ई.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ शोरुम तथा सर्भिस सेन्टर विस्तार
काठमाडौँ–प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स...
काठमाडौं– चिनियाँ राष्ट्रपति चढ्ने कार ब्रान्ड नेपाल आएको छ । चीनमा ‘उच्च सम्मान र मायालु’ कार ब्रान्डका रुपमा स्थापित भएको हङसी ब्रान्ड नेपाल आएको हो । यस ब्रान्डलाई चिनियाँ रोल्स रोयसका नामले समेत चिन्ने गरिन्छ ।
नेपाली बजारमा विद्युतीय सवारीको माग तथा बिक्री उल्लेख्य रुपमा बढ्दै गएसँगै नयाँ ब्रान्ड आउने क्रममा अर्को उत्कृष्ट ब्रान्ड आएको हो । चिनियाँ भाषामा हङसीको शाब्दिक अर्थ रातो झण्डा भन्ने हुन्छ । चिनियाँ राष्ट्रपतिले चढ्ने कार ब्रान्ड हङसी ब्रान्डका विद्युतीय एसयूभी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा औपचारिक रुपमा आउने र प्रदर्शनीमा राखिने छ ।
चिनियाँ सवारी उत्पादक कम्पनी एफएडब्लू ग्रुपअन्तर्गतको लक्जरी कार ब्रान्ड हङसी एडभान्स्ड अटोमोबाइल प्रालिले नेपाल ल्याएको हो । सरकारी स्वामित्वमा रहेको एफएडब्लू ग्रुपले ठूला कमर्सियल सवारी उत्पादन गर्दै आएको छ भने हङसी ब्रान्डमार्फत प्रिमियम कार उत्पादन हुँदै आएको छ ।
एडभान्स्ड अटोमोबाइलले केही समयअघि हङसी ब्रान्डसँग आधिकारिक बिक्रेताको सम्झौता गरेको थियो । सम्झौतासँगै एडभान्स्ड अटोमोबाइलले नाइमामा राख्नका लागि हङसीका विद्युतीय कार आयात प्रक्रियासमेत सुरु गरिसकेको छ ।
हङसीले आईसीई इन्जिन, हाइब्रिड र बीईभीगरी तीनवटै पावर ट्रेनका कार उत्पादन गर्दै आएको छ । एडमान्स्ड अटोमोबाइलले यसअघि फ्रेन्च ब्रान्ड रेनोका सवारी भित्र्याएर बिक्री गर्दै आएको छ ।
कम्पनीले सुरुवाती चरणमा हङसी ब्रान्डका एक वा दुई मोडलका विद्युतीय कार ल्याउने तयारी गरेको छ । हङसीको विद्युतीय एसयूभीमा कुन क्षमताको ब्याट्री र मोटरमा आउने भन्ने कुरा खुलेको छैन । नेपाल आउने हङसीको विद्युतीय एसयूभीको मूल्य भने ६० देखि ६५ लाख रुपैयाँबाट सुरु हुने अनुमान गरिएको छ ।
हङसी ब्रान्डअन्तर्गत ४ वटा विद्युतीय सवारी मोडल उपलब्ध रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ । जसअनुसार ई एचएस ९ एसयूभी, ई क्यूएम ५ र ईएच७ सेडान तथा ई एचएस ७ एसयूभी रहेको छ । यी मध्य सुरुमा ई एचएस ९ र ई एचएस ४ मोडल नेपाल आउने भएका छन् ।
हङसी ब्रान्डबारे : ‘कम्युनिष्ट विरासत’देखि ग्लोबल ईभी बजारसम्म
कुनै समय केवल चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता र विदेशी राष्ट्रप्रमुखको स्वागतमा मात्र सिमित रहने हङसी कार आज विश्वकै तीव्र गतिमा विस्तारित लक्जरी र इलेक्ट्रिक सवारी ब्रान्डमध्ये एक बनेको छ । चिनियाँ भाषामा रातो झण्डा अर्थ लाग्ने यो ब्रान्डले आफ्नो ६ दशक लामो इतिहासमा राजनीतिक शक्तिको प्रतीकदेखि व्यावसायिक बजारको नेतृत्वसम्मको यात्रा तय गरेको छ ।
