नासा नेपालले पायो अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ एफआईएमको प्रतिष्ठित अवार्ड
नेपालमा मोटरस्पोर्ट्सको नियामक निकाय नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा...
एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप ओलम्पिक शैलीमा आयोजना हुने एसिया प्यासिफिक क्षेत्रको सबैभन्दा ठूलो मोटरस्पोर्ट्सको प्रतियोगिता हो । सन् २०२३ मा मलेसियाको सेपाङ अन्तर्राष्ट्रिय सर्किटबाट सुरु भएको यस च्याम्पियनसिपको दोस्रो संस्करण २६–२८ सेप्टेम्बर, २०२५ मा श्रीलङ्काको कोलम्बो स्थित श्रीलङ्का कार्टिङ सर्किटमा आयोजना हुँदैछ ।
युवा प्रतिभा र उदाउँदै गरेका मोटरस्पोर्ट्स राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अनुभव र अवसर प्रदान गर्ने लक्ष्य लिएको यस प्रतियोगितामा एसिया प्यासिफिक क्षेत्रका विभिन्न देशका राष्ट्रिय टिमले अटो–जिमखाना, क्रस–कार अटोक्रस, कार्टिङ स्प्रिन्ट, कार्टिङ एन्डुरेन्स, कार्टिङ स्लालम र ई–स्पोर्ट्स जस्ता विधाहरूमा प्रतिस्पर्धा गर्नेछन् ।
अन्तर्राष्ट्रिय अटोमोवाइल्स फेडेरेसन (एफआईए)को वार्षिक क्यालेण्डरमा इन्टरकन्टिनेन्टल गेम्सको मान्यताप्राप्त यस प्रतियोगितामा अटो–जिमखाना, क्रस–कार अटोक्रस तथा ई–स्पोर्ट्स विधामा नेपालबाट आशिष भारती, राजकुमार कार्की, बिपास्ना तामाङ, जय प्रताप मास्के, रबिन सुनवार र रोशन अधिकारी गरी छ खेलाडी सहभागी हुदै छन् ।
राजकुमार कार्की (प्रतियोगी, एसिया अटो जिमखाना च्यामपियनसिप)
नुवाकोटका २८ वर्षिय राजकुमार कार्की नेपालका चर्चित बाइक रेसर हुन् । उनी एक दशक भन्दा बढी समयदेखि यस खेलमा आबद्ध छन् ।
औपचारिक रुपमा सन् २०१७ मा गोठाटारमा भएको मोटो फ्ल्याट ट्रयाक रेसिङबाट प्रतियोगिता सुरु गरेका उनले त्यहाँ बेस्ट राइडरको अवार्ड जितेका थिए । त्यसपछि भने उनको खेलयात्राले गति लियो । टु ह्विलर्स रेसिङका चर्चित खेलाडी उनी १० पटकभन्दा बढीका पोडियम होल्डर हुन्, जुन नेपालको लागि कीर्तिमान समेत हो ।

यसअघि बाइक रेसिङका लागि थाइल्याण्ड, भारत लगायत देशमा गएर अन्तर्राष्ट्रिय इभेन्टमा भाग लिएका उनले सन् २०१९ र २०२३ मा एफआईएम एसिया कप अफ रोड रेसिङमा समेत सहभागिता जनाएका थिए ।
सन् २०१५ मा सातदोबाटोमा भएको रेसमाण्डु हेरेका राजकुमार त्यसलाई नै देखेर यस खेलतर्फ आकर्षित भएको बताउछन् । ‘एक दिन म पनि यस्तै रेसर बन्छु भनेर लागेको थियो र एक वर्षपछि नै मैले यसैमा करियर सुरु गरेँ ,’ २०१७ देखि उनी लगातार रेसिङमै फोकस भएर लागे ।
सन् २०२३ मा पोखरामा भएको रेसिङमा उनको हात भाँचिएपछि उनी फोर ह्विलर्समा लागे । गत वर्ष चन्द्रागिरीमा भएको नेसनल अटोक्रस च्याम्पियनसिप र बनेपामा भएको बागमती अटो जिमखाना च्याम्पियनसिप दुवैमा उनी दोस्रो भए ।
