बहुप्रतीक्षित नयाँ टाटा पन्च ईभी अब नेपालमा, यी हुन् फिचर

काठमाडौं । बहुप्रतिक्षित  नयाँ टाटा पन्च ईभी नेपालमा आइपुगेको छ । टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी नाइमा मोबिलिटी एक्स्पोका लागि नयाँ पन्च ईभी ल्याएको  हाे ।

टाटा पन्च नेपाली बजारका लागि नयाँ नाम होइन। सिप्रदीले यसअघि पनि पन्च ईभीको उल्लेखनीय बिक्री गरिसकेको छ। यसपटक भने कम्पनीले लामो दूरी यात्रा गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ठूलो ब्याट्री क्षमता, बढेको रेन्ज तथा थप प्रिमियम फिचरसहित फेसलिफ्ट संस्करण सार्वजनिक गरेको हो।

नयाँ पन्च ईभी ३० किलोवाट आवर र ४० किलोवाट आवरका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। अघिल्लो संस्करणमा २५ किलोवाट आवर र ३५ किलोवाट आवरको ब्याट्री उपलब्ध थियो। यसरी दुवै भेरिएन्टमा ५ किलोवाट आवरले ब्याट्री क्षमता वृद्धि गरिएको छ।

ब्याट्री क्षमता बढेसँगै ड्राइभिङ रेन्ज पनि बढेको कम्पनीको दाबी छ। ३० किलोवाट आवरको ब्याट्रीले एकपटक फुलचार्जमा ३७५ किलोमिटर तथा ४० किलोवाट आवरको ब्याट्रीले ४६८ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।

छिटो चार्ज, बढी सुविधा

नयाँ पन्च ईभीमा ६५ किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ। ६५ किलोवाटको डीसी फास्ट चार्जरबाट दुवै भेरिएन्टलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न करिब २६ मिनेट लाग्ने कम्पनीको दाबी छ। त्यस्तै, १५ मिनेटको डीसी फास्ट चार्जबाट ३० किलोवाट आवर भेरिएन्टमा करिब ११० किलोमिटर तथा ४० किलोवाट आवर भेरिएन्टमा १३५ किलोमिटरसम्म यात्रा गर्न पुग्ने ऊर्जा प्राप्त हुने बताइएको छ।

७.२ किलोवाटको एसी चार्जर प्रयोग गर्दा ३० किलोवाट आवर भेरिएन्टलाई १० प्रतिशतबाट १०० प्रतिशत चार्ज गर्न करिब साढे ४ घण्टा र ४० किलोवाट आवर भेरिएन्टलाई करिब ५.३ घण्टा लाग्ने कम्पनीको भनाइ छ।

पन्च ईभीमा जडान गरिएको इलेक्ट्रिक मोटरले १५४ एनएम टर्क र १२९ एचपी पावर उत्पादन गर्छ।

नयाँ डिजाइन र प्रिमियम इन्टेरियर

फेसलिफ्ट पन्च ईभीमा अगाडिको क्लोज्ड ग्रिल, नयाँ एलईडी लाइटिङ सिग्नेचर, पुनः डिजाइन गरिएको पछाडिको लाइट, आकर्षक बडी लाइन तथा टाटाका ठूला विद्युतीय एसयूभीबाट प्रेरित १६ इन्चको एरो अप्टिमाइज्ड अलोय ह्विल प्रयोग गरिएको छ। यसले गाडीलाई अझ आधुनिक र प्रिमियम स्वरूप दिएको छ।

इन्टेरियरमा अघिल्लो डिजाइनलाई निरन्तरता दिइए पनि नयाँ ट्रिम फिनिस, अपडेटेड डुअल–टोन कलर थिम तथा थप गुणस्तरीय सामग्री प्रयोग गरिएको छ। ड्यासबोर्डमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन र १०.२५ इन्चकै डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छ। यसले एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्छ। साथै, मोबाइल चार्जिङका लागि ६५ वाट क्षमताको यूएसबी टाइप–सी फास्ट चार्जिङ पोर्ट पनि दिइएको छ।

भेरिएन्टअनुसार वायरलेस फोन चार्जर, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइटिङ, कनेक्टेड कार प्रविधि तथा ३६० डिग्री क्यामेरा जस्ता सुविधा उपलब्ध छन्।

१२ प्रकारका ड्राइभिङ सेटअप

नयाँ पन्च ईभीमा मल्टिमोड रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर तथा तीनवटा ड्राइभ मोडको संयोजन उपलब्ध छ। यी सुविधाको संयोजनबाट चालकले १२ प्रकारका ड्राइभिङ सेटअप प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। यसले दैनिक सहरी यात्रादेखि लामो दूरीको यात्रासम्मलाई सहज बनाउने अपेक्षा गरिएको छ।

सुरक्षाका दृष्टिले नयाँ पन्च ईभीलाई विशेष प्राथमिकता दिइएको कम्पनीको दाबी छ। ५ स्टार सुरक्षा रेटिङ प्राप्त प्लेटफर्ममा आधारित यस एसयूभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), एबीएस, ईबीडी, हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस), आईएसओफिक्स चाइल्ड सिट माउन्ट तथा हाइ बिम असिस्टलगायतका आधुनिक सुरक्षा प्रणाली समावेश छन्।

सबै सडकका लागि उपयुक्त

१९५ एमएम ग्राउन्ड क्लियरेन्स भएका कारण नयाँ पन्च ईभी काठमाडौंका साँघुरा सडकदेखि ग्रामीण तथा उबडखाबड सडकसम्म सहज रूपमा सञ्चालन गर्न सकिने कम्पनीको विश्वास छ।

ठूलो ब्याट्री क्षमता, लामो ड्राइभिङ रेन्ज, आधुनिक प्रविधि, प्रिमियम इन्टेरियर, आकर्षक एसयूभी डिजाइन तथा प्रभावकारी ब्याट्री व्यवस्थापन प्रणालीका कारण नयाँ टाटा पन्च ईभी नेपाली ग्राहकका लागि अझ आकर्षक विकल्प बन्ने कम्पनीको अपेक्षा छ। कम्पनीका अनुसार यसले ऊर्जा दक्षता र किफायती सञ्चालन खर्चसँगै विश्वसनीय विद्युतीय यात्रा अनुभव प्रदान गर्नेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...