काठमाडौं प्रवेशका लागि बजेटमा वैकल्पिक सडकको व्यवस्था गर्न विज्ञको यस्तो छ सुझाव

यसपालिको बजेटमा नेपालको नयाँ सरकारले काठमाडौं प्रवेशका लागि वैकल्पिक, भरपर्दो र दीर्घकालीन सडक मार्ग निर्माणलाई उच्च प्राथमिकता दिनु अत्यन्त आवश्यक छ। हालको अवस्थामा काठमाडौंदेखि पूर्वी नेपाल जाने अधिकांश बस तथा ट्रकहरू नागढुंगा–मुग्लिङ–नारायणगढ हुँदै हेटौंडा, पथलैया, बर्दिबास भएर पूर्व जान बाध्य छन्। यसले करिब ३५० किलोमिटर अतिरिक्त दूरी थपिरहेको छ, जसले समय, इन्धन, यातायात लागत तथा राष्ट्रिय अर्थतन्त्रमा ठूलो भार पारिरहेको छ। यस समस्याको व्यावहारिक समाधान हुन सक्छ, पूर्ण सडक भित्ता संरक्षण सहित कन्तिराजपथको थोरै स्तरोन्नति।

हामीले कन्तिराजपथको ललितपुरको टिकाभैरव देखि हेटौंडाको चुन्डाँडासम्मको ६७ किलोमिटर खण्डमा १६८ वटा जोखिमपूर्ण सडक भित्ता क्षेत्रहरू पहिचान गरेका छौ। यदि सरकारले सडकको औसत प्रतिमिटर ९८ हजार रुपैयाँका दरले सडक भित्ता संरक्षण, सडक स्थिरीकरण तथा आवश्यक संरचना निर्माण गर्ने योजना बनायो भने, कुल लागत करिब ६.६ अर्ब रुपैयाँ (VAT बाहेक) लाग्ने अनुमान पनि गरिएको छ । यो रकम ठूलो देखिए पनि, वर्तमान अवस्थामा काठमाडौंदेखि पूर्व जाने करिब १२०० बस र ट्रकहरूले दैनिक रूपमा अत्यधिक इन्धन, समय र सञ्चालन खर्चमा ठूलो क्षति बेहोरिरहेका छन्। प्रारम्भिक अनुमान अनुसार, यी सवारीसाधनहरूले मात्रै वार्षिक करिब ७ अर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी भोगिरहेका छन्। अर्थात्, केवल एक वर्षको अतिरिक्त डिजेल खर्चले कान्ति राजपथका अधिकांश समस्याग्रस्त क्षेत्रहरूको संरक्षण तथा मर्मत सम्भव छ र काठमाडौं महेन्द्र राजमार्ग र मदन भण्डारी राजमार्ग सित छोटो दुरीमा जोडिन्छ।

हाल दक्षिणतर्फको महेन्द्र राजमार्ग पनि विभिन्न स्थानमा निर्माणाधीन अवस्थामा रहेको छ। यदि कन्तिराजपथ व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन सकियो भने, मदन भण्डारी राजमार्गको समेत प्रयोग बढछ! त्यसले निर्माण भैरहेको महेन्द्र राजमार्गको ट्राफिक चाप कम गर्न सहयोग पुग्नेछ र निर्माण कार्यलाई पनि सहज बनाउनेछ। साथै, मदन भण्डारी राजमार्गलाई समेत प्रभावकारी रूपमा उपयोग गर्न सकिनेछ। फास्ट ट्र्याक अझै केही वर्षभित्र पूर्ण सञ्चालनमा आउने सम्भावना कम देखिन्छ। बीपी राजमार्गको अवस्था ठूला बस तथा ट्रकका लागि अत्यन्त चुनौतीपूर्ण छ। यस्तो अवस्थामा, काठमाडौं–पूर्व नेपाल आवागमनका लागि कन्तिराजपथ नै सबैभन्दा व्यवहारिक र रणनीतिक विकल्पका रूपमा देखिन्छ।

