विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ अब नेपालमा उपलब्ध
काठमाडौं – नेपालका लागि विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको आधिकारिक...
काठमाडौं–विद्युतीय सवारी (ईभी) को सञ्चालन खर्च कम हुने र मर्मतसम्भार पनि तुलनात्मक रूपमा सहज हुने मानिन्छ । तर, ईभी प्रयोगकर्ताले बेहोर्नुपर्ने एउटा अतिरिक्त खर्च टायरसँग सम्बन्धित छ । विभिन्न अध्ययनले पेट्रोल तथा डिजेल गाडीको तुलनामा ईभीका टायर छिटो खिइने देखाएका छन् ।
ईभीमा प्रयोग हुने ब्याट्रीका कारण यसको तौल समान आकारका पेट्रोल तथा डिजेल गाडीभन्दा बढी हुन्छ । बढी तौलका कारण टायरमा अतिरिक्त दबाब पर्छ । त्यस्तै, ईभीमा मोटरले तत्काल उच्च टर्क उपलब्ध गराउने भएकाले तीव्र गतिमा एक्सेलेरेसन गर्दा टायर थप खिइन सक्छ ।
सन् २०२२ मा ‘साइन्स अफ द टोटल इन्भायरमेन्ट’मा प्रकाशित एक अध्ययनले परीक्षण गरिएका ईभीको टायर औसत २०१.७ मिलिग्राम प्रतिकिलोमिटर खिइने देखाएको थियो । त्यस्तै, पेट्रोल गाडीको १५८.९ मिलिग्राम र डिजेल गाडीको १६७.४ मिलिग्राम रहेको थियो । यसअनुसार परीक्षणमा ईभीको टायर पेट्रोल गाडीको तुलनामा करिब २७ प्रतिशत बढी खिइएको थियो ।
त्यस्तै, बेलायतको फ्लीट व्यवस्थापन कम्पनी इपिक्सले सन् २०२५ मा सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीका ईभीमा औसत २३ हजार १०० किलोमिटर गुडेपछि पहिलोपटक टायर परिवर्तन गर्नुपरेको थियो । यसको तुलनामा पेट्रोल तथा डिजेल गाडीमा औसत २९ हजार ५०० किलोमिटरपछि टायर परिवर्तन गरिएको थियो ।
यद्यपि, सबै अध्ययनले ईभीकै कारण टायर छिटो खिइने निष्कर्ष निकालेका छैनन् । परीक्षणमा गाडीको तौल, चलाउने शैली र सडकको अवस्थाले पनि ठूलो प्रभाव पार्ने देखिएको छ । बीएमडब्लू आईएक्स१ र एक्स१ मा गरिएको १५ हजार किलोमिटरको तुलनात्मक परीक्षणमा ईभीको टायर बढी खिइए पनि गाडीको अतिरिक्त तौललाई हिसाब गर्दा यो अन्तर निकै कम भएको थियो ।
ईभीको टायरको आयु कसरी बढाउने ?
ईभीमा प्रयोग हुने टायरको आयु बढाउन केही सामान्य कुरामा ध्यान दिनुपर्छ । तीव्र एक्सेलेरेसन र अचानक ब्रेक लगाउने बानी कम गर्ने, टायरमा सिफारिस गरिएको हावाको चाप कायम राख्ने र नियमित रूपमा टायरको अवस्था जाँच गर्ने गर्नुपर्छ ।
त्यस्तै, गाडी निर्माता कम्पनीले सिफारिस गरेको समयमा टायर रोटेसन गर्नुपर्छ । ईभीका लागि विशेष रूपमा डिजाइन गरिएका टायरले बढी तौल धान्न, रोलिङ रेसिस्टेन्स कम गर्न र सडकको आवाज घटाउन मद्दत गर्छन् ।
यसरी ईभीमा टायर छिटो खिइने सम्भावना रहे पनि यसको वास्तविक आयु गाडीको तौल, टायरको गुणस्तर र चालकको व्यवहारमा निर्भर गर्छ । त्यसैले ईभी किन्दा ब्याट्री रेन्ज र चार्जिङ खर्चसँगै टायरको आयु तथा प्रतिस्थापन खर्चलाई पनि ध्यान दिनु आवश्यक देखिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...