सुनरा रोबो–एस इलेक्ट्रिक स्कुटरको पिक पावर ४ हजार ३ सय वाट, मूल्य ३ लाख ८० हजार हुने
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने नयाँ ब्रान्ड सुनरा ईभीको इलेक्ट्रिक...
विद्युतीय कारमा के तपाईंको रुचि छ ? हुनसक्छ, तपाईंले आफ्नो अर्को कार विद्युतीय नै हो भन्ने चाहनु भएको छ । यदि तपाईंलाई पनि अन्य कार पारखीलाई झैं भविष्यतिर पाइला टेक्ने बेला भएको छ भन्ने लाग्छ भने कुनै निर्णयमा पुग्नुअघि तपाईंका लागि विद्युतीय वा डिजेल पेट्रोलबाट चल्ने (पारम्परिक) मध्ये कुन उपयुक्त होला भन्ने मूल्यांकन गर्न जरुरी छ ।
नेपालमा विद्युतीय कारको लोकप्रियता बढिरहेको छ । सरकारले यो वर्षको बजेटमा विद्युतीय सवारीसाधनमा लगाउँदै आएको अन्तःशुल्क पूर्ण रुपमा हटाउने र भन्सार शुल्क पनि घटाउने घोषणा गरिसकेको छ । गत वर्ष अघिल्ला अर्थमन्त्रीले विद्युतीय कारमा पनि इन्धनबाट चल्ने कारमा झैं कर लगाउने निर्णय गरेपछि भर्खरै बामे सरिरहेको विद्युतीय सवारी साधनप्रतिको आकर्षण अचानक घटेको थियो ।
यो वर्ष भने सरकारले गत वर्षको निर्णयलाई उल्ट्याएन मात्र सडक सवारी करलाई पनि छुट दिने बताएको छ । यी कारणहरुले गर्दा नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण फेरि बढ्ने निश्चित छ । त्यसो त इलेक्ट्रिक मोटरिङ हरेकका लागि व्यावहारिक नहुन सक्छ । तर अहिले शून्य उत्सर्जनको महत्वबारे पनि धेरै चर्चा भइरहेको छ ।
मानिसहरु अहिले किन विद्युतीय कारप्रति आकर्षित भइरहेका छन् त ? यो निकै जटिल प्रश्न हो । पहिले धनाढ्यहरुको मात्र रोजाइमा पर्ने विद्युतीय सवारीसाधन इन्धन खर्चको बचत, कर छुट र बढ्दो ब्याट्री रेन्ज आदिले गर्दा अहिले पेट्रोल र डिजेल कारको विकल्प बनिरहेको छ ।
हो, प्रविधि अझै पनि महँगो छ, त्यसैले विद्युतीय सवारीसाधन समान क्षमता र फिचर भएका पारम्परिक सवारी साधनभन्दा अझै पनि महँगा छन् । विद्युतीय कारबाट तपाईंले के अपेक्षा गर्न सक्नुहुन्छ भन्ने थाहा पाउन यसको फाइदा र सीमाहरुबारे जान्न जरुरी हुन्छ । यसले तपाईंको अर्को कार के हुनुपर्छ भन्ने निर्णय गर्न सहज बनाउनेछ ।
विद्युतीय कारका फाइदाहरु
शून्य उत्सर्जन
विद्युतीय कारलाई एउटा ठूलो ब्याट्रीले उर्जा दिन्छ र विद्युतीय मोटरबाट यो चल्छ । त्यसैले यसमा इन्जिन हुँदैन र उत्सर्जन पनि गर्दैन । तर याद राख्नुपर्ने कुरा के हो भने तपाईंले इलेक्ट्रिक कार चार्ज गर्दा नेसनल ग्रिड प्रयोग गर्नु हुन्छ जसलाई कोइला, आणविक, वायु वा सौर्य उर्जाबाट उत्पादन भएको विजुली फिड गरिएको हुन्छ । त्यसो त नेपालमा जलस्रोत बाहेक अन्य स्रोतबाट विद्युत उत्पादन अत्यन्त कम गरिन्छ ।
