चाडपर्वलक्षित विभागको निर्णय : अनधिकृत टिकट बिक्रीमा कडाइ, लामो दूरीमा दुई चालक अनिवार्य

काठमाडौँ - आगामी दसैँ, तिहारलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सेवालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन १५ बुँदे निर्णय गरेको छ । विभागले चाडपर्वको मौका छोपी जथाभावी तथा अनधिकृत रूपमा टिकट काट्ने बिचौलिया र काउन्टरहरूमाथि कडा निगरानी तथा नियन्त्रण गर्ने भएको छ ।

विभागले जारी गरेको निर्णयअनुसार अब मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीमा अग्रिम टिकट बुकिङलाई निरन्तरता दिइनेछ । अनधिकृत काउन्टर, परिचयपत्र तथा तोकिएको पोशाक नभएका व्यक्तिहरूबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिने विभागले स्पष्ट पारेको छ ।

अनलाइन बुकिङ र परिचयपत्र अनिवार्य
विभागले यातायात व्यवसायीहरूलाई टिकट बिक्रीमा यथाशक्य अनलाइन बुकिङको व्यवस्था मिलाउन निर्देशन दिएको छ । टिकट काट्ने कर्मचारीका लागि अनिवार्य परिचयपत्र र पोशाकको व्यवस्था गर्नुपर्नेछ। साथै, व्यवसायीले यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्न पाउनेछन् ।

यात्रुहरूलाई पनि आधिकारिक काउन्टर तथा परिचयपत्रवाहक कर्मचारीबाट मात्र टिकट लिन र टिकट काटेर मात्रै यात्रा गर्न अनुरोध गरिएको छ । मादक पदार्थ सेवनगरी यात्रा नगर्न समेत यात्रुलाई आग्रह गरिएको छ ।

लामो दूरीमा दुई चालक र यान्त्रिक परीक्षण अनिवार्य
दुर्घटना न्यूनीकरणका लागि विभागले लामो बाटोमा चल्ने यात्रुवाहक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राखी आलोपालो सवारी चलाउने व्यवस्था गर्न निर्देशन दिएको छ । लामो दूरीका सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नुअघि अनिवार्य रूपमा यान्त्रिक अवस्था चेकजाँच गर्नुपर्नेछ ।

चालकहरूको स्वास्थ्य तथा मापसे र लागुपदार्थ सेवन परीक्षण देशभरका प्रमुख स्थानहरूमा कडाइका साथ गरिनेछ । परीक्षणका क्रममा चालकले नसालु पदार्थ सेवन गरेको पाइएमा तत्काल व्यवसायीले अर्को चालकको व्यवस्था गर्नुपर्नेछ । विभागले १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई परिचालक वा अन्य कुनै पनि काममा नलगाउन सचेत गराएको छ ।

रुट परमिट खुला र सडक मर्मतको तयारी
चाडपर्वको अवधिमा यात्रुको चापलाई ध्यानमा राखी सवारीसाधनको रुट परमिट खुला गर्ने, अग्रिम टिकट बुकिङको मिति तोक्ने तथा ठूला सवारीसाधनको आवागमन व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरी छिट्टै सूचना जारी गरिने विभागले जनाएको छ ।

चाडपर्वमा सवारीको चाप बढ्ने मुख्य सडक तथा राजमार्गहरूको निरन्तर निरीक्षण गरी खाल्डाखुल्डी मर्मत गर्न, पहिरो नियन्त्रण गर्न र सडक जाम हुन नदिने वातावरण बनाउन विभागले सडक विभागलाई अनुरोध गरेको छ । यात्रुहरूलाई खाना–खाजा खुवाउने स्थानहरूमा नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न र भीडभाड हुन नदिन पनि निर्देशन दिइएको छ ।

काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने सवारीसाधनहरूको प्रभावकारी अनुगमनका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्यीय प्रालि तथा उपभोक्ता हित सम्बद्ध संस्थाहरूसँग समन्वय गरी संयुक्त अनुगमन टोली परिचालन गरिने विभागले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...