‘नेपालमै व्यवसाय गर्नुपर्छ भन्ने सन्देश दिँदै आएको भए पनि पछिल्ला घटनाले मनोबल तोडेको छ’

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष ध्रुव थापाले आफ्नो घरमा आगजनी हुँदा व्यवसाय मात्र नभई जीवनभरको मेहनत खरानी भएको भन्दै पीडा व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो मनको व्यथा पोख्दै आफू राजनीतिक व्यक्ति नभएको, न त कुनै भ्रष्टाचार वा तस्करीमा संलग्न भएको भन्दै स्पष्ट पारेका छन् । १७ वर्षको उमेरदेखि नै अध्ययनसँगै उद्यम सुरू गरेको उनले स्मरण गर्दै व्यवसायमै समर्पित जीवन बिताएको बताए ।

उनका अनुसार उद्यम व्यवसायमार्फत धेरै युवालाई प्रेरित गर्दै आएको र नेपालमै व्यवसाय गर्नुपर्छ भन्ने सन्देश दिँदै आएको भए पनि पछिल्ला घटनाले मनोबल तोडेको छ । उनले आफ्नो उद्यममार्फत समाज र मानव सेवामा पनि योगदान गर्दै आएको उल्लेख गरे।

यस्तो छ थापाको फेसबुक स्टाटस :
म कुनै राजनीतिक मान्छे थिइन । न कुनै भ्रष्ट वा तस्कर। १७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम गर्न सुरु गरेको थिएँ । कति आरोह अवरोह र जोखिम मोलेर यो स्थितिमा आइपुगेको अवस्था हो । आफूले मात्रै उद्यम व्यवसाय गरिन् अरु धेरैलाई पनि सिकाएं । नेपालमै उद्यम गर्नुपर्छ । नेपालमै सम्भावना धेरै छ भन्दै अभिप्रेरित गर्दै आएको छु । आफूले उद्धम व्यवसायबाट केही कमाउँदा समाजको लागि पनि योगदान गरिरहेको छु ।

युवा उमेर देखि नै सामाजिक र मानवीय सेवामा लागिरहेको छु । म मात्र होइन हामी हामी दम्पति नै लागिरहेका छौं । ७२ सालको भूकम्पको बेला होस् वा कोभिडको समयमा, थुप्रै सङ्ख्यामा एम्बुलेन्सहरु आयात गरेर विभिन्न संघसंस्थाहरूलाई निशुल्क प्रदान गर्यौ । जुन आजका दिनसम्म पनि नेपालका विभिन्न स्थानमा सेवा पुर्याइरहेका छन् । हामी दम्पतिले विभिन्न सामाजिक संघसंस्थाहरू मार्फत पनि देश र समाजलाई दुःख पर्दा आफ्नो व्यापार व्यवसाय छोडेर पनि मानवीय सेवाका लागि पहिलो प्राथमिकतामा राखेर योगदान गर्दै आएका छौं ।

आजका दिनसम्म आफूले जानेर बुझेर कुनै गलत कार्य गरेको जस्तो लाग्दैन तर यस्तो गरिरहँदा पनि आज आफू बस्ने घर अफिस जलाईदा मन पनि जल्दो रहेछ । जलेको घरको आगोसँगै मेरा ति सबै उत्साह पनि जलेर खरानी भइरहेका छन । जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ । मेरा बुवा बाजेहरूले आर्जेको जग्गामा बनाइएको यो घरसँग मेरो ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको थियो तर एकैछिनमा सबै खरानी बनाइदिए ।

सम्पत्ति घर गुमाउनु को पीडा त एकातिर छँदै थियो त्यो पीडा भन्दा पनि धेरै पीडा हाम्रो परिवार कै सदस्य भएर बसेकी घरको काम गर्ने बहिनीलाई गुमाउनु पर्दा भइरहेको छ । घटना हुनु केही क्षण अघि मात्रै हामी सबै परिवारलाई खाना बनाएर खुवाएकी ती बहिनी एकछिनमै बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिन्छिन् भनेर कल्पना पनि नगरेको विवत्स घटना व्यहोर्नु परेको छ । घरमा मान्छे छन भने जानकारी हुँदाहुँदै तलबाट आगो लगाउने काम जेन जीले गरेका हुन् वा त्यहाँ भित्र अरु नै कोही थिए समयक्रमले बताउँदै जाला तर जोसुकै हुन् ति क्रुर अपराधीहरु भोलिका दिनमा कुनै राजनीतिक खोल ओडेर उम्किन नपाउन ।

अहिलेको आन्दोलनमा मेरो दाजु बिन्दु थापासँग मलाई जोडिएको छ । दाई राजनीतिमा हुनुहुन्छ । उहाँ व्यवसायमा सफल भएपछि राजनीतिमा लागेर सेवा गर्छु भनेर हिँड्नुभयो । के राजनीति गर्नु नै अपराध हो ? उहाँ राजनीतिमा लाग्नुभन्दा धेरै पहिला देखि नै पोखराको एक सफल व्यवसायीको रुपमा चिनिनुहुन्थ्यो । अनि अर्को कुरा उहाँलाई भ्रष्टाचार गरेको र भ्रष्टाचारबाट प्राप्त रकम उहाँको छोराहरुले मोजमस्ती गरेको भनेर जुन प्रकारले सोसल मिडियामा सयौँको सङ्ख्यामा फेक आइडी बनाएर देखाइयो त्यो बिल्कुल निराधार र कपोलकल्पित छ ।

उहाँको बढ्दो लोकप्रियता देखेर उहाँको इमेज ड्यामेज गराई राजनीतिक अभिष्ट पूरा गर्न रचिएको योजना हो त्यो । हुन त यो क्षेत्रका आम जनताले राम्रोसँग बुझेका छन् उहाँको बारेमा । एउटा महत्वपूर्ण कुरा के भने, हामीहरूको परिवार अहिले मात्र होइन पुर्खादेखि नै जनताको पैसा भ्रष्टाचार गरेर कमाउनुपर्ने अवस्थामा छैनौँ । यो देश निर्माण गर्न हाम्रो पुर्खाको पनि महत्वपूर्ण योगदान छ । उनीहरूकै सन्तान हौं हामी । यसैले हामीलाई यो देशको अझ बढी माया छ । मेरो दाजुले पनि विगत देखि नै सांसद र मन्त्री हुँदा प्राप्त गरेको सम्पूर्ण तलब भत्ता समेत सामाजिक कामका लागि डोनेसन गर्दै आउनुभएको छ । उहाँ नेपालमा भएका एकदमै कम मात्र स्वच्छ छवि भएका राजनीतिक नेतामध्ये मध्ये एक हुनुहुन्छ । जसले आफूसँग भएको सम्पूर्ण चल अचल सम्पत्ति पारदर्शिताका साथ सबै जनताका सामु राखिदिनुभएको छ । भ्रष्टाचार गरेको भए वा पछि गर्ने योजना भएको भए कसैले यस्तो गथ्र्यो होला र ?

यो अत्यन्त पीडादायी क्षणहरूमा हामीप्रति सहानुभूति प्रकट गर्दै हाम्रो आत्मबल कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका सम्पूर्ण महानुभावहरु प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु । यहाँहरूले प्रदान गर्नुभएको उत्प्रेरणाका वचनहरूले हामीलाई पहिलेको भन्दा पनि अझै सशक्त भएर अगाडि बढ्ने हौसला मिलेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...