कर छुट
कागजी रुपमा विद्युतीय सवारीसाधनको मूल्य इन्धनबाट चल्ने सवारीसाधनभन्दा बढी महँगो हुन्छ । तर सरकारले अहिले अन्तःशुल्क र भन्सार छुट गरेको छ । जसले गर्दा यस्ता कारको मूल्यमा ३० देखि ४० प्रतिशतसम्म कमी आएको छ । यसका साथै सरकारले पाँच वर्षका लागि सडक कर छुट गर्नेसमेत भनेको छ । तर सेकेन्डह्यान्ड विद्युतीय कारको मूल्य एकदम नै कम छ ।
इन्धनको बचत
विद्युतीय कारप्रति आकर्षणको सबैभन्दा ठूलो कारणमध्ये एक पेट्रोल वा डिजेल खर्चको बचत हो । नेपालमा अहिले पेट्रोलको मूल्य प्रति लिटर १२५ रुपैयाँ छ भने डिजेलको १०८ रुपैयाँ । यदि तपाईं एक वर्षमा १५ हजार किलोमिटर गाडी चलाउनुहुन्छ भने विद्युतीय कारमा स्विच गर्दा तपाईंले वर्षमा एक लाख रुपैयाँ बचत गर्नुहुन्छ । यसका साथै इन्धन आपुर्तिमा समस्या र पम्पमा लाइन बस्नुपर्ने झन्झट पनि हुँदैन ।
मर्मत खर्चको बचत
विद्युतीय कारमा इन्जिन आयल चेन्ज गर्नु पर्दैन । यसमा घर्षण हुने पार्ट्स पनि कम हुन्छ । त्यसैले, विद्युतीय कारको मर्मत खर्च पेट्रोल वा डिजेलबाट चल्ने सवारीभन्दा कम हुन्छ । तर ब्याट्रीमा समस्या आयो भने चाहिँ त्यो तपाईंका लागि महँगो सावित हुनसक्छ ।
आवाजविहीन यात्रा
विद्युतीय कारहरुबाट करिब आवाज नै आउँदैन । सुरुसुरुमा त तपाईंलाई यात्रा अनौठो पनि लाग्ला । इन्जिनको चर्को आवाज यसमा हुँदैन । मोटरको सानो आवाज चाहिँ सुनिन्छ, हावा र टायरको आवाज पनि तपाईं सुन्न सक्नुहुन्छ । तर गाडीको ‘रेभ’ वा आवाज नै मन पराउनेको जमात पनि ठूलो छ । उनीहरुका लागि इन्जिनको आवाजले यात्रामा रोमाञ्चकता थप्छ । अर्को कुरा विद्युतीय कारमा विद्युतलाई सीधै पांग्रामा जोडिएको मोटरमा दिइन्छ । यसमा एक्सिलेरेसन तत्काल हुन्छ । तर पारम्परिक कारमा भने एक्सिलेरेसनको पेडल थिचेपछि इन्जिनमा इन्धनको मात्रा बढ्छ र त्यसपछि मात्र त्यो उर्जा पांग्रामा सर्छ । त्यसैले, विद्युतीय कारमा एक्सिलेरेसन सहज र बढी प्रभावकारी हुन्छ ।
विद्युतीय कारका सीमा
रेन्जको तनाव
पहिले त एक पटक फुल चार्ज गर्दा तय गर्ने दुरी (जसलाई रेन्ज भनिन्छ) निकै नै कम हुन्थ्यो । फुल चार्जमा एक सय किलोमिटर गुड्नुलाई पनि ठूलो उपलब्धि मानिन्थ्यो । अहिले विद्युतीय कारको रेन्जमा विस्तारै सुधार हुँदै आएको छ । बजारमा उपलब्ध विद्युतीय कारको रेन्ज अहिले दुईसय किलोमिटर र त्योभन्दा बढी छ । तैपनि लामो दुरीको यात्रा गर्नेका लागि यो अपर्याप्त नै छ ।
चार्जिङ प्वाइन्ट
