दशैँको अटो बजार अपेक्षाकृत भएन, व्यवसायीमा तिहारको आश : कति गाडी डेलिभरी ?

काठमाडौं - अटो व्यवसायीहरुले अपेक्षा गरे अनुरुपको यो वर्षको दशैँमा सवारी साधनको व्यापार नभएको गुनासो व्यवसायीले गरेका छन् । विगतका हरेक वर्षको दशैमा अटोमोबाइल व्यवसायी उत्साहित हुने गरेका थिए ।

तर यो वर्षको दशैंँमा बाढी पहिरोको कारण नाकामा भएको समस्याले सवारी साधन आयातमा समस्या हुँदा व्यापारमा कमी आएको उनीहरुको भनाई छ ।

यस वर्ष दशैँको अटो बजारप्रति व्यवसायीहरू निकै आशावादी थिए । साउनको अन्त्यमा सम्पन्न नाईमा मोविलिटी एक्स्पो र भदौको दोस्रो साता भृकुटीमण्डपमा आयोजना भएको नाडा अटो शोले नेपाली अटो बजारमा उत्साहको नयाँ सञ्चार गरेको थियो ।

अटो शोमा देखिएको ग्राहकको घुइँचो र उत्साहजनक बुकिङले लामो समयदेखि सुस्ताएको नेपाली अटो बजारले यसपालिको दशैँमा ऐतिहासिक व्यापार गर्ने अपेक्षा गरिएको थियो ।

तर, व्यवसायीहरूको यो उत्साह र ग्राहकको नयाँ गाडी चढ्ने सपनामाथि प्रकृतिको नराम्रो प्रहार पर्‍यो । दशैँको मुखैमा आएका शृंखलाबद्ध बाढी र पहिरोले बजारको सम्पूर्ण आपूर्ति शृङ्खलालाई नै तहसनहस बनाइदियो ।

बाढी–पहिरो र नाका अवरोधले निम्त्याएको संकट
भदौ १० गते भोटेकोशीमा आएको बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीलाई नराम्ररी प्रभावित गर्‍यो भने भदौ १४ गतेदेखि तातोपानी नाका चिनियाँ पक्षले नै बन्द गरिदियो ।

त्यसपछि असोज १० देखि १२ गतेसम्म देशैभर परेको अविरल वर्षाले विपद्को अर्को रूप लियो । यसले बीपी राजमार्ग, पृथ्वी राजमार्ग लगायत देशका प्रमुख सडक सञ्जालहरूलाई क्षतविक्षत मात्र बनाएन, वैकल्पिक नाकाका रूपमा हेरिएको मुस्ताङको कोरला नाकासमेत दुई साताका लागि ठप्प हुन पुग्यो ।

विशेषगरी नेपाली बजारमा अहिले चिनियाँ विद्युतीय सवारी साधन (ईभी) को उच्च दबदबा छ ।

चीनतर्फका सबै नाकाहरू ठप्प हुँदा र सडक सञ्जाल बिच्छेद हुँदा दशैँअघि बजारमा गाडीको चरम अभाव देखियो । हजारौं ग्राहकले गाडी बुकिङ गरेर बसेका थिए, तर बाटो नै नभएपछि गाडी डेलिभरी गर्न सक्ने अवस्था रहेन ।

व्यवसायीका गुनासाः बुकिङ रद्द हुँदाको पीडा
पछिल्लो तीन वर्षदेखि आर्थिक मन्दी र विभिन्न नीतिगत अवरोध झेलिरहेको अटो बजारले यसपालि दशैँमा लय समात्ने अपेक्षा थियो । वर्षभरि हुने कुल व्यापारको करिब ६० प्रतिशत हिस्सा दशैँ र तिहारकै समयमा हुने गर्छ । तर, बाढीपहिरोका कारण व्यापार आधा पनि हुन नसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्र उप्रेती बताउँछन् ।

