२०२६ मा पाँच लाख ५० हजार गाडी बिक्री गर्ने साओमीको योजना
चिनियाँ ईभी निर्माता साओमीले विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति तीव्र...
नेपाली बजारमा अहिले इलेक्ट्रिक कारको क्रेज बढ्दै गएको छ । चालु आर्थिक वर्षको बजेटमा अन्तःशुल्क खारेजी र भन्सार दरमा भारी कटौती गरिएका कारण यस्ता साधनको मूल्य समेत कम भएको छ । मूल्य कम भएपछि उपभोक्ताहरु अहिले इलेक्ट्रिक कार खरिद गर्न लालायित देखिन्छन् । वातावरणमैत्री साधनका रुपमा चिनिने यस्ता साधनको सञ्चालन खर्च समेत निकै न्यून पर्ने हुँदा उपभोक्ता यस्ता कार खरिदमा रुचिकर देखिएका हुन् ।
यद्यपि यस्ता सवारी साधनका लागि आवश्यक चार्जिङ स्टेशनलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता भने छ । तर यसका लागि सरकारी क्षेत्रबाट पनि खासै कार्य अगाडि बढेको पाइदैन । अबको १० वर्षपछि विद्युतीय सवारीसाधन मात्र सञ्चालनमा ल्याउने घोषणा गरेको सरकारले ईभीमैत्री सडक र चार्जिङ स्टेशन निर्माणमा भने खासै चासो दिन नसकेको हो । यद्यपि नेपाल विद्युत प्राधिकरणले देशका बिभिन्न ५० स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी भने थालिसकेको छ । यसैगरी बागमती प्रदेश सरकारले पनि टेन्डरलगायतका कार्य अगाडि बढाएको छ ।
इलेक्ट्रिक भेइकल प्रबद्र्धनमा आवश्यक पर्ने पूर्वाधार निर्माणमा सरकारले खासै चासो नदेखाएपछि पछिल्लो समय यस्ता साधन आयात गर्ने कम्पनीहरु आफै पूर्वाधार निर्माणमा जुट्न थालेका छन् । हाल हुन्डाई, किया, एमजी, टाटा, निसान, बीवाईडी, दीगो र डेरी लगायत ब्रान्डका इलेक्ट्रिक कार नेपाल आयात भएका छन् । यी मध्ये हुन्डाई, किया, टाटा र बीवाईडी आफ्नै चार्जिङ स्टेशन निर्माणमा अग्रसर देखिएका हुन् ।
हुन्डाईको २२ स्थानमा चार्जिङ प्वाइन्ट
हुन्डाई गाडीको आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हालसम्म २२ वटा चार्जिङ प्वाइन्ट स्थापना गरेको बताएको छ । हुन्डाईका प्रायः सबैजसो शोरुम र सर्भिस सेन्टर तथा केही होटल तथा रिसोर्टमा यस्ता प्वाइन्ट स्थापना गरिएका हुन् । आगामी दिनमा ग्राहकको सुबिधाका लागि अन्य स्थानमा समेत थप चार्जिङ स्टेशन निर्माण गर्ने कम्पनीको योजना छ ।
बीवाईडीको १६ स्थानमा
नेपाली बजारमा पहिलोपटक भित्रिएको प्रिमियम ब्रान्ड बीवाईडीको हाल १६ स्थानमा चार्जिङ स्टेशन सञ्चालन भैरहेको छ । नेपालस्थित आधिकारिक बितरक साइमेक्स इंकका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरी ९ वटा र बाहिरी जिल्लामा ७ वटा सहित कुल १६ चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । उपत्यका बाहिर पोखरा, बुटवल, लुम्बिनी, हटौडा, बर्दिबास, चितवन र इटहरीमा चार्जिङ स्टेशन सञ्चालन भैरहेका छन् । निकट भविष्यमै थप ८ स्थानमा यस्ता प्वाइन्ट सञ्चालन गरिने कम्पनी स्रोतले बताएको छ ।
कियाको ७ स्थानमा