नेपालमा चार्जिङ स्टेसनको कन्सेप्ट अझै आइसकेको छैन । हाल नेपालमा दुई हजारको हाराहारीमा विद्युतीय कार होलान् । राजधानी काठमाडौं र मुख्य सहरमै पनि यस्ता स्टेसनहरु बनिसकेका छैनन् भने दुरदराजमा यस्तो पूर्वाधार निर्माण गर्न अझै वर्षौं लाग्न सक्छ । तसर्थ, लामो दुरी र दुर्गम स्थानमा वर्षौंसम्मका लागि पेट्रोल वा डिजेलबाट चल्ने गाडीको विकल्प छैन ।
चार्जिङ समय
फ्युल ट्यांकमा इन्धन भर्ने र चार्ज गर्नेको तुलना हुनसक्दैन । फुल चार्ज गर्दा लाग्ने समय सवारीपिच्छे फरक हुन्छ । यो तपाईंको चार्जर र ब्याट्रीमा निर्भर हुन्छ । निसान लिफ ३० किलोवाट आवरलाई ७ किलोवाटको चार्जरबाट पूरा चार्ज हुन ४ घन्टा लाग्छ । टेस्लाको सुपरचार्जरले भने ३० मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्न सक्छ । घरमै राखिने चार्जरले एक घन्टा चार्ज गर्दा १५ देखि ३० माइल यात्रा गर्न सकिन्छ । फास्ट चार्जरको प्रयोग बढिरहेको छ जसले गर्दा चार्जिङ समय भने क्रमशः घट्ने निश्चित छ ।
ड्राइभिङ फन
विद्युतीय कार ब्याट्रीका कारण पेट्रोल वा डिजेलबाट चल्ने कारभन्दा गह्रौं हुन्छ । चर्को एक्सिलेरेसनका बाबजुद टेस्ला मोडेल एस जस्ता केही विद्युतीय कारको वजन कुनामा केन्द्रित हुन्छ जसले गाडीलाई गह्रौं अनुभव गराउनुका साथै दिशा परिवर्तन गर्न समेत अप्राकृतिक समय लगाइदिन्छ । यसले ड्राइभिङ फनमा सम्झौता गराउँछ ।
आफ्टर सेल्सको झन्झट
अहिले पारम्परिक सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको विक्री तुलनात्मक रुपमा निकै कम छ । त्यसैले आयातकर्ताहरुको ध्यान पारम्परिक कारको आफ्टर सेल्समा बढी रहेको छ । पर्याप्त पूर्वाधार नभएका कारणले पनि यस्तो भएको हुनसक्छ । आयातकर्ताले विद्युतीय कारको पार्ट्सको पर्याप्त स्टक नराख्ने हुनसक्छ जसले गर्दा कारमा कुनै समस्या आएमा महिनौं थन्किनसक्ने सम्भावना पनि रहन्छ ।
तसर्थ विद्युतीय र पारम्परिक सवारीसाधनका आ–आफ्नै फाइदा र बेफाइदाहरु छन् । अझ नेपाल जस्तो देश जहाँ ग्रामीण क्षेत्रमा आवश्यक पर्ने पूर्वाधार नै छैन, त्यहाँ विद्युतीय कारमा स्विच हुनु अलि चाँडो त हुँदैन भन्ने विचार राख्ने पनि धेरै छन् । त्यसैले यी दुईमध्ये कुनै पनि गाडी खरिद गर्ने योजना बनाउनु भएको छ भने एक पटक गम्भीर भएर पक्कै सोच्नु आवश्यक छ ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने नयाँ ब्रान्ड सुनरा ईभीको इलेक्ट्रिक...
आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट भोलि सार्वजनिक हुँदैछ । बजेट आउने मिति...
न्यु इनर्जी भेइकल र पावर ब्याट्रीको क्षेत्रमा विश्वकै सर्वश्रेष्ठ कम्पनी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...