विद्युतीय सवारी सुरक्षा : ‘आज ईभीमा, भोलि टीभीमा’ को भाष्य कसरी तोड्ने ?

नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोग तीव्र गतिमा बढ्दो छ। पेट्रोल डिजेलको बढ्दो मूल्य, वायु प्रदूषण र इन्धन निर्भरता घटाउने राष्ट्रिय प्राथमिकताका कारण विद्युतीय सवारी तीव्र गतिमा आमजीवनमा प्रवेश गरिरहेका छन्। तर, यो सकारात्मक रूपान्तरणसँगै एउटा चिन्ताजनक प्रवृत्ति पनि देखा परेको छ -विद्युतीय सवारी दुर्घटनाको वृद्धि। हालै बढेका ईभी दुर्घटना र आगलागीका घटनाहरूले चालक-परिचालकहरूबीच "आज ईभीमा, भोलि टीभीमा" (दुर्घटनामा परेर टेलिभिजनमा समाचार बन्ने) जस्तो चिन्ताजनक भाष्य निर्माण हुन थालेको छ। यसको अर्थ स्पष्ट छ - यदि सतर्कता अपनाइएन भने आजको प्रविधिक सवारी भोलिको समाचार शीर्षक बन्न सक्छ।

            यो धारणालाई चिर्न र ईभीको सुरक्षित भविष्य सुनिश्चित गर्न सम्बद्द सरोकारवाला निकायहरु वीच प्रभावकारी समन्वयसँगै दुर्घटना न्यूनीकरणका लागि स्पष्ट र ठोस कदम चालिनु आवश्यक छ।

नयाँ प्रविधि, पुरानो सोच

            ईभी सवारी सञ्चालनको प्रविधि पारम्परिक सवारीभन्दा धेरै फरक हुन्छ।तर धेरै चालकहरू बिना तालिम वा सामान्य अनुभवकै भरमा यसलाई चलाइरहेका छन्। ईभीको मौन तर तीव्र गति, उच्च टर्क र स्वचालित नियन्त्रणले अनुभवहीन चालकको लागि नियन्त्रण गुमाउने जोखिम बढाउँछ। अव्यवस्थित चार्जिङ, सस्तो ब्याट्री र अनधिकृत मर्मतले ईभीलाई जोखिमपूर्ण बनाइरहेको छ। चालकहरूको तीव्र गति, ओभरटेक र नियम उल्लङ्घन प्रवृत्तिले दुर्घटना बढाइरहेको छ।

सुधारका दिशाहरू

१. अनिबार्य तालिम र अनुमति:-

            ईभी सञ्चालनका लागि छुट्टै 'ईभी लाइसेन्स एन्डोर्समेन्ट' र नियमित तालिम अनिवार्य हुनुपर्छ। तालिममा ब्याट्री व्यवस्थापन, उच्च भोल्टेज सुरक्षा, रिजनेरेटिभ ब्रेकिङ, गाडीमा समस्या आएको बेला अपनाउने उपाय र आपतकालीन प्रतिक्रिया समावेश गर्नुपर्छ। चालकले दुर्घटना वा आगलागीको अवस्थामा ‘किल स्विच’ जस्ता सुरक्षा उपायहरूको अभ्यास समावेश गर्नुपर्छ।

२. प्राविधिक निरीक्षण र पूर्वाधार:-

            ईभीको मुटु नै ब्याट्री हो, जसको सुरक्षित व्यवस्थापन अत्यन्तै संवेदनशील हुन्छ।आयातकर्ता कम्पनीहरूले अनिवार्य रूपमा लामो समयसम्म पार्टपुर्जा र सर्भिसिङको ग्यारेन्टी दिनुपर्छ। गुणस्तरहीन ब्याट्री आयात र अनधिकृत मर्मतलाई निरुत्साहित गरिनुपर्छ।नियमित परीक्षण, मोटर, ब्रेक प्रणाली, वायरिङ र चार्जिङ स्टेशनका प्राविधिक मापदण्ड पालन अनिवार्य हुनुपर्छ।

३. गति नियन्त्रण र ट्र्याकिङ प्रविधि :-

            विद्युतीय सवारीको तीव्र र मौन गति दुर्घटनाको प्रमुख कारण भएकाले जीपीएस, स्पीड लिमिटर र टाइम कार्ड प्रणालीअनिवार्य गर्नुपर्छ।स्पीड लिमिटरले सवारीलाई सहरमा ६० र राजमार्गमा ८० किमी/घण्टा(आवश्यकतानुसार) सीमित राख्छ । जीपीएसले सवारीको गति, मार्ग र चालकको गतिविधि रियलटाइममा अनुगमन गर्छ र टाइम कार्डले कार्य अवधि नियन्त्रण गर्छ।यी प्रविधिले चालकलाई अनुशासित, यात्रुलाई सुरक्षित र  दुर्घटनालाई न्यून बनाउन सहयोग गर्छ।

४. जनचेतना अभियान :-

            विद्युतीय सवारी सुरक्षित सञ्चालनका लागि "स्मार्ट ईभी, सुरक्षित यात्रा" अभियान अत्यावश्यक छ । चालक, परिचालक र यात्रुहरूमा केन्द्रित यस अभियानले नयाँ प्रविधि, सुरक्षा मापदण्ड, आपतकालीन प्रतिक्रिया र सुरक्षित व्यवहार सम्बन्धी जानकारी - तालिम, पोस्टर, रेडियो टीभी र डिजिटल मिडियाबाट प्रवाह गरिनुपर्छ। सरकार, व्यवसायी, संघ र स्थानीय तहसँगको सहकार्यले जिम्मेवार र दीगो यातायात प्रवर्द्धन गर्न सहयोग पुर्याउँछ।

            विद्युतीय सवारी भविष्यको आवश्यकता हो- स्वच्छ ऊर्जा, न्यून प्रदूषण र आर्थिक दक्षताको प्रतीक।तर यसको सफल प्रयोगका लागि सावधानी र अनुशासन अनिवार्य शर्त हुन्। यदि प्राविधिक सुधार, प्रशिक्षण र जिम्मेवार सञ्चालन सुनिश्चित गर्न सकिएन भने,विद्युतीय सवारीले हरित अर्थतन्त्र होइन, नयाँ जोखिमको इतिहास लेख्नेछ। "आज ईभीमा, भोलि टीभीमा" भन्ने भनाइलाई केवल डर होइन, सुरक्षाको चेतावनी र सुधारको प्रेरणाका रूपमा बुझ्न र बुझाउन आवश्यक छ।

प्र.ब.ना.नि. बिष्णु थापा

प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक

सम्बन्धित समाचारहरू

टाटा एक्सप्रेस-टी ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा

टाटा एक्सप्रेस-टी ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा

टाटा मोटर्सको एक्सप्रेस-टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर...

औडीले ल्यायो फुल चार्जमा ४८४ किलोमिटरको रेन्ज दिने दमदार ई–एसयूभी

औडीले ल्यायो फुल चार्जमा ४८४ किलोमिटरको रेन्ज दिने दमदार ई–एसयूभी

चर्चित जर्मन लक्जरी कार निर्माता कम्पनी औडीले औडी ई–ट्रोन र औडी ई–ट्रोन...

नक्सालमा अब एकै स्थानमा नयाँ तथा पुराना गाडीको शोरुम, चार्जिङ स्टेसन, क्याफे र एसेसरिज

नक्सालमा अब एकै स्थानमा नयाँ तथा पुराना गाडीको शोरुम, चार्जिङ स्टेसन, क्याफे र एसेसरिज

काठमाडौँ – नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...