अटोमोबाइल क्षेत्रको समग्र अवस्था र नाडा गतिविधि वारेमा अध्यक्ष दुलालसँग गरिएको कुराकानी

नेपालमा सवारी साधन र यससँग सम्बन्धित विभिन्न पार्ट्स तथा एसेसरिजहरुको कारोबार गर्ने व्यवसायीहरुको छाता संगठनको रुपमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल क्रियाशील छ । त्यसैले नेपालमा आयात हुने दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे लगायतका सवारी साधन र हेभी इक्विपमेन्टका साथै स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजहरुको कारोबार गर्ने अटोमोबाइल व्यवसायीहरु नाडामा आबद्ध छन् ।

हाल देशका सातै प्रदेशमा नाडाका संस्थागत सदस्य र करिव १ हजार साधारण सदस्य क्रियाशील छन् । दुलालको अध्यक्षतामा रहेको केन्द्रीय समितिका साथै १८ वटा उपसमिति समेत छन् ।

नाडा अध्यक्ष दुलालसँग नेपालमा अटोमोबाइल व्यवसाय र यससँग सम्बन्धित विभिन्न पक्षहरुको वारेमा गरिएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

हाल कोभिड–१९ को कारण देशभर निषेधाज्ञाको अवस्था छ । पछिल्लो समयमा केही संक्रमण घटेको र व्यवसायीहरुले पनि कारोबार खुल्ला गर्न माग गरिरहेको अवस्था छ । तपाईहरुले पनि केही दिन पहिले सुरक्षात्मक उपाय अपनाएर व्यवसाय खोल्न दिन सरकारसमक्ष अनुरोध गर्नुभएको थियो । के छ अब कसरी अगाडि बढ्ने योजना बनाउनु भएको छ ?
हो, हाल अटोमोबाइल क्षेत्रमा करिब २० लाख नेपाली प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका छन् । हुन त काम सुचारु हुने हो भने यो क्षेत्र तुरुन्तै पहिलेकै राम्रो अवस्थामा पुग्ने क्षेत्र हो । सरकारलाई सबैभन्दा धेरै राजस्व दिने क्षेत्र हो यो । अटोेमोबाइल क्षेत्रले नै अन्य क्षेत्रलाई एक स्थानबाट अर्को स्थानमा जोड्ने र पूर्वाधार निर्माणमा सघाउ पु¥याउने क्षेत्र हो । तर पनि हाल धेरै सवारी साधनहरु थन्किएर बसेको अवस्था छ ।

यस्तो ठूलो योगदान गरेको अटोमोबाइल क्षेत्रले हालको कठिन अवस्थालाई मध्यनजर गरी चुप लागेर बस्नु पर्ने अवस्था छ । यद्यपि अब सरकारले पनि विस्तारै सबै क्षेत्र खुला गर्दै जान्छ भन्ने हामीलाई लागेको छ । स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी सबैले आफ्नो क्षेत्रमा काम गर्नु पर्ने अवस्था आउने छ । यदि त्यसो भएन भने व्यवसायीहरुलाई समस्या पर्न सक्छ र सडकमै आउनु पर्ने अवस्था हुन सक्छ भन्ने हाम्रो भनाइ हो । तर अर्थतन्त्रलाई चलायमान बनाउनका लागि विस्तारै सबै क्षेत्र खुला गर्नुपर्ने आवश्यकता छ । सरकारले पनि यो कुरा बुझेको छ र त्यसै अनुसारको व्यवस्था गर्नेछ । हामीले पनि आफ्नो व्यवसायलाई खुला गर्दै जानेछौ ।

गत वर्ष पनि लकडाउन भएको थियो । यो वर्ष पनि चलिरहेको छ । लामो समय सम्म लम्बियो भने अटोमोबाइल क्षेत्रमा कस्तो असर पर्ला ?
गत वर्ष पनि असारदेखि विस्तारै खुकुलो भएको थियो । केही समय असर पुगे पनि पछि विस्तारै खुल्दै जादा यो क्षेत्रमा त्यस्तो धेरै असर पुगेको थिएन । यो वर्ष पनि अब खुल्यो भने धेरै समस्या नहोला । जसरी पनि व्यवसाय गर्नै पर्नेछ । बाँचेर मात्र भएन, बाँच्नका लागि पनि व्यवसाय गर्नै पर्ने अवस्था हुन्छ । संक्रमणको दर गत वर्ष भन्दा बढे पनि विस्तारै नियन्त्रणमा आउने आशा गर्न सकिन्छ । त्यसो भयो भने अटोमोबाइल क्षेत्रले पनि विस्तारै गति लिने आशा गर्न सकिन्छ । यही अनुसार सरकारलाई पनि सुझाव दिएका छौ । हामी पनि त्यसै अनुसार अगाडि बढ्छौ ।