यदि कान्तिराजपथलाई सडक भित्ता सुरक्षित, केहि ठाउमा चौडा र भरपर्दो बनाइयो भने, वीरगञ्ज भन्सारबाट काठमाडौं आउने मालवाहक सवारीहरू समेत यही मार्ग प्रयोग गर्न सक्नेछन्। यसले भारत तथा तेस्रो मुलुकबाट आयात हुने वस्तुको ढुवानी लागत उल्लेखनीय रूपमा घटाउनेछ। साथै, भविष्यमा फास्ट ट्र्याक सञ्चालनमा आएपछि पनि फास्ट ट्र्याकमा समस्या परेको बेला फास्ट ट्र्याक को सहायक मार्गका रूपमा कान्तिराजपथ महत्वपूर्ण रहनेछ।

मैले यो कुरा पुराना दलको भौतिक योजनाका सबै जसो मन्त्रिहरु र सचिबहरुलाई भनेको थिए! गत ८ वर्ष देखि यो रुटको लागि अनुरोध गरेको छु! तर अचम्म, राज्य को वार्षिक झण्डै ५-६ अरब रुपैया जोगाउन सक्ने यो सडक मर्मत सधै तिरस्कार गरिएको छ! निहुँ सजिलो छः पहिरो मात्र छ, हुदैन, बेकारको सडक, आदि आदि कुरा गरेर ओझेलमा पारिएको छ। अहिले मर्मत का केहि काम शुरु त भएको छ तर पर्याप्त छैन।

त्यसैले, मेरो विनम्र आग्रह छ, नेपाल सरकारले कन्तिराजपथलाई राष्ट्रिय प्राथमिकताको परियोजनाका रूपमा अघि बढाओस्। आगामी आर्थिक वर्ष २०८३/८४ देखि कार्य प्रारम्भ गरी असोज २०८३ मा निर्माण सुरु गरेर जेठ २०८४ भित्र मुख्य सुधार कार्य सम्पन्न गर्ने लक्ष्य राख्न सकिन्छ। यसले नेपाली प्राविधिक क्षमता विकास, रोजगारी सिर्जना, निर्माण गुणस्तर सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्नेछ। त्यस्तै हेटौडा-चापागाउ यात्रा समय २ घण्टा जति मात्र हुनेछ।

अब समय आएको छ, काठमाडौं प्रवेशका लागि नयाँ, भरपर्दो, छिटो तयार हुने र आर्थिक रूपमा व्यवहारिक कन्तिराजपथलाई तत्काल निर्माण गर्ने। कृपया दूरदृष्टिका साथ सोचौं। जाबो पहिरो सित नडराउ! यो सडकले तत्काल राज्यको ठुलो आर्थिक नोक्सानी रोक्छ र हामी नेपाली प्रविधिकहरु नै यसको लागि सम्पुर्ण सहयोग गर्न तयार छौ।

  • डा. रञ्जनकुमार दाहाल

डा. दाहाल भू-गर्भ इन्जिनियर तथा टीयूका प्राध्यापक हुनुहुन्छ ।

सम्बन्धित समाचारहरू

नागढुंगा-नौबिसे सुरुङको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’

नागढुंगा-नौबिसे सुरुङको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’

काठमाडौँ । नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको आज सोमबार...

आर्थिक वृद्धिदर ५.१ प्रतिशत हासिल, यातायात तथा भण्डारण क्षेत्रमा १४.२ % वृद्धिदर

आर्थिक वृद्धिदर ५.१ प्रतिशत हासिल, यातायात तथा भण्डारण क्षेत्रमा १४.२ % वृद्धिदर

काठमाडौँ –  चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा आर्थिक वृद्धि...

मुस्ताङको चक्रपथ निर्माण अन्तिम चरणमा

मुस्ताङको चक्रपथ निर्माण अन्तिम चरणमा

मुस्ताङ – घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव पाँच...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...