नेपालमा पनि रेसिङ ट्रयाकहरु र ट्रेनिङ भयो भने नेपाली राइडरहरुले पनि अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्न सक्ने उनको भनाइ छ । नेपाली मोटरस्पोर्ट्स खेलाडीहरुलाई पनि निजी क्षेत्रले प्रायोजन गरेमा राम्रो हुने उनले बताए ।
कोलम्बोमा हुने इभेन्टमा आफ्नो बेस्ट प्रदर्शन दिने राजकुमार बताउँछन् ।
रबिन सुनवार ( प्रतियोगी, अटोक्रस क्रस कार )
बुढानीलकण्ठका २७ वर्षिय रबिन (रेहान) सुनवारले सन् २०२२ मा मुलपानीमा भएको टाइम अट्याक च्यालेन्जबाट मोटरस्पोर्ट्समा यात्रा सुरु गरेका थिए । उनले सन् २०२४ मा चन्द्रागिरीमा भएको अटोक्रसमा चौथो स्थान हात पारेका थिए ।
त्यस्तै सन् २०२५ को माउण्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभलमा अटोक्रसमा दोस्रो स्थान हात पारेका उनी केही समय अघि बनेपामा भएको बागमती अटो जिमखानाको फाइनल चरणमा पुगेका थिए ।

सानै उमेरदेखि रेसमा रुचि राख्ने रबिनले पहिलो पटक अन्तर्राष्ट्रिय इभेन्टमा सहभागिता जनाउन लागेका हुन् । यसका लागि उनी निकै उत्साहित छन् ।
‘१४–१५ वर्ष हुँदा नै मैले कार चलाउन थालेको थिएँ । पहिलो पटक अन्तर्राष्ट्रिय इभेन्टमा सहभागिता जनाउन लाग्दा एकदमै खुशी छु । कोलम्बोमा राम्रो प्रदर्शन गर्दै देशको झण्डा फहराउने लक्ष्य छ । नासा नेपाल र सरकारबाट पनि अझ धेरै सहयोग भयो भने र राम्रो ट्रेनिङको अवसर पायो भने हामीले पनि बेस्ट दिन सक्छौँ,’ उनले भने ।
जय प्रताप मास्के ( प्रतियोगी, अटोक्रस क्रस कार )
काठमाडौं बौद्धका २९ वर्षिय जय प्रताप मास्के खासमा सिम रेसिङका खेलाडी हुन् । उनले सन् २०२३ मा सिङ्गापुरमा आयोजित ओलम्पिक ई–स्पोर्ट्स सिरिजमा नेपालका एक मात्र खेलाडीको रुपमा प्रतिनिधित्व गरिसकेका छन् ।
सानै उमेरदेखि नै उनले कार चलाउने रुचि राख्न थालेका थिए । कक्षा ३ मा पढ्दा नै उनले काकाको संगत लागेर पहिलो पटक कार चलाए । त्यसपछि यसमा उनको रुचि झन् बढ्यो र १४ वर्षको उमेर देखि गाडी नै चलाउन थाले । उनी भन्छन्, ‘सानो देखि यसमा रुचि थियो । टिभीमा पनि रेस हेर्ने गरेको भएर थाहा भयो ।’

सन् २०२१ मा नेसनल कार्टिङ स्लालोमबाट रेसिङ सुरु गरेका उनीे पहिलो प्रतिस्पर्धामा नै चौथो भएका थिए, जहाँबाट उनको राष्ट्रिय खेलाडीको पहिचान बन्यो । त्यसपछि सन् २०२३ मा भएको टाइम अट्याक च्यालेन्जमा भाग लिई गाडी रेसिङमा पनि प्रवेश गरे । गत वर्षहरुमा भएको नेपाल अटोक्रस च्याम्पियनसिप चन्द्रागिरी र नेसनल अटोजिमखाना च्याम्पियनसिप चितवनमा भने उनको रिजल्ट उत्साहजनक रहेन । गत वर्ष भएको माउण्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभलमा उनी तेस्रो भएका थिए ।
