स्मार्ट प्रविधि, असावधान बानी : मोबाइलमा ध्यान, सडकमा दुर्घटना

स्मार्टफोन आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ । सञ्चार, शिक्षा, बैंकिङ, व्यवसायदेखि मनोरञ्जनसम्म यसको प्रयोग दैनिक आवश्यकताका रूपमा स्थापित भइसकेको छ । तर, यही उपयोगी प्रविधिप्रतिको असावधानीपूर्ण प्रयोग सडक सुरक्षाका लागि गम्भीर चुनौती बन्दै गएको छ । आज सडकमा पैदल हिँड्दा, सडक पार गर्दा वा सवारी चलाउँदा मोबाइलको स्क्रिनमा ध्यान केन्द्रित गर्ने प्रवृत्ति तीव्र रूपमा बढिरहेको छ ।

       सामाजिक सञ्जाल हेर्ने, सन्देश पढ्ने, फोनमा कुरा गर्ने वा हेडफोन लगाएर बाटो हिँड्ने बानीले सडक दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढाएको छ । यस्तो अवस्थालाई अन्तर्राष्ट्रिय रूपमा "स्मार्टफोन जोम्बी" अर्थात् मोबाइलको स्क्रिनमा यति धेरै तल्लीन हुने व्यक्ति, जसले वरिपरिको सडक अवस्था, ट्राफिक संकेत र सम्भावित जोखिमप्रति बेखबर हुन्छ, भन्ने गरिन्छ । नेपालका सहरी क्षेत्रहरूमा पनि यस्तो प्रवृत्ति बढ्दै गएको देखिन्छ, जुन सडक सुरक्षाका दृष्टिले गम्भीर चिन्ताको विषय बनेको छ ।

       विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार प्रत्येक वर्ष विश्वभर करिब १२ लाखभन्दा बढी मानिसले सडक दुर्घटनामा ज्यान गुमाउँछन् भने करोडौँ घाइते वा अपाङ्ग हुन्छन् । नेपालमा पनि प्रत्येक वर्ष हजारौँ सडक दुर्घटनामा धेरै नागरिकले ज्यान गुमाउने, गम्भीर घाइते हुने वा जीवनभरका लागि अपाङ्ग हुने गरेका छन् । यस्ता दुर्घटनाका प्रमुख कारणमध्ये चालक तथा पैदलयात्रीको ध्यान विचलन (Distracted Driving तथा Distracted Walking) पनि एक महत्वपूर्ण कारण हो ।

       मोबाइलमा व्यस्त हुँदा व्यक्तिको प्रतिक्रिया समय ढिलो हुन्छ । आउँदै गरेको सवारी साधनको गति र दूरी सही रूपमा अनुमान गर्न सकिँदैन, हर्न वा ट्राफिक संकेत समयमै थाहा हुँदैन र आकस्मिक अवस्थामा तत्काल सही निर्णय लिन कठिन हुन्छ । केही सेकेन्डको असावधानीले जीवनभरको पीडा निम्त्याउन सक्छ ।

       नेपालको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले चालकलाई पूर्ण सावधानीका साथ सवारी सञ्चालन गर्नुपर्ने कानुनी दायित्व तोकेको छ । सवारी सञ्चालनका क्रममा मोबाइल प्रयोगका कारण ध्यान विचलित भई दुर्घटना भएमा सम्बन्धित चालक कानुनबमोजिम कारबाहीको भागीदार बन्न सक्छ । त्यसैगरी सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ ले पैदलयात्रीलाई जेब्रा क्रसिङ, आकासे पुल वा तोकिएको स्थानबाट मात्र सडक पार गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैले सडक प्रयोग गर्दा कानुनको पालना गर्नु प्रत्येक नागरिकको दायित्व हो ।

       कतै तपाईं पनि मोबाइल हेर्दै सडक पार गर्ने वा सवारी चलाउने बानीमा त हुनुहुन्न ? यदि छ भने, आजैदेखि त्यसलाई परिवर्तन गर्नुहोस् । सडक दुर्घटनाबाट जोगिन निम्न जीवनरक्षक सुरक्षा सावधानीहरू अनिवार्य रूपमा अपनाऔँ :-

१. सडक पार गर्दा मोबाइल फोनको प्रयोग नगर्नुहोस् ।

       मोबाइलको स्क्रिन होइन, सडकको अवस्थामाथि ध्यान केन्द्रित गर्नुहोस् ।

२. "रोकौँ - हेरौँ - पार गरौँ" को बानी बसालौँ ।

       दायाँ–बायाँ राम्ररी हेरेर, सवारीको गति र दूरी सुनिश्चित गरेर मात्र सडक पार गर्नुहोस् ।

३. सवारी चलाउँदा मोबाइल प्रयोग नगर्नुहोस् ।

       अत्यावश्यक फोन आए सुरक्षित स्थानमा सवारी रोकेपछि मात्र मोबाइल प्रयोग गर्नुहोस् ।

४. इयरफोनको ठूलो आवाजमा सडकमा नहिँड्नुहोस् ।

       हर्न, साइरन वा अन्य चेतावनी संकेत नसुन्दा दुर्घटनाको जोखिम बढ्छ ।

५. बालबालिका र ज्येष्ठ नागरिकलाई मोबाइलभन्दा सडकमा ध्यान दिन सिकाऔँ ।

       सडक पार गर्दा मोबाइलबाट टाढा रहन, ट्राफिक नियम पालना गर्न र सुरक्षित व्यवहार अपनाउन परिवारबाटै संस्कारको विकास गरौँ ।

       मोबाइल हाम्रो सुविधा र विकासका लागि बनेको हो, जीवन जोखिममा पार्नका लागि होइन । एउटा फोन कल केही मिनेटपछि उठाउन सकिन्छ, एउटा सन्देश केही समयपछि पनि पढ्न सकिन्छ, तर दुर्घटनामा गुमेको जीवन कहिल्यै फर्किँदैन । त्यसैले सडकमा हिँड्दा वा सवारी चलाउँदा एउटा सरल तर जीवनरक्षक बानी बसालौँ - "फोन खल्तीमा, ध्यान सडकमा ।" यही सानो सचेतनाले ठूलो दुर्घटना रोक्न सक्छ । सुरक्षित सडक संस्कारको विकास गरौँ, किनकि सडक सुरक्षा ट्राफिक प्रहरीको मात्र होइन, हामी सबैको साझा जिम्मेवारी हो ।

ट्राफिक नियम जानौं पनि, मानौं पनि ।

  • विष्णु थापा

प्रहरी बरिष्ठ नायव निरीक्षक

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...