बाढीपहिरोले चीनतर्फका तीनै नाका अवरुद्ध, अटो बजार पूर्ण रूपमा प्रभावित

काठमाडौं - दसैंको मुखमा चीनतर्फका तीनै नाका अवरुद्ध हुँदा आयात–निर्यात बन्द भएको छ। तीन दिनको अविरल वर्षापछि बेनी–जोमसोम खण्डमा क्षति पुगेपछि कोरलासहित तीनै नाका अवरुद्ध भएका हुन्। यसअघि १० भदौको भोटेकोशी बाढीले केरुङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि बन्द नै थियो।

नेपालको १४ प्रतिशत व्यापार हुने चीनसँगको सडक यातायात बन्द भएपछि दसैंको बेला सामानको भाउ बढ्ने देखिएको छ। चालु आर्थिक वर्षको दुई महिना (साउन–भदौ) मा चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँ बराबरको सामान आयात र २९ करोड ३३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स, लत्ताकपडा, मेसिनरी र विशेष गरी विद्युतीय सवारीसाधन आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका हुन्।

चीनसँगको नाका अवरुद्ध हुँदा अटो बजार पनि पूर्ण रूपमा प्रभावित बनेको नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताए।‘दसैंको समयमा बुकिङ गरेका ग्राहकलाई पनि सवारी दिन नसकिने अवस्था भयो, दसैं–तिहारमा नयाँ सवारी चढ्ने ग्राहकको चाहना पूरा नहुने जोखिम छ,’ उनले भने, ‘वर्षभरको कुल व्यापारमध्ये ३५ देखि ४५ प्रतिशतसम्म चाडबाडको समयमा हुन्थ्यो, यसपालि राजस्व पनि प्रभावित बन्ने भयो।’

केरुङ र तातोपानी बन्द हुँदा कोरला नाकाबाट सवारी आयात गरे पनि व्यवसायीलाई ५० हजारदेखि १ लाखसम्म बढी भार थपिने गरेको थियो। ‘अब यो पनि बन्द भएका कारण व्यापार निकै घट्नेछ, नेपालमा आयात हुने सवारीसाधनमध्ये ७० प्रतिशतभन्दा बढी विद्युतीय मोटर रहने गरेका छन्। चीनबाट आउने हिस्सा ठूलो छ,’ उनले भने।

तीन वटै नाका अवरुद्ध भएपछि चीनसँग स्थलमार्गबाट हुने व्यापारसँगै सीमापार आवागमनमा समेत असर परेको छ। वर्षाले कालीगण्डकी करिडोर खण्डमा धेरै क्षति पुगेको छ। पर्वतको मालढुंगा–बेनी–जोमसोम सडकमा ५० भन्दा बढी साना–ठूला पहिरो खसेको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जनाए। ‘बाढीपहिरोका कारण आफ्नै पालिकाभित्रका नागरिक पनि ओहोरदोहोर गर्न पाएनन्,’ उनले भने, ‘तीन दिनदेखि विद्युत् अवरोध हुँदा सूचना पनि समयमा पाउन गाह्रो भयो, सोचेभन्दा धेरै क्षति भयो।’ जिल्ला प्रशासन कार्यालय म्याग्दीले ८ देखि ११ असोजसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म यातायात सञ्चालनमा रोक लगाएको थियो।

सडक बन्द भएपछि कोरला नाकाबाट हुने चीनसँगको व्यापारिक गतिविधि पनि ठप्प हुन पुगेको छ। नाकासम्म सामान लिन पुगेका कन्टेनर रोकिएका छन्। कोरला भन्सारको यार्डमा मात्र दुई सयभन्दा बढी कन्टेनर थन्किएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडाल बताउँछन्। ‘अहिले दिनको ५० वटा कन्टेनरको जाँच पास भइरहेको थियो,’ उनले भने, ‘अब तलबाट पनि कन्टेनर जान पाएनन्, उता भएका पनि रोकिए।’

ती कन्टेनरमा दसैं तथा अन्य चाडपर्वका लागि ल्याइएका सामग्रीसँगै दैनिक उपभोग्य वस्तु र विभिन्न व्यापारिक सामान रहेको व्यवसायीले बताएका छन्। पूर्ण रूपमा सडक सञ्चालनमा आउन समय लाग्ने देखिएकाले त्यसको प्रत्यक्ष असर बजारमा देखिने नेपाल ट्रक कन्टेनर व्यवसायी संघका उपाध्यक्ष प्रह्लाद थापाले बताए। ‘चाडबाडको मुखमै तीन वटै नाका बन्द हुँदा बजारमा अभाव र महँगी बढ्नेछ,’ उनले भने, ‘यसको प्रत्यक्ष असर उपभोक्तामाथि पर्ने निश्चित छ।’ व्यवसायीले सामान ल्याउन नपाउँदा मुलुककै अर्थतन्त्रमा यसको प्रभाव पर्ने उनको भनाइ छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आपूर्ति सहज बनाउन प्रयास गर्नुपर्ने बताए। रसुवा, तातोपानी र कोरला नाका बन्द भएकाले चीनसँगको व्यापारिक सम्बन्ध टुटे पनि त्यो अल्पकालीन भएको नेपाल हिमालपार वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधर बताउँछन्। ‘नेपालपट्टिको बाटो नराम्रो भएकाले सम्भावित जोखिम नियन्त्रण गर्न चीनले अस्थायी रूपमा तातोपानी नाका बन्द गरिदिएको हो, वर्षा रोकिएपछि एक/दुई सातामा यो नाका खोल्ने कुरा भएको छ,’ उनले भने, ‘कोरला नाका बन्द भएको होइन, सञ्चालनमै छ। वर्षा र हिमपातका कारण नेपालतर्फको बाटो अवरुद्ध हुन पुगेको हो।’

भोटेकोशी बाढीले क्षति पुर्‍याएपछि रसुवा नाका तत्काल पुनर्निर्माण सम्भव छैन। यद्यपि कोरला नाकाको अवरोध छिट्टै खुल्ने भएकाले बजारमा सामग्रीको आपूर्तिमा खासै असर नगर्ने तुलाधरले बताए। ‘बजारमा माग न्यून छ, व्यवसायी स्टक क्लियरेन्समा लागेकाले समग्र मूल्य बढ्ने सम्भावना छैन, यद्यपि केही वस्तु विशेषको हकमा भने मूल्य बढ्न सक्छ,’ उनले भने।

यही बहानामा बजारमा मूल्य बढ्ने सम्भावना भएकाले बजार अनुगमन बढाउनुपर्ने उपभोक्तावादी बताउँछन्। ‘चाडबाडका बेला यसै पनि आपूर्ति घटाएर मूल्य बढाउने क्रम विगतमा देखिएको हो,’ उपभोक्ताकर्मी माधव तिमल्सिना भन्छन्, ‘यस पटक नाका नै अवरुद्ध हुँदा बहाना थपिएको छ, त्यसैले बजार अनुगमन बढाउनुपर्छ।’

सडकमार्गबाट चीन जोड्ने तातोपानी काठमाडौंबाट सबैभन्दा नजिकको नाका हो। काठमाडौं–खासा दूरी करिब १ सय २४ र काठमाडौं–रसुवागढी दूरी करिब १ सय ६४ किलोमिटर छ। खासाबाट काठमाडौंसम्म सामान आइपुग्न सामान्य अवस्थामा कम्तीमा १२ देखि १५ दिन लाग्ने व्यवसायी बताउँछन्। सिगात्से पनि केरुङभन्दा तातोपानीतर्फ करिब ३० किलोमिटर नजिक पर्छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...