किया मोटर्सको आधिकारिक बितरक कन्टिनेन्टल इन्टरप्राइजेजले देशका विभिन्न ७ स्थानमा चार्जिङ स्टेशन निर्माण गरेको छ । कम्पनीले उपत्यकामा ३ सहित बाहिर ४ गरी कुल ७ वटा यस्ता स्टेशन निर्माण गरेको हो । उपत्यका बाहिर चुम्लिङटार, भरतपुर र पोखरामा एसी चार्जर राखेको कम्पनीले कुरिन्टारमा भने डिसी चार्जर राखेको छ । निकट भबिष्यमा भक्तपुर, हेटौडा, जनकपुर, बर्दिबास, बिर्तामोड, बिराटनगर, बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज र धनगढीमा समेत चार्जिङ प्वाइन्ट निर्माण गर्ने कम्पनीको योजना छ ।
नेक्सन ईभीको ८ स्थानमा
केहीदिन अघिमात्र सार्बजनिक गरिएको टाटा नेक्सन ईभीको हालसम्म ८ वटा चार्जिङ स्टेशन निर्माण भैसकेको छ । आधिकारिक बितरक सिप्रदी ट्रेडिङ स्रोतका अनुसार उपत्यकाको बागडोलका साथै चुम्लिङटार, पोखरा, भैरहवा, हटौंडा, मुलकोट र इटहरीमा फास्ट चार्जिङ स्टेशन निर्माण गरिएको छ । यीबाहेक दोस्रो चरणअन्तर्गत थप ७ ठाउँमा चार्जिङ स्टेशनको निर्माण गरिने उक्त स्रोतले जानकारी गराएको छ । ग्राहकको सहजताका लागि प्रत्येक १५० किलोमिटरको दुरीमा यसप्रकारको स्टेशन निर्माण गरिने उसको भनाइ छ । डिसी चार्जिङ स्टेशनबाहेक कम्पनीले एक सय ठाउँमा इभी चार्जिङ पोर्ट पनि राख्ने बताएको छ । यसको साथै कम्पनी आफैले ग्राहकको घरमा चार्जिङ पोर्ट समेत जडान गरिदिने बताइएको छ ।
एमजीको १ स्थानमा, थप २५ स्थानमा निर्माण गर्ने तयारी
सर्बाधिक रुचाइएको इलेक्ट्रिक कार मध्येको एक एमजी मोटर्सको भने हाल काठमाडौं धुम्वाराहीस्थित सर्भिस सेन्टरमा मात्र चार्जिङ स्टेशन रहेको छ । कम्पनीले निकट भविष्यमा देशका बिभिन्न २५ स्थानमा यस्ता स्टेशन निर्माण गर्ने तयारी थालेको कम्पनी स्रोतको भनाइ छ । केहीसमय पहिले एमजी ईजेडएस खरिद गर्ने ग्राहकलाई कम्पनीले ७ वाट क्षमताको फास्ट चार्जर निःशुल्क उपलब्ध समेत गराउँदै आएको थियो । सो चार्जरको सहयोगमा ग्राहकले आफ्नै घरमा सजिलै ब्याट्री चार्ज गर्न सक्ने बताइएको छ । हालका लागि भने यो सुबिधालाई सशुल्क गरिएको उक्त स्रोतले जानकारी गराएको छ ।
अन्य ब्रान्डको अवस्था
हालसालै नेपाल भित्रिएको निसान लिफका लागि कम्पनीले तत्काल आफ्नो आधिकारिक सर्भिस सेन्टरबाट चार्जिङ सेवा उपलब्ध गराउँदै आएको छ । आधिकारिक बितरक पायोनियर मोटोकर्पका अनुसार निकट भविष्यमा देशका विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गर्दै जाने योजनामा यो कम्पनीले तयारी थालेको छ । सस्तो र सानो इलेक्ट्रिक कारका नामले चिनिने दीगो ब्रान्डले हाल सिन्धुली मुलकोट र भक्तपुरको बालकोटमा चार्जिङ स्टेशन बनाएको छ । उसले पनि यस्ता स्टेशन क्रमिक रुपमा थप्दै जाने योजना बनाएको छ । त्यस्तै अर्को चिनियाँ ब्रान्ड डेरीले समेत भोलिका दिनमा यस्ता पूर्वाधार निर्माणलाई प्राथमिकता दिने बताएको छ ।
चिनियाँ ईभी निर्माता साओमीले विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति तीव्र...
भारत सरकारले आफ्नो नयाँ ईभी नीति अन्तर्गत विद्युतीय कारहरुमा आयात शुल्क...
बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले हालै नेपाली बजारमा नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...