दुर्घटना बढेपछि बल्खु–हेटौँडा रुटमा ताेकियाे सवारी सञ्चालनको समय

काठमाडौं - काठमाडौंको बल्खु हुँदै दक्षिणकाली मार्ग भएर हेटौँडा जाने यात्रुवाहक सवारीसाधनका लागि जिल्ला प्रशासन कार्यालयले नयाँ समयसीमा तोकेको छ । अब यस रुटमा चल्ने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ भने बिहान ५ बजेपछि मात्रै बल्खुबाट छुट्न पाउनेछन् ।

जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयअनुसार यात्रु, चालक र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो । शुक्रबार जारी सूचनामार्फत प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले निर्धारित समयतालिका र सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

प्रशासनका अनुसार पछिल्लो समय काठमाडौं–बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढ्दै गएको र मानवीय क्षतिसमेत हुने क्रम चिन्ताजनक छ । साँघुरो सडक, भिरालो तथा घुम्ती मार्ग, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही, तीव्र गति र रातिको समयमा यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको प्रशासनले जनाएको छ ।

त्यस्तै, चालकको अत्यधिक कार्यबोझ, अनिद्रा तथा मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने गरेको गुनासोलाई पनि दुर्घटनाका सम्भावित कारणका रूपमा औँल्याइएको छ ।

प्रशासनले उक्त रुटमा सञ्चालन हुने सबै यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनको यान्त्रिक अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । साथै, काठमाडौं जिल्लाभित्र पर्ने प्रहरी युनिट र ट्राफिक प्रहरीलाई प्रत्येक यात्रुवाहक सवारीसाधन अनिवार्य जाँच गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न भनिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...