हङसीको स्थापना १ अगस्ट १९५८ मा चीनको पहिलो अटोमोबाइल उत्पादक कम्पनी (एफएडब्लू)द्वारा भएको हो । यसलाई चीनको सबैभन्दा पुरानो कार ब्रान्ड मध्यको एक मानिन्छ ।
तत्कालिन चिनियाँ नेता माओत्सेतुङले चीनको आफ्नै अन्तर्राष्ट्रिय स्तरको लक्जरी कार हुनुपर्ने इच्छा व्यक्त गरेपछि यसको निर्माण सुरु भएको थियो । यसको पहिलो मोडेल ‘हङसी सीए७२’ थियो । यसको अगाडिको ग्रिल चिनियाँ परम्परागत हाते पंखाको बुट्टाबाट प्रेरित छ, त्यो हङसीको मुख्य पहिचान हो ।
सन् १९६० र ७० को दशकमा यो गाडी विशिष्ट चिनियाँ अधिकारी र चीन भ्रमणमा आउने उच्च विदेशी अधिकारीहरु आउँदा प्रयोग हुने गरेको थियो । हङसी पूर्ण रूपमा चिनियाँ सरकारको स्वामित्वमा रहेको ब्रान्ड हो । यसको व्यवस्थापन रणनीतिलगायत बनाउने काम चीनको सरकारी स्वामित्वको अटोमोटिभ जायन्ट एफएडब्लू ग्रुपले गर्दै आएको छ । हङसीको सम्पूर्ण अनुसन्धान र विकास (आरएन्डडी) तथा प्रविधिमा एफएडब्लूले सिधै लगानी गर्छ ।
सन् २०१८ भन्दा अघिसम्म हङसी मुख्य रूपमा सरकारी खरिदमा बढी निर्भर थियो । यसपछि भने कम्पनीले नयाँ हङसी रणनीति ल्याएपछि व्यावसायिक र निजी ग्राहकहरूलाई पनि गाडी सहज रुपमा बिक्री गर्दै आएको छ । २०२५ को तथ्यांक अनुसार हङसीले घरेलु र विश्व बजारमा ४ लाख ६० हजार वटाभन्दा बढी कार बिक्री गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ११.७ प्रतिशतको वृद्धि हो ।
आईसीई इन्जिन कार बनाउँदै आएको हङसीले केही वर्षयता विद्युतीय कार उत्पादनमा केन्द्रित हुन थालेको छ । गत वर्षको हङसीको कुल बिक्रीमध्ये करिब १ लाख ४९ हजार कार न्यु इनर्जी भेहिकल रहेका छन् ।
चीनको प्रिमियम र लक्जरी सेगमेन्टमा हङसीले जर्मन स्थापित ब्रान्डहरू बीएमडब्लू, मर्सिडिजलगायतसँग कडा प्रतिस्पर्धा गरिरहेको छ । सरकारी र कर्पाेरेट क्षेत्रमा भने हङसीको बजार हिस्सा निकै बलियो छ ।
हङसीले आफ्ना कार चीनमा मात्र सीमित नराखेर विश्वव्यापी रूपमा प्रिमियम र विशेष गरी ‘लक्जरी इलेक्ट्रिक ब्रान्ड’का रूपमा स्थापित गरिरहेको छ । हालसम्म यो ब्रान्ड युरोप, मध्यपूर्व र दक्षिणपूर्वी एसियाका प्रमुख बजारहरूमा बलियो रूपमा निर्यात भइरहेको छ । हङसीले नर्वे, नेदरल्याण्ड्स, बेल्जियम र पोल्याण्डजस्ता देशहरूबाट युरोपमा आफ्नो यात्रा सुरु गरेको थियो ।
हङसीको फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी हङसी ई एचएस९ युरोपमा निकै लोकप्रिय छ । यो कारलाई रोल्स रोयस जस्तै देखिने लुक्सका कारण ‘चिनियाँ रोल्स रोयस’ पनि भनिदै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...