युरोपको दोस्रो बीवाईडी कार प्लान्ट फ्रान्समा बन्दै, फ्रेन्च राष्ट्रपतिले भने – जनवरी १८ मा थप विवरण सार्वजनिक हुनेछ
बीवाईडीले फ्रान्समा कार उत्पादन गर्ने योजनाबारे आगामी जनवरी १८ मा थप...
बेलायती लक्जरी कार निर्माता कम्पनी बेन्ट्लेको ऐतिहासिक रेसिङ कारबाट प्रेरित इलेक्ट्रिक कार ‘ब्लोअर जुनियर’का पहिलो २५ युनिटको उत्पादन सम्पन्न भएको छ। बेलायतको बाइसेस्टरस्थित हेड्ली स्टुडियोले निर्माण गरेका यी कार ग्राहकलाई हस्तान्तरणका लागि तयार भएका हुन्। सुरुमा बेलायतका ग्राहकलाई डेलिभरी गरिने र त्यसपछि युरोपका अन्य बजारमा पठाइने कम्पनीले जनाएको छ।
पहिलो २५ युनिट फर्स्ट एडिसन स्पेसिफिकेसनमा तयार गरिएका हुन्। यो कार कुल ९९ युनिट उत्पादन गर्ने योजनाअन्तर्गत निर्माण भइरहेको छ। फर्स्ट एडिसनका अधिकांश युनिट बिक्री भइसकेका छन्।
ब्लोअर जुनियर सन् १९२९ मा निर्माण गरिएको बेन्ट्ले ४½ लिटर सुपरचार्ज्ड टिम कार नम्बर २ बाट प्रेरित इलेक्ट्रिक कार हो। बेन्ट्ले मोटर्ससँगको आधिकारिक साझेदारीमा तयार गरिएको यो कार मूल मोडलको ८५ प्रतिशत आकारमा निर्माण गरिएको छ। सन् १९३० को ले मान्स २४ आवर्स रेसमा सहभागी भएको उक्त ऐतिहासिक कार अहिले पनि बेन्ट्ले हेरिटेज कलेक्सनमा सुरक्षित छ।
यसको निर्माता हेड्ली स्टुडियो बेलायतको बाइसेस्टरमा रहेको कम्पनी हो। कम्पनीले विश्वका चर्चित ऐतिहासिक कारहरूलाई सानो आकारमा इलेक्ट्रिक प्रविधिसहित पुनः डिजाइन तथा निर्माण गर्दै आएको छ। परम्परागत कार निर्माण सीप, आधुनिक इन्जिनियरिङ र सूक्ष्म हस्तकलाको संयोजनबाट कम्पनीले पूर्ण रूपमा चलाउन मिल्ने कार तयार गर्छ। बेन्ट्लेसहित बुगाटी र फेरारीजस्ता प्रतिष्ठित अटोमोबाइल ब्रान्डसँग आधिकारिक साझेदारी गरी कम्पनीले सडकमा चलाउन मिल्ने तथा निजी परिसरमा प्रयोग गर्न मिल्ने विशेष मोडल निर्माण गर्दै आएको छ।
ब्लोअर जुनियरलाई आधुनिक सडकमा चलाउन मिल्ने बनाउन कम्पनीले विस्तृत इन्जिनियरिङ, परीक्षण तथा होमोलोगेसन प्रक्रिया पूरा गरेको जनाएको छ। आधुनिक मापदण्डअनुसार हेडलाइट, इन्डिकेटर र ब्रेकिङ प्रणाली तयार गरिएको छ। रिभर्सिङ क्यामेराजस्ता आधुनिक प्रविधिलाई पनि कारको मौलिक डिजाइन नबिग्रिने गरी समावेश गरिएको छ। यो कार बेलायत र युरोपेली संघमा एल७ई क्वाड्रिसाइकल श्रेणीमा वर्गीकृत छ।
कारको बाहिरी भागमा मूल बेन्ट्ले टिम कारकै ब्लोअर ग्रिन रङ प्रयोग गरिएको छ। बडी, च्यासिस र ह्विलमा समेत यही रङ दिइएको छ। दुवै साइडमा हातले बनाइएका युनियन ज्याक झन्डा, फर्स्ट एडिसन ब्याजिङ र प्रत्येक कारको छुट्टै नम्बर उल्लेख गरिएको ‘१ अफ ९९’ प्लेट राखिएको छ।
