ब्राजिलमा फोर्डलाई विस्थापित गर्दै बिवाइडीको दबदबा
काठमाडौं–विश्वव्यापी अटोमोबाइल बजारमा चिनियाँ ईभी निर्माता बिवाइडीले...
बेलायतमा गरिएको सन् २०२६ को विश्वसनीयता सर्वेक्षणमा एमजी एस५ ईभी सबैभन्दा भरपर्दो सानो पारिवारिक विद्युतीय एसयूभी घोषित भएको छ। ‘ह्वाट कार?’ ले सार्वजनिक गरेको सर्वेक्षणमा एमजीको अर्को विद्युतीय मोडल एमजी५ इलेक्ट्रिक इस्टेटले पनि सबै विद्युतीय कारमध्ये तेस्रो स्थान हासिल गरेको छ।
यो नतिजासँगै एमजी ब्रान्ड समग्र उत्पादकको सूचीमा ३० कम्पनीमध्ये नवौँ स्थानमा पुगेको छ। कम्पनीले ९२ प्रतिशत विश्वसनीयता स्कोर प्राप्त गरेको छ। अघिल्लो वर्षको ८८.९ प्रतिशत स्कोरबाट सुधार गर्दै एमजीले यस वर्ष सर्वेक्षणमा सबैभन्दा धेरै सुधार गर्ने ब्रान्डको पहिचानसमेत बनाएको छ।
‘ह्वाट कार?’ को सन् २०२६ को विश्वसनीयता सर्वेक्षण ३९ हजार ३३२ जना बेलायती सवारीधनीबाट प्राप्त प्रतिक्रियामा आधारित छ। यसमा ३० ब्रान्डका २२५ मोडल समेटिएका छन्। सर्वेक्षणले सवारीसाधनमा देखिएका समस्या, मर्मतमा लाग्ने खर्च र मर्मतका कारण गाडी कति समयसम्म प्रयोग गर्न नसकिने अवस्था आयो भन्ने विषयलाई मूल्यांकन गर्छ।
यसले गाडीमा समस्या आयो कि आएन भन्ने मात्र नभई समस्या आएपछि त्यसलाई समाधान गर्न कति खर्च र समय लाग्यो भन्ने पक्षलाई पनि महत्त्व दिएको छ। त्यसैले सर्वेक्षणको नतिजाले सवारीसाधनको प्राविधिक गुणस्तरसँगै बिक्रीपछिको सेवा र ग्राहकको स्वामित्व अनुभवलाई समेत प्रतिबिम्बित गर्छ।
एमजीका अनुसार बेलायतमा बिक्रीपछिको सेवा सुधार गर्न स्पेयर पार्ट्स वितरण, प्राविधिक जनशक्तिको तालिम र डिलरलाई उपलब्ध गराइने प्राविधिक सहयोगमा लगानी गरिएको छ। यस्ता प्रयासले गाडी मर्मत गर्न लाग्ने समय घटाउन र ग्राहकलाई थप सहज सेवा दिन सहयोग पु-याउने कम्पनीको भनाइ छ।
एमजी एस५ ईभी नेपाली बजारमा पनि उपलब्ध विद्युतीय एसयूभी हो। कम्पनीको वेबसाइटअनुसार यसको ४९ किलोवाट आवर र ६२ किलोवाट आवर ब्याट्री विकल्प उपलब्ध छन्। ब्याट्रीअनुसार यसको डब्लूएलटीपी रेन्ज ३४० किलोमिटरदेखि ४३० किलोमिटरसम्म रहेको उल्लेख छ।
एमजीएस५ ईभीमा रियर ह्विल ड्राइभ प्रणाली, स्वतन्त्र रियर सस्पेन्सन र पाँच जनासम्म बस्न मिल्ने व्यवस्था छ। यसमा ९९ किलोवाट क्षमताको विद्युतीय मोटर र २५० एनएम टर्क उपलब्ध रहेको कम्पनीको प्राविधिक विवरणमा उल्लेख छ। यसको बुट क्षमता ४५३ लिटर छ, जसले पारिवारिक प्रयोगका लागि सामान राख्ने पर्याप्त ठाउँ उपलब्ध गराउँछ।
नेपालमा यसको प्रारम्भिक मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेको आधिकारिक वेबसाइटमा उल्लेख छ। यद्यपि, भेरियन्ट र ब्याट्री क्षमताअनुसार मूल्य फरक पर्छ। यसको सबैभन्दा माथिल्लो भेरियन्ट अर्थात ६२ किलोवाट आवर ब्याट्रीयुक्त गाडीको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ छ ।
समग्रमा, एमजीएस५ ईभीले बेलायतमा पाएको उपलब्धिले विद्युतीय एसयूभी बजारमा एमजीको विश्वसनीयताको छविलाई बलियो बनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...