सवारी सञ्चालन सधैँ अनियन्त्रित र जोखिमपूर्ण हुन्छ । यस्तो अवस्थामा दुर्घटना हुनु केवल सम्भावना होइन, लगभग निश्चित जोखिम हो ।

   साँचो जिम्मेवारी त्यतिबेला देखिन्छ, जब हामी आफैँ मात्र होइन, आफ्ना साथीहरूलाई पनि सुरक्षित राख्न प्रयास गर्छौँ । साथीभाइसँग बसेर रमाइलो गर्नु स्वाभाविक हो, तर रमाइलोपछि सबै सुरक्षित घर पुग्नु सुनिश्चित गर्नु नै साँचो मित्रता हो । मदिरा सेवन गरेको साथीलाई “तँ सक्छस्” भनेर साँचो थमाउनु होइन, “आज म तिमीलाई चलाउन दिन्न” भन्न सक्नु नै वास्तविक साहस हो ।

   यदि तपाईं वा तपाईंको समूह मदिरा सहितको जमघटमा हुनुहुन्छ भने सुरक्षित यात्राका लागि निम्न व्यवहारिक र जीवनरक्षक सावधानीहरू अपनाउनुहोस् :-

१. ड्राइभर पूर्वनिर्धारण गर्ने बानी बसालौँ

    कुनै पनि जमघट वा भोजभतेरमा जानुअघि नै समूहमा एकजना यस्तो व्यक्ति तय गरौँ, जसले त्यो रात मदिरा सेवन गर्ने छैन । जसले सवारी चलाउने जिम्मेवारी लिन्छ, उसले पूर्ण रूपमा संयमित रहने प्रतिबद्धता जनाउनुपर्छ ।

२. वैकल्पिक यातायात प्रयोग गरौँ

यदि सबैले मदिरा सेवन गर्ने योजना छ भने, निजी सवारी साधन घरमै छोड्नु बुद्धिमानी हुन्छ । ट्याक्सी, राइड सेयरिङ एपहरू वा सार्वजनिक यातायातको प्रयोग गर्नुहोस् । थोरै ट्याक्सी भाडा बचाउन खोज्दा अमूल्य जीवन नै गुम्न सक्छ ।

३. साथीलाई रोक्ने साहस गरौँ

यदि तपाईंको कुनै साथी वा परिचितले नशाको सुरमा सवारी चलाउन खोज्दैछ भने, उसलाई मायाले सम्झाउनुहोस् । यदि मानेन भने, बलपूर्वक साँचो खोस्ने वा लुकाउने आँट गर्नुहोस् । आवश्यक परे उसको घरमा खबर गर्ने वा अन्य विकल्प खोज्ने काममा संकोच नमान्नुहोस् ।

४. आफैँ उदाहरण बन्नुहोस्

सडक सुरक्षाको सुरुवात आफैँबाट हुन्छ । जब तपाईं आफैँ "म पिएर सवारी चलाउँदिन" भन्ने कुरामा अडिग रहनुहुन्छ, तपाईंका छोराछोरी, परिवार र साथीभाइले पनि त्यही सिक्छन् । तपाईँको एउटा सचेत कदमले समाजमा ठूलो सकारात्मक सन्देश प्रवाह गर्छ ।

५. सामूहिक जिम्मेवारीको संस्कृति बसालौँ

साथीहरूको समूहमा "सबै सुरक्षित घर पुगे कि पुगेनन्?" भन्ने चासो राख्ने बानी बसालौँ । घर पुगेपछि एक-अर्कालाई फोन वा मेसेज गर्ने संस्कारले हामीलाई थप जिम्मेवार बनाउँछ ।

६. पर्याप्त विश्राम र समयको ख्याल गरौँ

        मानव शरीरबाट मदिराको प्रभाव पूर्ण रूपमा हट्न समय लाग्छ । कडा कफी पिउनाले वा नुहाउनाले मात्र नशा उत्रिने भ्रममा नपरौँ । यदि मदिरा सेवन गरिएको छ भने, कम्तीमा अर्को दिन बिहानसम्म सवारी नचलाउनु नै सबैभन्दा सुरक्षित विकल्प हो ।

सुरक्षित सडक केवल नियमले होइन, हाम्रो सोच र व्यवहारले निर्माण हुन्छ । एक जिम्मेवार नागरिक र एक सचेत साथीले ठूलो दुर्घटना रोक्न सक्छ । “आज होइन, सुरक्षित भएर भोलि” भन्ने सोचले धेरै जीवन जोगाउन सक्छ ।

आजैदेखि संकल्प गरौँ - "म नशामा सवारी चलाउँदिन र मेरो साथीलाई पनि चलाउन दिन्न ।" हाम्रो यो सानो सतर्कताले कसैको सिउँदो पुछिनबाट बच्न सक्छ, कसैको काख रित्तिन पाउँदैन र कसैको बुढेसकालको लौरो सुरक्षित रहन सक्छ । असुरक्षित यात्राको अन्त्य सधैँ दुःखद हुन्छ, त्यसैले जिम्मेवार नागरिक बनौँ र सुरक्षित सडकको आधार तयार पारौँ ।

ट्राफिक नियम जानौं पनि, मानौं पनि ।

  • प्र.ब.ना.नि. बिष्णु थापा

जिल्ला ट्राफिक प्रहरी कार्यालय, भरतपुर, चितवन ।

सम्बन्धित समाचारहरू

के हो एन्ड्रोइड डिजिटल कार की ? स्मार्ट फोनबाट कसरी खुल्छ कार ? जान्नुहोस्

के हो एन्ड्रोइड डिजिटल कार की ? स्मार्ट फोनबाट कसरी खुल्छ कार ? जान्नुहोस्

एन्ड्रोइड डिजिटल कार की आजको डिजिटल कार प्रविधिको उत्कृष्ट उदाहरण हो ।  सो...

यी कारणले महिलाहरूका लागि बाइक भन्दा स्कुटर राम्रो विकल्प

यी कारणले महिलाहरूका लागि बाइक भन्दा स्कुटर राम्रो विकल्प

अधिकांश महिलाहरु स्कुटर चलाउन रुचाउँछन्। स्कुटर आजकल महिलाहरुका लागि...

के हो हेडअप डिस्प्ले ?

के हो हेडअप डिस्प्ले ?

कारमा हुने हेडअप डिस्प्ले फिचरले ड्राइभिङलाई आरामदायी मात्र होइन, अझ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...