यसको आल्मुनियम बोनट परम्परागत प्रविधिबाट हातैले तयार गरिएको छ। चार्जिङ पोर्टलाई भने मूल कारको सुपरचार्जर हाउजिङभित्र लुकाइएको छ। यसले ऐतिहासिक डिजाइनको विशेषतालाई आधुनिक प्रयोगसँग जोडेको छ।
कारको इन्टेरियरमा डार्क ग्रिन लुस्ट्राना हाइड प्रयोग गरिएको छ। प्रि–वार रेसिङ कारको अनुभूति दिने रोप–बाउन्ड स्टेयरिङ ह्विलसँगै आधुनिक सडकमा प्रयोग गर्न मिल्ने गरी ड्राइभिङ पोजिसन समायोजन गर्न सकिने व्यवस्था छ। यसमा दुई सिट ट्यान्डम लेआउटमा राखिएका छन्, जहाँ चालकको पछाडि यात्रु बस्ने व्यवस्था छ।
३१ बीएचपी पावर, १२० किलोमिटर रेन्ज
ब्लोअर जुनियरमा ४८ भोल्टको इलेक्ट्रिक पावरट्रेन दिइएको छ। यसले ३१ बीएचपी अर्थात् २३ किलोवाट पावर उत्पादन गर्छ। यसको अधिकतम गति ८० किलोमिटर प्रतिघण्टाभन्दा बढी छ भने एकपटकको चार्जमा १२० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
कारमा कार्बन फाइबर टबलाई स्टिल फ्रेममा जडान गरिएको छ। च्यासिसमा लिफ स्प्रिङ र पुरानो मोडलसँग मिल्दोजुल्दो फ्रिक्सन ड्याम्पर प्रयोग गरिएको छ। अगाडि ब्रेम्बो डिस्क ब्रेक दिइएको छ भने इलेक्ट्रिक मोटर पछाडिको एक्सलमा जडान गरिएको छ। ब्याट्री र ड्राइभ इलेक्ट्रोनिक्सलाई कारको तल्लो भागमा राखिएको छ।
हेड्ली स्टुडियोका संस्थापक बेन हेड्लीले पहिलो २५ युनिट ग्राहकका लागि पठाउन पाउनु परियोजनामा संलग्न सबैका लागि गर्वको क्षण भएको बताएका छन्। उनका अनुसार सन् १९२९ को बेन्ट्लेको मौलिक चरित्रलाई आधुनिक सडकमा दर्ता गरेर चलाउन सकिने कारका रूपमा प्रस्तुत गर्नु यस परियोजनाको मुख्य उद्देश्य हो।
ग्राहकको रुचिअनुसार विशेष डिजाइन
फर्स्ट एडिसनबाहेक ग्राहकले आफ्नो रुचि र आवश्यकताअनुसार ब्लोअर जुनियरलाई विभिन्न रङ, लेदर, फिनिसिङ र विशेष सामग्री प्रयोग गरी कस्टमाइज गर्न सक्नेछन्। हेड्ली स्टुडियोको बेस्पोक प्रोजेक्ट्स डिभिजनमार्फत विशेष डिजाइन र पार्ट्ससमेत तयार गर्न सकिने व्यवस्था छ।
यसको उदाहरणका रूपमा अभिनेता, फिल्म निर्माता तथा हस्तकलामा रुचि राख्ने जेसन मोमोआका लागि विशेष रूपमा तयार गरिएको ब्लोअर जुनियरलाई लिन सकिन्छ। उक्त कारमा १०० भन्दा बढी विशेष रूपमा डिजाइन गरिएका वा विकास गरिएका पार्ट्स प्रयोग गरिएको कम्पनीले जनाएको छ।
बेन्ट्ले ब्लोअर जुनियरको मूल्य १ लाख १२ हजार ५०० पाउन्डबाट सुरु हुन्छ। यसमा स्थानीय कर थप हुनेछ। ग्राहकले कम्पनीको आधिकारिक वेबसाइट वा स्थानीय बेन्ट्ले डिलरमार्फत अर्डर गर्न सक्नेछन्। अहिले यो कार बेलायत र युरोपका विभिन्न बेन्ट्ले डिलरमार्फत प्रदर्शन तथा टेस्ट ड्राइभका लागि उपलब्ध गराउने कार्यक्रमसमेत सञ्चालन भइरहेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...