केही दिन पहिले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भयो । यसमा विशेष गरी इलेक्ट्रिक गाडीको कर र भन्सार दर निकै नै घटेको अवस्था छ । अटोमोबाइलका लागि अन्य क्षेत्रमा खासै केही व्यवस्था गरेको पाइदैन । यद्यपि नाडाले बजेटलाई स्वागत गरेको थियो । खास के हो नाडाको धारणा ?
सरकारले गत वर्ष विद्युतीय सवारी साधनको कर एक्कासी धेरै बढाएको थियो र यो वर्ष पहिलेकै अवस्थामा ल्याएको छ । यसलाई हामीले स्वागतयोग्य भनेका छौ । यो सरकारले पनि गल्ती स्वीकारेको अवस्था हो । अटोमोबाइलको अन्य क्षेत्रमा पनि कुनै कर बढाइएको छैन ।

अटोमोबाइलका साथै अन्य सबै व्यवसायीका लागि १ करोड रुपैयाँ सम्मको कारोबार गर्नेलाई ५० देखि ९० प्रतिशत सम्म आयकर छुट दिने व्यवस्था गरेको छ । हुन त ठूला व्यवसायीका पनि आफ्नै समस्या छन् । तर पनि अधिकांश व्यवसायीहरु १ करोड भन्दा थोरैको कारोबार गर्छन् । कर चुक्ता प्रमाणपत्र स्वचालित रुपमा प्राप्त गर्न सकिने, ५० लाख सम्मको कारोबार गर्नेले भ्याटमा जानु नपर्ने लगायतका विभिन्न कारणले हामीले समग्रमा बजेटलाई स्वागत गरेका हौं ।

बजेटमा तपाईहरुको माग के के थियो र के के पुरा भए ?
हामीले भन्सार दर नै घटाउनु पर्छ भनेर जोड गरेका थिएनौ । एक्कासी धेरै भन्सार दर बढाउनु उपयुक्त होइन भन्ने हाम्रो माग हो । सरकारले आफ्नो नीति अनुसार भन्सार दर र अन्य करको व्यवस्था गर्छ । यस्ता विभिन्न प्रकारका करकै कारण नेपालीहरुले दोब्बर तेब्बर मूल्यमा सवारी साधन किन्नु पर्ने अवस्था छ । तर यो कर हामी व्यवसायीलाई लगाइएको होइन, उपभोक्तालाई लगाइएको हो । यो कुरा उपभोक्ताले नै बुझ्ने आवश्यक छ । यसको वारेमा उनीहरुलाई जानकारी भएर जनप्रतिनिधिलाई बुझाएर करको दरमा पुनर्विचार गर्न प्रेरित गर्नु पर्छ । तर सरकारको लागि पनि यो कर उठाउने माध्यम बनेको छ । सरकारले यसको अर्को विकल्प खोज्नु पर्ने हुन सक्छ । विस्तारै सडक र अन्य पूर्वाधार बन्दै जान सक्छ । नेपालमै सवारी साधन एसेम्बल हुने र विद्युतीय सवारी साधन आदिको प्रयोग पनि बढ्दै गयो भने यो सम्भव हुन सक्छ । तर पनि नेपालको अटोमोबाइल बजार सानो भएको कारणले यो कति सम्भव छ भन्ने अर्को पाटो हुन सक्छ । अहिलेको अवस्थामा कर घटाउने नभई बढाएन भने पनि खुसी हुनु पर्ने अवस्था छ । अर्को कुरा कुनै व्यक्तिले १० प्रतिशत मात्र डाउन पेमेन्टमा मात्र सवारी साधन खरिद गर्न सकिने व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग हो । आगामी दिनमा यसमा सुधार हुँदै जाने आशा गर्न सकिन्छ ।