सन् २०२३ मा सिंगापुरमा भएको ओलम्पिक ई–स्पोर्ट्समा सिम रेसिङमा उनी २०औं भएका थिए । नेपालबाट ओलम्पिक स्पोर्ट्स सिरिजमा सहभागी हुने उनी पहिलो र एक मात्र खेलाडी हुन् । त्यो क्षण आफ्नो लागि ऐतिहासिक भएको जय बताउँछन्, जुन नेपाली मोटरस्पोर्ट्सको लागि समेत ऐतिहासिक माइलस्टोन हो ।
कोलम्बोमा हुने अटोक्रस फम्र्याटको क्रसकार रेसमा उनले भाग लिनेछन् । क्रस कार इभेन्ट विश्वमै नौलो प्रतिस्पर्धा भएकोले यसमा नेपाली खेलाडीको पनि राम्रो सम्भावना रहेको विश्वास रहेको उनको भनाइ छ ।
उचित र नियमित तालिम तथा व्यवस्थित रेसिङ सर्किटको अभाव भएको नेपालको अटोमोबाइल क्षेत्र, सरकारी निकाय र नासा नेपालले यस तर्पm ध्यान दिने हो भने नेपाली ड्राइभरहरु विश्व स्तरिय इभेन्टमा समेत टक्कर दिन सक्ने उनको विश्वास छ ।
उनी आफै नेपालमा सिम रेसिङको व्यवसाय पनि गर्छन् र भविष्यमा अन्तर्राष्ट्रिय स्तरको ट्रेनिङ लिने, प्रो–ड्राइभर बन्ने र ट्रेनर बन्ने लक्ष्य रहेको बताउँछन् ।
बिपास्ना तामाङ (प्रतियोगी, एसिया अटो जिमखाना च्यम्पियनसिप)
चाँगुनारायण भक्तपुरकी २७ वर्षिया बिपास्ना तामाङ इभेन्ट होस्ट हुँदै मोटरस्पोर्ट्समा लागेकी हुन् । मिडिया पर्सन रहेकी बिपास्ना सुरुमा मोटरस्पोर्ट्स स्टन्टका विभिन्न इभेन्टहरुमा होस्ट गर्थिन् ।
उनलाई सानैदेखि नै मोटरबाइक, कार रेसिङहरुमा रुचि थियो । उनले कक्षा ८ मा पढ्दा नै बाइक सिकिन् भने त्यसपछि कार सिकिन् ।

केही समयअघि भएको बागमती अटो जिमखाना च्याम्पियनसिप नै उनको पहिलो राष्ट्रिय स्तरको इभेन्ट हो, जहाँ उनी दोसो भएकी थिइन् । नेपालकी चर्चित रेसर वर्षा बस्नेत प्रथम हुँदा बिपास्ना दोस्रो भएकी थिइन् । तर वर्षाले व्यक्तिगत कारणले एसिया प्यासिफिक च्याम्पियनसिपमा सहभागी नहुने भएपछि बिपास्नाले सहभागी हुने अवसर पाएकी हुन् ।
‘नयाँ खेलाडीलाई पनि अवसर दिनको लागि वर्षा दिदीले पनि मलाई नै जाउँ भनेर प्रोत्साहन गरेकोमा उहाँलाई धेरै धन्यवाद,’ बिपास्नाले भनिन् ।
सन् २०१७–१८ मा बाइक स्टन्ट शोमा होस्ट बनेकी बिपास्ना अहिले त्यही खेलमा खेलाडी बन्नु शौभाग्य मात्र नभएर यही खेलप्रतिको रुचिले पनि उनलाई यहाँसम्म पुर्याएको हो ।
‘मलाई पनि कुनै दिन अन्तर्राष्ट्रिय रेसिङ खेल्छु भन्ने सपना थियो । अहिले त्यो पूरा हुन लाग्दा उत्साहित छु,’ उनले भनिन् ।
साथी संगम श्रेष्ठ मार्फत बागमती अटो जिमखाना बारे थाहा पाएपछि त्यसमा सहभागिता जनाएकी थिइन् । जित्ने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रिएकी उनले छनोट चरणमा पहिलो स्थान हात पारिन् । तर, अन्तिम चरणमा वर्षासँग थोरै समयले पछि परेकी थिइन् ।
