युरोपेली कारका तुलनामा चिनियाँ कारमा टचस्क्रिनको बढी प्रयोगले चालकको ध्यान भंग हुने जोखिम

चिनियाँ ब्रान्डका कारमा अत्यधिक टचस्क्रिनको प्रयोगले चालकको ध्यान भंग हुने जोखिम युरोपेली प्रतिस्पर्धीका तुलनामा बढी रहेको एक अध्ययनले देखाएको छ। युरोपको प्रमुख सवारीसाधन सुरक्षा परीक्षण संस्था युरो एनक्यापका अनुसार, चिनियाँ कार निर्माताहरूले गाडीको ड्यासबोर्डमा भौतिक बटनको सट्टा टचस्क्रिनलाई प्राथमिकता दिँदा सामान्य ड्राइभिङ कार्यसमेत जटिल बन्ने गरेको छ।

पछिल्ला वर्षमा कारभित्र प्रयोग हुने टचस्क्रिन प्रविधि ठूलो, छिटो र आधुनिक बन्दै गएको छ। धेरै उत्पादकले गाडीको भित्री भाग आकर्षक देखाउन रेडियोको च्यानल परिवर्तन गर्ने, एसीको तापक्रम मिलाउनेजस्ता सामान्य कामका लागि प्रयोग हुने परम्परागत बटन हटाएर ती सुविधा टचस्क्रिनमा राखेका छन्। तर, आवश्यक नियन्त्रणहरू स्क्रिनभित्रका विभिन्न मेनुमा लुकाउँदा चालकले सडकमा ध्यान दिनुको सट्टा पटक–पटक स्क्रिनमा हेर्नुपर्ने अवस्था सिर्जना भएको छ।

चालक र सडक सुरक्षा विज्ञहरूले लामो समयदेखि ट्याब्लेटजस्ता टचस्क्रिन जटिल र ध्यान भंग गराउने खालका भएको भन्दै आलोचना गर्दै आएका छन्। यही चिन्तालाई सम्बोधन गर्न युरो एनक्यापले यस वर्ष आफ्नो सुरक्षा मूल्यांकन प्रणालीमा नयाँ मापदण्ड लागू गरेको छ। यसअनुसार महत्त्वपूर्ण कार्यका लागि भौतिक नियन्त्रण बटन उपलब्ध नगराउने गाडीको मूल्यांकन अंक घट्न सक्छ, जसले समग्र सुरक्षा रेटिङमा समेत असर पार्न सक्छ।

नयाँ मापदण्डअनुसार टर्न इन्डिकेटर, विन्डस्क्रिन वाइपर तथा वासर, हाजार्ड लाइट, हर्न र आपत्कालीन ईकल (eCall) बटनजस्ता महत्त्वपूर्ण सुविधा एउटै बटन वा भौतिक नियन्त्रणमार्फत सञ्चालन गर्न सकिने हुनुपर्छ। यस्तो व्यवस्था चालकले स्क्रिनका विभिन्न मेनुमा अल्झिनुपर्ने अवस्था घटाउँदै सडकमा ध्यान केन्द्रित गर्न सहयोग पुर्‍याउने उद्देश्यले ल्याइएको हो।

युरो एनक्यापले सार्वजनिक गरेको पछिल्लो मूल्यांकनमा जर्मन ब्रान्ड अउडी, कोरियाली किया र चिनियाँ एक्सपेङका गाडीबीच उल्लेखनीय अन्तर देखिएको छ। संस्थाले अउडी क्यू७, किया ईभी२ र एक्सपेङ एक्स९ को क्याबिन नियन्त्रण प्रणालीको परीक्षण गरेको थियो। मूल्यांकनमा अउडी क्यू७ ले ड्राइभिङ नियन्त्रण प्रयोग गर्न सहज हुने पक्षमा ९० प्रतिशत अंक प्राप्त गरेको छ। यसको ककपिटमा रहेका बटन र स्टक स्पष्ट देखिने, सहज स्थानमा राखिएका र चालकको ध्यान कम भंग हुने गरी प्रयोग गर्न सकिने संस्थाले जनाएको छ।

त्यस्तै, सानो एसयूभी किया ईभी२ ले पनि राम्रो नतिजा प्राप्त गरेको छ। तर, चिनियाँ एक्सपेङ एक्स९ ले भने केन्द्रीय टचस्क्रिनमा अत्यधिक निर्भरता देखाएको भन्दै केवल २० प्रतिशत अंक पाएको छ। युरो एनक्यापका अनुसार, यस्तो डिजाइनले चालकलाई आवश्यक काम गर्न स्क्रिनमा बढी ध्यान दिन बाध्य पार्न सक्छ।

अन्य मोडलको मूल्यांकनमा पनि यस्तै प्रवृत्ति देखिएको छ। बीएमडब्ल्यू आईएक्स३ ले ड्राइभिङ नियन्त्रणको सहजतामा पूर्ण १०० प्रतिशत अंक प्राप्त गरेको छ भने कुप्रा राभलले ८० प्रतिशत पाएको छ। यसको विपरीत, चिनियाँ जिकर ७जीटी र आयन यूटीले २०–२० प्रतिशत अंक प्राप्त गरेका छन्। लिपमोटर बी०५ ले भने शून्य अंक पाएको छ।

युरो एनक्यापका कार्यक्रम निर्देशक डा. एलेड विलियम्सका अनुसार, कारका सबै नियन्त्रण टचस्क्रिनमा राख्ने प्रवृत्तिले उपभोक्ता र सुरक्षा विज्ञ दुवैलाई चिन्तित बनाएको छ। उनले अउडी र कियाले भौतिक बटनको विवेकपूर्ण प्रयोगमार्फत सुरक्षा र सहजतालाई प्राथमिकता दिएको उल्लेख गर्दै अन्य उत्पादकलाई पनि यस्तै रणनीति अपनाउन सुझाव दिएका छन्।

टचस्क्रिनको प्रयोगले चालकको ध्यान कति समयसम्म सडकबाट हटाउँछ भन्ने विषयमा पनि परीक्षण गरिएको छ। What Car? पत्रिकाले २१ वटा कार ब्रान्डका इन्फोटेनमेन्ट प्रणाली परीक्षण गर्दा केही गाडीमा रेडियोको च्यानल परिवर्तन गर्न मात्रै ८१ सेकेन्डसम्म लागेको पाइएको थियो। पत्रिकाको मूल्यांकनमा होन्डा एचआर–भी र सुजुकी ई–भिटाराका प्रणालीले सबैभन्दा कमजोर प्रदर्शन गर्दै एक–एक स्टार प्राप्त गरेका थिए। सर्वेक्षणमा सहभागीमध्ये ८५ प्रतिशत चालकले कारमा अहिलेको तुलनामा बढी भौतिक बटन हुनुपर्ने धारणा राखेका थिए।

यी नतिजाले आधुनिक कारमा प्रविधि र आकर्षक डिजाइनसँगै चालकको सहजता तथा सडक सुरक्षालाई पनि प्राथमिकता दिनुपर्ने देखाउँछन्। टचस्क्रिनले धेरै सुविधा एउटै ठाउँमा उपलब्ध गराए पनि अत्यावश्यक नियन्त्रणका लागि सहजै भेटिने भौतिक बटन राख्नु चालकको ध्यान सडकमा केन्द्रित गराउने महत्त्वपूर्ण उपाय हुन सक्छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...