सरकारको अन्य क्षेत्र जस्तै अटोमोबाइल क्षेत्रमा पनि अस्थिर नीति देखिएको छ । विद्युतीय सवारी साधनको कर गत वर्ष बढाएर यो वर्ष घटाइयो । फेरि अर्को वर्ष बढ्न सक्छ । यसका लागि तपाईहरुले सरकारलाई के सुझाव दिनुहुन्छ ?
हो, विभिन्न पूर्वाधारमा लगानी गरिसके पछि फेरि आउने नयाँ नीतिले व्यवसायलाई असर पार्छ । हुन त सरकारमा पनि विद्वान व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुले पनि यो कुरालाई बुझ्नु हुन्छ भन्ने लाग्छ । विभिन्न करका दर र अन्य संरचनाहरु करिव १० वर्ष एउटै हुनु आवश्यक छ । यसको लागि सरकारको पनि स्थायित्व आवश्यक छ । यसका लागि हामीले मात्र होइन, उद्योग वाणिज्य संघलगायतका विभिन्न संस्थाहरुले सरकारलाई धेरै सुझाव दिएका छन् । आशा गरौ, आगामी दिनमा यसले स्थायित्व पाउने छ ।

नेपाली बजारमा लगातार रुपमा नयाँ ब्रान्ड र मोडलका सवारी साधन भित्रिरहेका छन् । यो अवस्थामा सवारी साधनको गुणस्तर मापन गर्ने केही आधार छैन । उपभोक्ताहरु अलमल पर्ने अवस्था छ । यो अवस्थामा गुणस्तरीय सवारी साधन भित्र्याउनका लागि नाडाले के पहल गरेको छ ?
हो, सवारी साधनमा मात्र नभई टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स अदि सबैमा यो समस्या छ । हामीले गुणस्तर तथा नापतौल विभागसँग यसको वारेमा छलफल गरी यसका लागि अपनाउन सकिने आवश्यक प्रक्रियाको वारेमा पनि सुझाव दिएका छौ । वाणिज्य विभाग, अर्थ मन्त्रालय आदि सबै निकायसँग हाम्रो छलफल भएको छ । कुनै प्रतिष्ठित कम्पनी छ भने त्यसको आधिकारिक वितरकले मात्र नेपालमा ती सामान भित्र्याउन पाउने व्यवस्था गर्न र अन्य विभिन्न प्रक्रियाका लागि विभागसँग छलफल चलिरहेको अवस्था थियो । कोभिडको कारणले बीचमा रोकिएको छ । आगामी दिनमा हामी यो प्रक्रियालाई अगाडि बढाउने छौ । यद्यपि एक्जिम कोड, भन्सार आदिका कारण पनि यसमा विस्तारै केही सुधार हुने अपेक्षा गर्न सकिन्छ ।

सरकारले ल्याएको बजेटमार्फत आगामी २०८८ साल सम्ममा सबै गाडीलाई इलेक्ट्रिक गाडीमा रुपान्तरण गर्ने भनिएको छ । यो कत्तिको सम्भव मान्नुभएको छ ?
सरकारको यो एउटा प्रयास हो । हाल इलेक्ट्रिक गाडीमा विभिन्न छुट प्रदान गरिएको र धेरैले रहर पनि गरेको हुनाले यो स्वागतयोग्य छ । तर पनि यो अन्य सवारीका लागि नभई साना सवारी साधनका लागि मात्र हो । विस्तारै हुन सक्ला । विश्व नै यही क्षेत्रमा अगाडि बढिरहेको छ । तर कति प्रतिशत सम्म सफल हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । नेपालमा मात्र नभएर विश्वकै परिवेशमा यसलाई हेर्नु पर्छ । सरकारले गरेको प्रयासलाई सराहनीय मान्नु पर्छ ।