‘हामीले दशैँका लागि जुन स्तरको व्यापारको अपेक्षा गरेका थियौँ । त्यो हुन सकेन । ग्राहकहरूले दशैँअगावै गाडी चढ्ने सपनासहित बुकिङ गरेका थिए तर, बाटोघाटोको अवस्थाले गर्दा समयमै डेलिभरी दिन नसक्दा धेरै ग्राहकको बुकिङ रद्द समेत हुन पुग्यो ।’ अध्यक्ष उप्रेतीले भने ।

संकटका बीच ३ हजार गाडी डेलिभरी
यति धेरै प्रतिकूलता, बाटोघाटोको भद्रगोल अवस्था र चर्को ढुवानी खर्चका बाबजुद अटो व्यवसायीहरूले हरेस भने खाएनन् । नाडा अटो शोमा बुकिङ गरेका ग्राहकलाई खाली हात नफर्काउने अठोटका साथ उनीहरूले ठूलो संघर्ष गरे ।

सडकको जोखिम देखाउँदै ढुवानीकर्ताहरूले प्रति किलोमिटर २०–२५ रुपैयाँ पर्ने भाडालाई बढाएर दोब्बर–तेब्बरसम्म पुर्‍याएका थिए ।
तर, व्यवसायीहरूले आफ्नो मुनाफालाई भन्दा ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखे । महँगो भाडा तिरेरै भए पनि उनीहरूले दशैँको अवधिमा ३ हजारभन्दा धेरै नयाँ गाडीहरू काठमाडौँ लगायत मोफसलका सहरहरूमा भित्राउन सफल भए ।

कुन ब्रान्डको व्यापार कस्तो रह्यो ?
टाटा
व्यावसायिक र प्यासेन्जर भेहिकलमा आक्रामक मानिएको टाटाले नाडा अटो शोदेखि दशैँसम्म १ हजार १८५ युनिट गाडी डेलिभरी गर्दै नयाँ रेकर्ड बनाएको छ । विशेषगरी पन्च ईभीको माग यति धेरै थियो कि स्टक नै सकियो भने, ’नेक्सन ईभी रिलोडेड’मा पनि ग्राहकको राम्रो आकर्षण देखियो ।

बीवाईडी
नेपाली बजारमा सर्वाधिक रुचाइएको यो ब्रान्डले दशैँको अवसर पारेर करिब ७०० युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ ।

नामी र दिपल
यो समूहले दिपल ब्रान्डका २३० वटा गाडी र नामीका ५०० भन्दा बढी गाडी डेलिभरी गरेको छ ।

ओमोडा, जेको र आइकार
यी तीन ब्रान्डका ३०० भन्दा बढी गाडीहरू दशैँअघि डेलिभरी भएका छन् ।

जीएसी आयोन
कम्पनीले दशैँकै बेला ४० वटा गाडी डेलिभरी गरेको छ ।

अबको आशाः प्रतीक्षा तिहारको
व्यवसायीहरूको अथक प्रयासले ३ हजार गाडी ग्राहकको हातमा पुगे पनि अझै करिब ३ हजार युनिट गाडीहरू चीनसँगका सीमा नाका र बाटैमा अलपत्र अवस्थामा छन् । दशैँमा नयाँ गाडी चढ्न नपाएका ग्राहकहरू अब तिहारको प्रतीक्षामा छन् भने व्यवसायीहरू पनि तिहारसम्ममा रोकिएका गाडीहरू भित्राउने तयारीमा छन् ।

अहिले अवरुद्ध राजमार्गहरू मर्मतसम्भारपछि बिस्तारै सञ्चालनमा आउन थालेका छन् भने नाकामा रोकिएका गाडीहरू पनि नेपाल भित्रिने क्रम सुरु भएको छ । दशैँमा गुमेको व्यापारलाई तिहारले केही हदसम्म पूर्ति गर्नेमा व्यवसायीहरू विश्वस्त देखिन्छन् । सरकारले सीमा नाकाहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न कूटनीतिक पहल गर्नुपर्ने र भन्सार जाँचपास प्रक्रियालाई छिटोछरितो बनाउनुपर्ने उनीहरूको जोडदार माग छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...