मोटोरस्पोर्ट्समा सरकारको लगानी कम रहेको र यस किसिमको प्रतिस्पर्धामा आफैँ खर्च व्यवस्थापन गर्नु धेरैलाई गाह्रो पर्ने बिपास्नाले बताइन् । यस सहभागिताको लागि निजी क्षेत्रबाट सहयोग हुने अपेक्षा रहेको उनी बताउँछिन् । सरकारबाट पाउने सपोर्ट अनुसार नै नेपाली खेलाडीको प्रदर्शन देखिने उनले बताइन् ।
निजी क्षेत्रले अटो शो जस्तामा लगानी गर्ने तर खेलाडीको लागि रेसिङ ट्रयाकहरु बनाउने र प्रायोजन गर्ने काम भने अहिलेसम्म खासै हुन नसकेको र सम्बन्धित निकायले यो काम गर्न सके राम्रो हुने उनको धारणा छ ।
आशिष भारती (प्रतियोगी, एसिया अटो जिमखाना च्यामपियनसिप)
ललितपुरका ३१ वर्षिय आशिष (रोनी) भारती फोर ह्विलर्स रेसिङमा नेपालका उत्कृष्ट खेलाडी हुन् । यस अघि मलेसियामा भएको एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा पनि आशिष सहभागी भएका थिए ।
सन् २०११ मा फिलिपिन्सिमा मेकानकिल इन्जिनियरिङ अध्ययनको क्रममा उनको मोटर स्पोर्ट्सतर्फ आकर्षण बढ्यो । त्यहाँ ‘पेट्रोल हेड्स’ साथीहरूले उनलाई मोटरस्पोर्ट्स र कार कल्चरसँग जोडे । त्यही सिलसिलामा उनले फिलिपिनो अंकल इनरिके म्यागनो र सौन मेनेसिसको प्रशिक्षणमा रेसिङबारे थप सिक्न र बुझ्न पाए ।

नेपाल फर्केपछि २०१७ मा फक्सवागन अटो जिमखाना प्रतिस्पर्धामा सहभागी भई नेपाली मोटरस्पोर्ट्समा प्रवेश गरेका उनले अटोमोबाइलकै क्षेत्रमा काम गर्ने भएकाले टेस्ट ड्राइभ मार्फत थ्रोटल र स्टेयरिङ कन्ट्रोल लगायत सीप सिके ।
भारत र थाइल्यान्डमा २०१८, इन्डोेसियामा २०१९ र मलेसियामा २०२३ मा भएका अन्तर्राष्ट्रिय स्तरको अटो जिमखाना प्रतियोगितामा उनले भाग लिएका छन् । राष्ट्रिय प्रतियोगिताहरूमा भने अटो जिमखाना चितवन २०२३, टाइम अट्याक च्यालेन्ज २०२२, नेसनल अटोक्रस २०२४ र माउन्ट एभरेष्ट मोटरस्पोर्ट्स फेस्टिभल २०२५ मा उपाधि जितेका छन् ।
पूर्वाधारको अभावले श्रीलङ्का तयारीमा कठिनाई भए पनि, दैनिक ड्राइभिङले उनको भेइकल ह्यान्डलिङ सम्बन्धी ज्ञानमा ठूलो योगदान पु¥याएको छ ।
उनको रमाइलो भनाइ छ, ‘म कार नै खान, पिउन र सुत्न सक्छु — यो मेरा लागि जीवनशैली हो ।’
रोशन अधिकारी ( प्रतियोगी, ई–स्पोर्टस्– आई रेसिङ )
कास्कीका २५ वर्षीय रोशन अधिकारीले आफ्नो मोटरस्पोर्ट्स यात्रा सन् २०१८ मा भारतको कोयम्बटुरमा फर्मुला फोर्डमार्फत सुरु गरेका हुन् । ट्रर्याकमा रेसिङसँगै उनले ई–स्पोर्ट्स तर्फ रुचि बढाउँदै सन् २०२२ देखि अष्ट्रेलियाका स्थानीय इभेन्टहरुमा प्रतिस्पर्धा गर्दै आएका छन् ।
हाल सिड्नी मोटरस्पोर्ट क्लबका अधिकृत समेत भएकाले उनलाई अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्स समुदायसँग नजिक हुन मद्दत गरेको छ ।

