नेपालमा कार किन्दा ग्राहकले गर्ने ५ मुख्य गल्तीहरु

काठमाडौं–नेपालमा नयाँ वा सेकेन्ड ह्यान्ड कार खरिद गर्नुलाई एक ठूलो वित्तीय र व्यक्तिगत निर्णय मानिन्छ । उच्च कर नीति, कठिन भौगोलिक बनोट र सीमित पूर्वाधारका कारण नेपालमा गाडीको मूल्य र मर्मत खर्च निकै महँगो पर्न जान्छ । यस्तो अवस्थामा पर्याप्त अध्ययन बिना कार किन्दा धेरै ग्राहकहरू पछि पछुताउने गर्छन् ।

नेपालमा कार किन्दा ग्राहकहरूले सामान्यतया गर्ने ५ वटा मुख्य गल्तीहरू र तिनको विस्तृत विश्लेषण तल प्रस्तुत गरिएको छः

बजेट निर्धारण गर्दा लुकेका खर्चहरू बेवास्ता गर्नु
धेरैजसो ग्राहकले कारको शोरुम मूल्य वा अनरोड मूल्यलाई मात्र आफ्नो कुल खर्च मान्ने गल्ती गर्छन् । गाडी किनेपछि वार्षिक सवारी कर, एसेसरिज र मोडिफिकेसन र इन्सुरेन्स जस्ता लगत्तै र दीर्घकालीन रूपमा धेरै अन्य खर्चहरू थपिन्छन् ।

यस्तो अवस्थामा, सुरुमै आफ्नो सम्पूर्ण बचत गाडीको डाउनपेमेन्टमा खर्च गर्दा पछि कर, बीमा र मर्मत खर्च धान्न गाह्रो हुन्छ र ग्राहक ऋणको दलदलमा फस्छन् ।

गाडीको रिसेल भ्यालु र ब्रान्डको उपस्थितिमा ध्यान नदिनु
बजारमा उपलब्ध धेरै ब्रान्डका कारमा केही ब्रान्ड निकै लोकप्रिय छन् भने केही नयाँ वा कम चलेका छन् । कतिपय ग्राहकहरू आकर्षक फिचर वा सस्तो मूल्य देखेर बलियो नेटवर्क नभएका ब्रान्डका कारमा आकर्षित समेत हुने गर्छन् ।

पार्ट्सकाे उपलब्धता र रिसेल भ्यालुका बारेमा जानकारी नलिई कार खरिद गर्दा पछि पछुताउनु पर्ने अवस्था निम्तिन सक्छ ।

आफ्नो आवश्यकता भन्दा ट्रेन्ड वा देखासिकीको पछि लाग्नु
नेपालमा हाल ग्राउन्ड क्लियरेन्स राम्रो भएका एसयूभी वा आधुनिक इलेक्ट्रिक गाडीको ठूलो ट्रेन्ड छ । तर, आफ्नो दैनिक आवश्यकता र प्रयोगको मूल्याङ्कन नगरी गाडी किन्दा गल्ती हुन सक्छ ।

यस्तो अवस्थामा, बढीजसो यात्रा विकट पहाडी क्षेत्र वा लामो दुरीमा हुन्छ र जहाँ चार्जिङ स्टेसनको अभाव छ भने देखासिकीमा ईभी किन्नु भन्दा इन्धनबाट चल्ने कार खरिद गर्नु उपयुक्त हुन्छ ।

त्यर्सैगरी, काठमाडौँ जस्तो ट्राफिक जाम र साँघुरो गल्ली भएको सहरमा धाक देखाउनकै लागि भनेर ठूलो एसयूभी किन्दा पार्किङ र माइलेजको ठूलो समस्या आइपर्छ ।

अपर्याप्त टेस्ट ड्राइभ र प्राविधिक अनुसन्धान
कार किन्ने धेरैजसो ग्राहकहरु यसको बाहिरी लुक्स, भित्री स्क्रिन र एम्बियन्ट लाइटिङ जस्ता सतही कुराहरू हेरेर प्रभावित हुने गर्छन । लामो दुरीमा टेष्ट ड्राइभ नगरी, शोरुमको वरिपरि ५ मिनेट मात्र गाडी गुडाएर टेस्ट ड्राइभ टुङ्ग्याउने हतार समेत हुन्छ । यसले गर्दा गाडीको वास्तविक सस्पेन्सन, भित्री स्पेस, कति `ब्लाइन्ड स्पट´ हरू छन् र नेपालका खाल्डाखुल्डी सडकमा गाडी कस्तो चल्छ भन्ने थाहा हुँदैन ।

सेकेन्ड ह्यान्ड कार किन्दा त झन् गाडीको कन्डिसन, दुर्घटनाको इतिहास वा इन्जिनको अवस्था मेकानिकलाई नदेखाई किन्दा पछि इन्जिन नै फेर्नुपर्ने जस्ता ठूला गल्तीहरू समेत हुन्छन् ।

फाइनान्सिङ र ब्याजदरको खेल नबुझ्नु
कार किन्ने अधिकांश ग्राहकले बैंक लोन लिने भएपनि गाडी किन्ने हतारोमा वित्तीय पक्षमा ध्यान दिँदैनन् । बैंकिङ प्रणालीमा तरलताको उतारचढावका कारण कार किन्दा १०% रहेको ब्याजदर १–२ वर्षमै बढेर १४–१५% सम्म पुग्न सक्छ, जसले मासिक किस्ता ह्वात्तै बढाउँछ ।

लोन लिँदा शोरुमले जुन बैंकसँग टाई–अप गरेका छन्, त्यहीँबाट सोझै लोन लिने गर्दा अन्य बैंकहरूले दिइरहेको सस्तो ब्याजदर वा प्रोसेसिङ फी छुटको अफर समेत गुम्न सक्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...