हेल्मेट ट्राफिक प्रहरीका लागि होइन, तपाईंको जीवनका लागि हो

सडक किनारमा केही बेर उभिएर नियाल्ने हो भने सवारी चालकहरूमा देखिने अनावश्यक हतारो र तीव्र गति सहजै महसुस गर्न सकिन्छ । विशेषगरी मोटरसाइकल तथा स्कुटर चालकहरूमा यो प्रवृत्ति अझ बढी देखिन्छ । तर यही हतारले कतिपयलाई गन्तव्य होइन, अस्पताल वा शोकको घरसम्म पुर्‍याइरहेको हुन्छ । सडक सुरक्षाका लागि सबैभन्दा प्रभावकारी जीवनरक्षक साधनमध्ये एक मानिने हेल्मेटप्रति आज पनि धेरै चालकको दृष्टिकोण लापरवाह देखिन्छ ।

आजभोलि सडकमा हेल्मेटको प्रयोग सुरक्षाका लागि भन्दा पनि ट्राफिक प्रहरीको कारबाहीबाट बच्नका लागि गरिएको जस्तो देखिन्छ । कतिपयले हेल्मेटलाई निधारभन्दा माथि अड्याएर चलाउँछन्, कसैले फित्ता बाँध्दैनन्, त कसैले छोटो दूरी भन्दै हातमै बोकेर यात्रा गर्छन् । दुर्घटना हुँदा फित्ता नबाँधिएको हेल्मेट सबैभन्दा पहिले टाउकोबाट खुस्किन्छ र चालकको ज्यान थप जोखिममा पर्छ भन्ने तथ्यलाई धेरैले बेवास्ता गरिरहेका छन् । अझ "फित्ता बाँध्नुस, यो तपाईंको सुरक्षाका लागि हो" भनेर ट्राफिक प्रहरीले सम्झाउँदा त्यसलाई सकारात्मक रूपमा लिनुको सट्टा उल्टै आक्रोश व्यक्त गर्ने प्रवृत्ति पनि देखिन्छ । मोटरसाइकल किन्न ठूलो रकम खर्च गर्ने तर गुणस्तरीय हेल्मेटमा भने कञ्जुस्याइँ गर्ने सोच पनि हाम्रो समाजमा अझै हट्न सकेको छैन । याद राखौं, मोटरसाइकल पुनः किन्न सकिन्छ, तर दुर्घटनामा गुमेको जीवन कुनै मूल्यमा फर्काउन सकिँदैन ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा १३० (२) ले मोटरसाइकल चालक र पछाडि बस्ने यात्रुले समेत मापदण्डअनुसारको सुरक्षात्मक हेल्मेट अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था केवल जरिवाना गर्ने उद्देश्यले होइन, नागरिकको जीवन रक्षा गर्ने कानुनी दायित्वका रूपमा लागू गरिएको हो ।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार मापदण्डअनुसारको हेल्मेट सही तरिकाले प्रयोग गर्दा टाउकोमा हुने गम्भीर चोटको जोखिम करिब ७० प्रतिशत तथा मृत्युको जोखिम करिब ४० प्रतिशतसम्म कम गर्न सकिन्छ । अधिकांश मोटरसाइकल दुर्घटनामा टाउकोमा लाग्ने चोट नै मृत्यु वा स्थायी अशक्तताको प्रमुख कारण बन्ने गरेको छ । त्यसैले हेल्मेट केवल नियम पालना गर्ने वस्तु होइन, जीवन र मृत्युबीचको सुरक्षा कवच हो ।

हेल्मेट लगाउनु मात्र पर्याप्त हुँदैन; त्यसको सही प्रयोग झन् महत्वपूर्ण हुन्छ । हेल्मेट टाउकोमा राम्रोसँग मिलेको र यसको फित्ता अनिवार्य रूपमा बाँधिएको हुनुपर्छ । त्यसैगरी मापदण्डविपरीतका, कमजोर वा दुर्घटनामा एकपटक ठोक्किएका हेल्मेटले अपेक्षित सुरक्षा दिन सक्दैनन् । त्यसैले सधैँ प्रमाणित मापदण्डयुक्त, गुणस्तरीय र सही आकारको हेल्मेट मात्र प्रयोग गर्नुपर्छ ।

तपाई पनि यात्राका बखत सुरक्षित यात्राका लागि निम्न जीवनरक्षक सुरक्षा सावधानीहरू अपनाउनुहोस् -

१. हेल्मेट बिना कुनै पनि दूरीका लागि मोटरसाइकल वा स्कुटर नचलाउनुहोस् ।

२. चालकसँगै पछाडि बस्ने यात्रुले पनि अनिवार्य रूपमा हेल्मेट लगाउनुहोस् ।

३. यात्रा सुरु गर्नु अघि हेल्मेटको फित्ता राम्रोसँग बाँधिएको छ कि छैन, अवश्य जाँच गर्नुहोस् ।

४. निधारमाथि अड्याएर, फित्ता नबाँधी वा हातमा बोकेर यात्रा गर्ने गल्ती नगर्नुहोस् ।

५. प्रमाणित मापदण्डयुक्त गुणस्तरीय हेल्मेट प्रयोग गर्नुहोस्; सस्तोभन्दा सुरक्षित रोज्नुहोस् ।

६. दुर्घटनामा ठोक्किएको, बिग्रिएको वा धेरै पुरानो हेल्मेट समयमै बदल्नुहोस् ।

७. परिवारका सबै सदस्य, विशेषगरी बालबालिकालाई पनि सही तरिकाले हेल्मेट प्रयोग गर्ने बानी बसाल्नुहोस् ।

८. ट्राफिक प्रहरीको सुझावलाई कारबाहीको डर होइन, जीवन बचाउने चेतावनीका रूपमा ग्रहण गर्नुहोस् ।

       हामी प्रायः "मलाई केही हुँदैन" भन्ने सोचका साथ सडकमा निस्कन्छौँ । तर दुर्घटना बाजा बजाएर आउँदैन; एक क्षणको असावधानीले जीवनभरको पीडा दिन सक्छ । त्यसैले प्रत्येक यात्रामा हेल्मेटलाई आफ्नो पहिलो सुरक्षा साथी बनाऔँ ।

       ट्राफिक प्रहरीले हेल्मेट लगाउन आग्रह गर्नुको उद्देश्य तपाईंको अमूल्य जीवन जोगाउनु हो । याद राखौँ - हेल्मेट ट्राफिक प्रहरीका लागि होइन, तपाईंको जीवनका लागि हो । नियमको डरले होइन, जिम्मेवारीको बोधले गुणस्तरीय हेल्मेटको सही प्रयोग गरौँ । तपाईंको सुरक्षित घरफिर्ती नै तपाईंको परिवार र ट्राफिक प्रहरीका लागि सबैभन्दा ठूलो खुसी हो ।

ट्राफिक नियम जानौं पनि, मानौं पनि ।

  • विष्णु थापा

प्रहरी बरिष्ठ नायव निरीक्षक

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...