विदेशमा सस्तो दरमा उपलब्ध हुने सवारी साधन नेपालमा महंगो हुन्छ । धेरैले यसको वारेमा जानेको पाइदैन । नेपालमा भएको कर संरचना र नेपालमा गाडी भित्रयाउदा पर्ने महंगी वारेमा जानकारी गराइदिनुस् न ।
हो, यो कुराको वारेमा उपभोक्तालाई जानकारी हुनु आवश्यक छ । वास्तवमा कर तिर्ने उपभोक्ताले नै हो । हामी त एउटा माध्यम मात्र हौ । भन्सार तिरेर ल्याए पछि हामीले नाफा जोडेर बेच्ने हो । एउटा गाडी किन्दा करिब ३ सय प्रतिशत सम्म भन्सार तिर्नुपर्छ भन्ने कुरा उपभोक्तालाई थाहा हुनुपर्छ । यसले गर्दा नै ५० हजार पर्ने बाइकलाई अढाई लाखसम्म र अढाई तीन लाख पर्ने गाडीलाई ३० लाख, ३५ लाख, ४० लाख रुपैयाँ सम्म तिर्नु पर्ने अवस्था छ । यो कुरा जनप्रतिनिधिहरुलाई बुझाएर अन्य उपाय अपनाएर घटाउनका लागि पहल गर्नुप¥यो । सरकारसँग उद्योग धन्दा नभएको, आयस्रोतका अन्य उपाय नभएका कारणले सरकारले अटोमोबाइललाई नै आयस्रोतको आधार देखेको छ । सरकारले उठाउने १० खर्ब कर मध्ये आयकर वाहेक भन्सार र अन्य कर मात्र जोड्दा अटोमोबाइलबाट मात्र झन्डै १ खर्ब राजस्व सरकारले उठाउने गरेको छ ।
उपभोक्ता जागरुक भएर कर संरचना र अन्य पक्षका वारेमा आवाज उठाउँदै जाने हो भने सरकारले पनि अन्य विकल्प खोज्न सक्छ । यसका लागि उपभोक्तालाई पनि जागरुक गराउनु आवश्यक छ । व्यवसायीले नाफा खाएर मूल्य बढी परेको भन्ने धेरै भ्रममा परेका छन् र यो भ्रमलाई चिर्नु आवश्यक छ ।

व्यवसायीहरुले सोरुम र कर्मचारी खर्च आदिका कारण धेरै नाफा खान्छन् भन्ने आरोप पनि छ नि ?
अहिलेको खुला बजार र प्रतिस्पर्धाको अवस्थामा यो सम्भव छैन । प्रतिस्पर्धाको अवस्थामा धेरै नाफा खाने भन्ने हुँदैन । सरकारको नीति नियमलाई आधार मानी नियम कानुन अनुसार अगाडि बढ्नु पर्छ । लगानी अनुसार प्रतिशतमा हिसाब गर्दा यो धेरै हुँदैन ।

नेपालमै सवारी साधन एसेम्बल गर्ने कुरा बारम्बार उठ्छ । तर यो सहज भएको पाइदैन । यसमा के छ खास समस्या ? सरकार र व्यवसायीले के गरेमा यो सम्भव हुन्छ ?
यसमा हामीले कुरा उठाइरहेका छौ । स्पेयर पार्ट्सका लागि भन्सार छुट र अन्य व्यवस्था सहज भएन भने बाहिरबाट आयात गर्दा र नेपालमै एसेम्बल गर्दा धेरै फरक पर्दैन । हामीले ५० प्रतिशत छुटको माग गरिरहेका छौ । तर पछि फेरि यसलाई २५ प्रतिशत गरियो भने समस्या हुन्छ । मोटरसाइकलको सन्दर्भमा त्यस्तै भयो । उद्योग खुलिसके पछि ५० प्रतिशतलाई घटाएर २५ प्रतिशत बनाइयो । सरकारको अस्थिर नीतिले यसमा असर पुग्छ । व्यवसायका लागि अन्य छुटको पनि व्यवस्था हुनु आवश्यक छ । यो सबै भयो भने मात्र आगामी दिनमा नेपालमै अन्य सवारीका साथै विद्युतीय सवारी साधन समेत एसेम्बल गर्न सहज हुन्छ भन्ने हाम्रो मान्यता हो । यसका लागि सरकारले दिने छुटलाई थप व्यवस्थित गर्नु आवश्यक छ । यद्यपि यहाँको बजार र अन्य पक्ष हेरेर व्यवसायीले लगानी गर्ने वा नगर्ने भन्ने हुन्छ । तर पनि सरकारले चाह्यो भने यसका लागि आवश्यक व्यवस्था गर्न सक्छ ।

