नाडा अटो शो २०२६ मा बैंकहरुको आकर्षक अटो लोन, कुन बैंकको कति ?

काठमाडौं - काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा विभिन्न बैंकहरुले अटो लोनमा आकर्षक अफर ल्याएका छन् । सवारी साधन किन्नका लागि एकै पटक सबै रकम तिर्नु भन्दा किस्तामा तिर्न सजिलो हुने र यसका लागि बैंकहरुले ऋण उपलब्ध गराउने गरेका छन् । यसै तथ्यलाई मध्यनजर गरी अटो शोमा बैंकहरुले आफ्ना स्टल राखेर त्यही अनुसार अफर समेत उपलब्ध गराउने गरेका छन् ।

नेपाल बैंकले केही समय पहिले देखि उपलब्ध गराइरहेको ५ प्रतिशत दरको अटो लोनलाई अझै घटाएर अटो शोको अवसरमा ४.९४ प्रतिशत मात्र कायम गरेको छ । यसका लागि सेवा शुल्क ०.५ प्रतिशत र ५ वा ७ वर्ष सम्मको कर्जा अवधि जस्ता विभिन्न सुविधा उपलब्ध छन् ।

अटो लोनमा कृषि विकास बैंकले सबैभन्दा कम ४.६६ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ। बैंकले ७ वर्षसम्मको अवधिका लागि कर्जा उपलब्ध गराउनेछ। साथै, सेवा शुल्क र ब्याजदर प्रिमियममा ३३.३३ प्रतिशत छुट दिने योजना ल्याएको छ। ईभी सवारी खरिद गर्ने ग्राहकका लागि कृषि विकास बैंकले सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकले ५.०२ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ। फ्लोटिङ रेटमा उपलब्ध हुने यो कर्जाको अवधि ७ वर्षसम्म रहनेछ। बैंकले अधिकतम १ करोड रुपैयाँसम्म अटो लोन उपलब्ध गराउने जनाएको छ। सेवा शुल्क सामान्य अवस्थामा ०.७५ प्रतिशत रहेकामा अटो शो अवधिमा ०.५० प्रतिशत कायम गरिएको छ।

नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ। बैंकले २० प्रतिशत डाउन पेमेन्टमै कर्जा सुविधा उपलब्ध गराउने योजना ल्याएको छ। योजनाअनुसार ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट र २० प्रतिशत क्रेडिट कार्डबाट भुक्तानी गर्नेछन् भने बाँकी ६० प्रतिशत रकम बैंकले कर्जाका रूपमा उपलब्ध गराउनेछ।

एनआईसी एसिया बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ७ वर्षसम्मका लागि अटो लोन दिने भएको छ। अधिकांश बैंकले फ्लोटिङ ब्याजदरमा कर्जा दिइरहेका बेला एनआईसी एसियाले स्थिर ब्याजदरको विकल्प पनि ल्याएको हो। बैंकले फ्लोटिङ रेटमा समेत अटो लोन उपलब्ध गराउँदै आएको जनाएको छ। ईभी सवारीका लागि भने ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिने बैंकको भनाइ छ।

ग्लोबल आईएमई बैंकले ईभी सवारीका लागि ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ। बैंकले स्थिर ब्याजदरमा पनि कर्जा उपलब्ध गराउनेछ। ७ वर्ष अवधिको कर्जामा पहिलो ३ वर्षका लागि ५.१७ प्रतिशत ब्याजदर कायम हुनेछ। त्यसपछिको ४ वर्षमा सम्बन्धित अवधिको बेस रेटमा २ प्रतिशत जोडेर ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ।

माछापुच्छ्रे बैंकले ५.४५ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ। नाडा अटो शोलाई लक्षित गरी ल्याइएको यो योजनामा कर्जाको अवधि १० वर्षसम्म राखिएको छ। अन्य अधिकांश बैंकले ७ वर्षसम्मको कर्जा अवधि राखेका बेला माछापुच्छ्रेले लामो अवधि रोजेको हो। कर्जाको सेवा शुल्क ०.५० प्रतिशत रहेकामा अटो शो अवधिभर ०.२५ प्रतिशत छुट दिइएको बैंकले जनाएको छ।

त्यस्तै, प्रभु बैंकले ५.४४ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ। बैंकका अनुसार आधारदरमा अधिकतम ०.५० प्रतिशत प्रिमियम थप हुनेछ।

त्यस्तै लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले क्रमशः ५.४९ प्रतिशत, ५.२१ प्रतिशत, ५.५४ प्रतिशत, ५.९६ प्रतिशत र ५.१३ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएका छन्। यी बैंकहरूले ७ वर्षसम्मको अवधिका लागि फ्लोटिङ ब्याजदरमा कर्जा उपलब्ध गराउनेछन्। सेवा शुल्क ०.५० प्रतिशत रहने जनाइएको छ।

नाडा अटो शोमा सरकारी तथा निजी क्षेत्रका गरी १३ वटा वाणिज्य बैंक सहभागी छन्। यी बैंकमध्ये अटो लोनको ब्याजदर ४.६६ प्रतिशतदेखि ५.९९ प्रतिशतसम्म रहेको छ। बैंकअनुसार कर्जाको अवधि, ब्याजदरको प्रकृति र अन्य शुल्क भने फरक–फरक छन्।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...