पहिलो पटक एसिया–प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप जस्तो अफिसियल इभेन्टमा सहभागी हुन लागेका उनले श्रीलङ्कामा हुने प्रतियोगितालाई आफ्नो करियरमा ठूलो अवसरका रूपमा लिएका छन् ।
उनले भने ‘भर्चुअल रियलिटी र वास्तविक ट्रयाक दुबैमा निरन्तर प्रगति गर्दै नेपालको झण्डा अन्तर्राष्ट्रिय स्तरमा फहराउने मेरो लक्ष्य हो ।’
हाल अष्ट्रेलियामा बसोबास गर्ने रोशन विभिन्न ई–स्पोर्टस् प्रतियोगितामा भाग लिएर राम्रो प्रदर्शनी गर्दै आएका छन् र श्रीलङ्का आउने अन्तर्राष्ट्रिय खेलाडीहरुलाई टक्कर दिन दैनिक अभ्यास गर्दै छन् ।
एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्यापियनसिपका टिम म्यानेजर तथा मार्सल र ट्रेनिङ कमिसनका सचिव आशिष रौनियार यो टिम सबै च्याम्पियनहरुले बनेको र त्यही अनुसारको प्राक्टिस पनि गर्ने बताए । उनी भन्छन् ‘विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर सबै खेलाडी आउनु भएको हो । हाम्रो नासा नेपालले उहाँहरुलाई सक्दो सहयोग गर्नेछ । हाम्रा खेलाडीहरुले श्रीलङ्कामा पक्कै नै राम्रो प्रदर्शन गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ ।’
लगभग डेढ दशक अगाडिबाट मात्रै नेपालमा शुरु भएको संस्थागत मोटरस्पोर्ट्स आज नेपाली खेलकुद क्षेत्रकै एउटा महत्वपूर्ण अंग वन्न पुगेको छ । साहसिक खेलकुदको रुपमा आफूलाई पृथक पहिचान दिन सफल मोटरस्पोर्ट्सका नेपाली इभेन्टमा अटोक्रस, अटो जिमखाना, टीडीएस र्याली र कार्टिङ्ग फोर–ह्विलर्ससँग सम्वन्धित छन् । मोटो जिमखाना, फ्ल्याट रेसिङ, मोटोक्रस, मोटो–इन्डुरो, रोड रेसिङ र स्टन्ट लगायतका टु–ह्विलर्सका पपुलर इभेन्ट हुन ।
नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईका अनुसार ‘सन् २००८ मा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)को स्थापना पश्चात नेपाली मोटरस्पोर्ट्सका पारखीहरुलाई ट्रयाकमा उभ्याउन शुरु भयो । सन् २०११ को डिसेम्वरमा नासा नेपालले अन्तर्राष्ट्रिय अटोमोबाइल्स फेडरेसन (एफआईए) र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआईएम) को सदस्यता लिएपछि भने नेपाली ड्राइभर र राइडरको अन्तार्राष्ट्रिय रेसिङ यात्रा शुरु भएको हो । हालसम्म पचासौ नेपाली ड्राइभर र राइडरले एसियाली र विश्वस्तरका प्रतिस्पर्धामा भाग लिएका छन्, तर ४ वटा इभेन्टमा मात्र पोडियम पुग्ने अवसर मिलेको छ । अब त्यो क्रमले गति लेला भन्ने अपेक्षा गर्न साकिन्छ ।’
नेपालमा मोटरस्पोर्ट्सको नियामक निकाय नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा...
यही अक्टोवर २३ देखि २७ मा स्पेनको भ्यालेन्सियामा आयोजना हुने एफआईए...
काठमाडौं – आज जुन ५ अर्थात विश्व वातावरण दिवस हो । यस वर्षको विश्व वातावरण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...