सवारी साधनसँग सडक सुरक्षा पनि जोडिन्छ । सवारी साधनबाट हुने दुर्घटनाबाट प्रशस्तै जनधनको क्षति समेत भएको पाइन्छ । यो अवस्थामा सडक सुरक्षा सम्बन्धी जानकारीमूलक अभियान संचालनका लागि नाडाले के व्यवस्था गरेको छ ?
नाडाले सडक सुरक्षालाई पनि आफ्नो अभिन्न अंग मानेको छ । हामीले विभिन्न सञ्चार माध्यम, ब्यानर, पम्पलेट आदिको माध्यमबाट जनचेतना जगाउने कार्य गरेका छौ । हामीले ट्राफिक प्रहरीसँग समन्वय गरी विभिन्न कार्य गरिरहेका छौ । चाडपर्वको समयमा विभिन्न स्थानमा हेल्प डेस्क राख्ने, ट्राफिकलाई विभिन्न क्षेत्रमा सहयोग गर्ने, सम्मान गर्ने कार्य गरिरहेका छौ । हामीले मात्र गरेर हुँदैन, अन्य क्षेत्रले गर्न सक्ने कार्यको वारेमा सुझाव समेत दिने गरेका छौ । विद्यालय स्तरमा पाठ्यपुस्तकमै यसको वारेमा शिक्षा दिनुपर्छ भनेका छौ । हाम्रो साधन र स्रोतले भ्याए सम्म सडक सुरक्षाको कार्य गरिरहेका छौ र यो हाम्रो कर्तव्य समेत भएको अनुभव गरेका छौ । हामीले तालिम, पर्चा पम्पलेटको माध्यमबाट, ट्राफिकको माध्यमबाट र सरकारलाई सल्लाह सुझाव दिने आदि कार्य गरी सडक सुरक्षाको क्षेत्रमा कार्य गरिरहेका छौ ।

पछिल्लो अवस्थामा नाडाले गरेका मुख्य कार्यहरु के हुन् ?
म अध्यक्ष भइसके पछि पनि ‘नाडा अलि केन्द्रीय स्तरमा मात्र सीमित भयो, प्रदेश र जिल्लाहरुमा पुग्न सकेन र साना व्यवसायीको आवाज सुनेन’ भन्ने गुनासो थियो । हामीले यो अवधिमा प्रदेश स्तरमा नाडाका विभिन्न एसोसिएसन बनायौ । हरेक प्रदेशमा नाडाको समिति बनेको छ । विधान संशोधन गरेर सबैलाई कार्यसमितिमा आउने व्यवस्था ग¥यौ । सबै एसोसिएसनलाई व्यवस्थित गर्नका लागि तालिमलगायतका विभिन्न व्यवस्था गरेका छौ । अब नाडालाई सबै व्यवसायीको साझा एसोसिएसनको रुपमा अगाडि बढाएका छौ । यसैगरी व्यवसायीको हक हितका लागि सरकारी निकायसँग भेटघाटको व्यवस्था गरी सरकारी राजस्वमा समेत योगदान पु¥याउन सफल भएका छौ ।

हामीले ट्राफिक प्रहरीलाई मास्क र ज्याकेटलगायतका सामग्री यही कोभिडकै समयमा प्रदान गरेका छौ । सशस्त्र प्रहरीलाई पनि केही स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छौ । सानातिना कार्य त सामाजिक उत्तरदायित्व अन्तर्गत नाडाले गरेको कार्य हो । यो वाहेक व्यवसायीको हकहितको लागि कार्य गर्ने, नीतिगत क्षेत्रमा सरकारलाई सुझाव दिने र व्यवसायीले पाउनु पर्ने सुविधाका वारेमा सदस्यहरुलाई आवश्यक जानकारी दिएर त्यस्ता सुविधा लिनका लागि प्रोत्साहित गर्ने र समग्रमा देशको राजस्वमा योगदान पु¥याउने कार्यमा नाडा क्रियाशील छ ।

सम्बन्धित समाचारहरू

नाडाले भेट्यो गभर्नर, मौद्रिक नीतिमा अटोमोबाइल व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह

नाडाले भेट्यो गभर्नर, मौद्रिक नीतिमा अटोमोबाइल व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाका अध्यक्ष डा. धु्रव थापाको...

नाडा अटो शो अनिश्चित, अध्यक्ष भन्छन् – भदौ अन्तिम सम्म गर्ने प्रयास हुनेछ

नाडा अटो शो अनिश्चित, अध्यक्ष भन्छन् – भदौ अन्तिम सम्म गर्ने प्रयास हुनेछ

काठमाडौं – सवारी साधनको कुम्भ मेलाको रुपमा परिचित नाडा अटो शो यो वर्ष भदौ...

सवारी आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिकाबारे यातायात व्यवस्था विभागसँग  नाडाकाे छलफल

सवारी आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिकाबारे यातायात व्यवस्था विभागसँग नाडाकाे छलफल

काठमाडौं – सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धी निर्देशिकाका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...