जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
जनकपुरधाम – जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष...
नेपालका सडकहरूमा उकालो–ओरालो, घुम्ती, साँघुरा मोड र तीव्र ढलान सामान्य विशेषता हुन् । यस्ता सडकमा सामान्य समथर सडकमा जस्तै गति कायम राखेर सवारी चलाउनु जोखिमपूर्ण हुन्छ । विशेषगरी उकालोमा सवारीको शक्ति र नियन्त्रण तथा ओरालोमा गति नियन्त्रणमा चालकले विशेष ध्यान दिनुपर्छ । केही सेकेन्डको लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ । त्यसैले उकालो–ओरालो सडकमा सुरक्षित यात्रा गर्ने पहिलो आधार गति होइन, सवारीमाथिको नियन्त्रण हो ।
त्यसैले उकालो ओरालो सडकमा यात्रा गर्दा थप सावधानी अपनाउनु आवश्यक हुन्छ । यस्ता सडकमा यात्राका बखतमा अपनाउनुपर्ने केही महत्वपूर्ण सुरक्षा उपाय यस्ता छन् :
१. उकालोमा गियरको सही प्रयोग गरौँ
उकालो चढ्दा सवारीमाथि बढी भार पर्छ । त्यसैले आवश्यकताअनुसार तल्लो गियर (लो गियर) प्रयोग गर्नुपर्छ । धेरै उच्च गियरमा सवारी चलाउँदा इन्जिनमा अनावश्यक दबाब पर्न सक्छ र गति घट्दै जाँदा सवारी नियन्त्रणमा समस्या आउन सक्छ । उकालोमा चढ्नुअघि नै उपयुक्त गियर छनोट गर्नु राम्रो हुन्छ ।
अगाडिको सवारीसँग पर्याप्त दूरी राखेर स्थिर गति कायम गर्नुपर्छ । अगाडिको सवारी रोकिएमा वा गति घटाएमा अचानक ब्रेक लगाउनुपर्ने अवस्था नआओस् भन्नेमा ध्यान दिनुपर्छ ।
२. उकालोमा ओभरटेक नगर्नुहोस्
उकालो, विशेषगरी घुम्ती वा दृश्य स्पष्ट नहुने स्थानमा ओभरटेक गर्नु अत्यन्त जोखिमपूर्ण हुन्छ । अगाडिबाट आउने सवारी नदेखिन सक्छ । उकालोमा सवारीको गति पनि सीमित हुने भएकाले ओभरटेक गर्ने क्रममा सवारीलाई पर्याप्त शक्ति नपुग्न सक्छ ।
त्यसैले सडक स्पष्ट, पर्याप्त चौडा र ओभरटेक सुरक्षित भएको अवस्थामा बाहेक उकालोमा ओभरटेक नगर्नु नै सुरक्षित हुन्छ ।
३. ओरालोमा ब्रेकमाथि मात्र निर्भर नहुनुहोस्
ओरालोमा सवारी आफैँ तीव्र गतिमा अघि बढ्न सक्छ । यस्तो अवस्थामा लगातार वा अत्यधिक ब्रेक प्रयोग गर्दा ब्रेक फेड हुन सक्ने (ब्रेकिङ प्रभाव वा क्षमता घट्ने) र आवश्यक समयमा ब्रेकले प्रभावकारी रूपमा काम नगर्ने जोखिम बढ्न सक्छ ।
यसको सट्टा उपयुक्त लो गियरमा सवारी राखी इन्जिन ब्रेकिङ प्रयोग गर्नुपर्छ । आवश्यकता अनुसार हल्का र नियन्त्रित रूपमा ब्रेक प्रयोग गर्नु सुरक्षित हुन्छ । ओरालोमा सवारीलाई न्यूट्रलमा राखेर वा इन्जिन बन्द गरेर चलाउनु हुँदैन ।
४. सुरक्षित दूरी कायम गरौँ
उकालो–ओरालो सडकमा अगाडिको सवारीसँग समथर सडकभन्दा अझ बढी सुरक्षित दूरी राख्नु आवश्यक हुन्छ । अगाडिको सवारी अचानक रोकिँदा, पछाडि सर्दा वा नियन्त्रण गुमाउँदा प्रतिक्रिया दिने पर्याप्त समय र ठाउँ चाहिन्छ । विशेषगरी भारी सवारी, बस, ट्रक वा मालवाहक सवारीको पछाडि चलाउँदा थप दूरी कायम गर्नुहोस् ।
५. घुम्ती र ‘ब्लाइन्ड’ मोडमा धैर्य गरौँ
घुम्ती वा अगाडिको सडक नदेखिने मोडमा आवश्यकता अनुसार हर्न बजाउँदै गति कम गर्नुहोस् । आफ्नो लेन नछोड्नुहोस् । ‘अगाडिबाट सवारी आउँदैन होला’ भन्ने अनुमानमा ओभरटेक गर्नु जीवनकै लागि जोखिम हुन सक्छ ।
६. सवारीको अवस्था समेत जाँचौँ
लामो उकालो–ओरालो यात्रा अघि ब्रेक, टायरको ग्रिप, स्टेयरिङ, लाइट, कुलिङ सिस्टम, ईन्जिन आयल तथा अन्य आवश्यक तरलपदार्थको जाँच गर्नु बुद्धिमानी हुन्छ । विशेषगरी ब्रेकको अवस्था कमजोर भएको सवारीले पहाडी सडकमा यात्रा गर्नु जोखिमपूर्ण हुन्छ ।
उकालो–ओरालो सडकमा गतिभन्दा नियन्त्रण, सीपभन्दा संयमता र हतारभन्दा धैर्य महत्वपूर्ण हुन्छ । गियर र ब्रेकको सही प्रयोग, सुरक्षित दूरी, आफ्नो लेनको अनुशासन र जोखिमपूर्ण ओभरटेकबाट बच्ने बानीले दुर्घटनाको जोखिम घटाउन सक्छ । चालकको केही सेकेन्डको सतर्कताले आफ्नै मात्र होइन, सडकमा हिँड्ने अन्य यात्रु तथा सवारी साधनमा सवार धेरै मानिसको जीवन जोगाउन सक्छ । त्यसैले "हतारले जोखिम बढाउँछ, संयमले यात्रा सुरक्षित बनाउँछ" भन्ने मूल मन्त्रलाई सधैँ आत्मसात गरौँ ।
ट्राफिक नियम जानौ पनि, मानौ पनि ।
प्रहरी वरिष्ठ नायव निरीक्षक
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...