सुरक्षित दूरी : नदेखिने समयले जोगाउने जीवन

नेपालका सडकहरूमा बढ्दो सवारी दुर्घटनाको एउटा गम्भीर तर कम चर्चा हुने कारण हो- सवारी साधन चलाउँदा सुरक्षित दूरी कायम नगर्नु । धेरै चालकलाई गति नियन्त्रण, ट्राफिक संकेत र लेन प्रयोगबारे सामान्य जानकारी भए पनि, अगाडि गुडिरहेको सवारीसँग कति दूरी राख्ने ? भन्ने विषयमा स्पष्ट ज्ञान नहुनु दुर्घटनाको मुख्य कारण बन्दै गएको छ । वास्तविकतामा सुरक्षित दूरी भनेको नियमको औपचारिकता होइन, मानव जीवनको सुरक्षा कवच हो ।

        धेरैजसो चालक भन्छन्, “खतरा देख्नासाथ म तुरुन्त ब्रेक हान्छु ।” तर विज्ञान र व्यवहार दुवैले यो सोच गलत सावित गर्छन् । किनभने ब्रेक हान्नु अघि नै Reaction Time (प्रतिक्रिया समय) बितिसकेको हुन्छ । यही नदेखिने समय नै दुर्घटना र सुरक्षाबीचको निर्णायक क्षण हो ।

        Reaction Time तीन चरणको योगफल हो - Reflex Time + Pedal Transfer Time + Pedal Application Time

पहिलो, Reflex Time भनेको खतरा देखिएपछि चालकले “अब ब्रेक हान्नुपर्छ” भनेर बुझ्ने समय हो । आँखाले देख्ने, दिमागले बुझ्ने र निर्णय लिनेसम्म झन्डै १ सेकेन्ड जति समय लाग्छ । यो समयमा सवारी रोकिने होइन, उही गतिमा अगाडि बढिरहन्छ । त्यसैले, यही सानो समयले पनि धेरै मिटर दूरी पार गरिसकेको हुन्छ ।

दोस्रो, Pedal Transfer Time भनेको एक्सेलेरेटरबाट खुट्टा हटाएर ब्रेक पेडलमा लैजान लाग्ने समय हो । यो काम एकछिनको जस्तो लागे पनि, यही छोटो समयमा सवारी रोकिँदैन, बरु उही गतिमा अगाडि धेरै मिटर पुगिसकेको हुन्छ ।

तेस्रो, Pedal Application Time - ब्रेक पेडल पूर्ण रूपमा थिचिने र ब्रेक प्रणालीले प्रभाव देखाउन सुरु गर्ने समय हो । यसपछि मात्र सवारीको गति घट्न थाल्छ ।

        यसरी हेर्दा, चालकले “ब्रेक हानेको” अनुभूति हुनुअघि नै सवारीले पर्याप्त दूरी पार गरिसकेको हुन्छ । यदि अगाडिको सवारीसँग सुरक्षित दूरी छैन भने, दुर्घटना रोक्ने मौका नै रहँदैन ।

        यही कारणले सुरक्षित दूरी कायम गर्नु अनिवार्य हुन्छ । सामान्य अवस्थामा चालकले “३ सेकेन्ड नियम” अपनाउनुपर्छ । अगाडिको सवारीले कुनै स्थिर बिन्दु पार गरेपछि, आफूले कम्तीमा ३ सेकेन्डपछि मात्र त्यही बिन्दु पार गर्नुपर्छ । यो दूरीले Reaction Time का सबै चरणलाई सुरक्षित रूपमा पूरा गर्न मद्दत गर्छ । तर सबै अवस्था समान हुँदैनन् । वर्षा, कुहिरो, हिलो वा चिप्लो सडकमा दूरी दोब्बर राख्नुपर्छ । रातको समयमा दृष्टि कमजोर हुने भएकाले अतिरिक्त दूरी आवश्यक हुन्छ ।

बस, ट्रक, टिप्परजस्ता भारी सवारी पछाडि चल्दा अगाडिको दृश्य नदेखिने भएकाले अझ बढी दूरी अनिवार्य हुन्छ ।

ओरालो सडकमा गति आफैँ बढ्ने हुँदा दूरी घटाउनु घातक सावित हुन सक्छ ।

दुर्घटनाका सामान्य कारणमध्ये अगाडिको सवारीसँग टाँसिएर चलाउनु, ओभरटेकको हतार, ट्राफिक जाममा लापरवाही, मोबाइल प्रयोग र ध्यान विचलित हुनु प्रमुख छन् । यी सबै अवस्थाहरूमा सुरक्षित दूरी नहुनु भनेको दुर्घटनालाई निम्तो दिनु हो । त्यसैले,

  • गति बढ्दै जाँदा दूरी पनि बढाउनुहोस् ।
  • “ म तुरुन्त ब्रेक हान्छु” भन्ने भ्रम त्याग्नुहोस् ।
  • खराब मौसम र खराब सडकमा दूरी कहिल्यै कम नगर्नुहोस् ।
  • सुरक्षित दूरीलाई कमजोरी होइन, जिम्मेवार चालकको पहिचान ठान्नुहोस् ।

        सडकमा हुने अधिकांश दुर्घटनाहरु साना-साना लापरवाहीहरूको परिणाम हुन् । सडकमा गुडिरहँदा हामीले बिर्सनु हुँदैन कि घरमा कसैले हाम्रो बाटो हेरेर बसिरहेको छ । यो केही सेकेन्डको धैर्यले, आफ्नो जीवन, परिवारको भविष्य र सडकमा रहेका अरू निर्दोष मानिसहरूको प्राण जोगाउन सक्छ । त्यसैले, दूरी कायम राख्नु भनेको सम्बन्ध कायम राख्नु हो । ब्रेक लगाउन ढिलो हुनुभन्दा गति कम गर्नु सधैं बुद्धिमानी हुन्छ ।

ट्राफिक नियम जानौँ पनि, मानौँ पनि ।

–प्र.ब.ना.नि. बिष्णु थापा

 प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक

सम्बन्धित समाचारहरू

अन्डरग्राउन्ड पार्किङलाई पार्किङमै प्रयोग गर्न महानगरपालिकाको निर्देशन

अन्डरग्राउन्ड पार्किङलाई पार्किङमै प्रयोग गर्न महानगरपालिकाको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाको शहरी व्यवस्थापन विभागले...

ट्रायल दिँदा ठोक्किए पनि हातमा लाइसेन्स

ट्रायल दिँदा ठोक्किए पनि हातमा लाइसेन्स

काठमाडाैं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा कहीँकतै छोए वा...

पठाओले ल्यायो दशैं महोत्सव : राइडरले टीभीएस अपाचे बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका

पठाओले ल्यायो दशैं महोत्सव : राइडरले टीभीएस अपाचे बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका

काठमाडौं – राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...