चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण, केक काटेर खुसी साटे
काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा...
ललितपुर महानगरपालिका भित्रका मुख्य सडक चोकहरूमा जडान गरिएको कृत्रिम बौद्धिकता (एआई) आधारित ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ ले ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याएको छ। यस प्रणालीको प्रयोगसँगै ट्राफिक प्रहरीले सडकमा उभिएर सिठी फुक्ने र हात हल्लाउने जस्ता कामबाट राहत पाएको छ भने सवारी दुर्घटनाको दर समेत घटेको छ।
जावलाखेल, पुलचोक, दमकल लगायतका व्यस्त चोकहरूमा भेइकल डिटेक्टर प्रणाली सहितको स्मार्ट ट्राफिक लाइट जडान गरिएको छ। यो प्रणालीले सवारीको चाप विश्लेषण गरेर कुन दिशातर्फ कति समयसम्म हरियो वा रातो बत्ती देखाउने भन्ने निर्णय स्वतः गर्छ।
ललितपुर महानगर प्रहरी बल प्रमुख सीताराम हाछेथु भन्छन्, ‘पहिले मन्त्री वा विशिष्ट व्यक्तिको सवारी देख्नेबित्तिकै ट्राफिकले बाटो खुलाइदिनुपथ्र्यो, चाहे रातो बत्ती नै किन नहोस्। अहिले स्मार्ट प्रणालीले सबैलाई समान व्यवहार गर्न थालेपछि मन्त्रीहरू पनि रातो बत्तीमा रोकिन थालेका छन्।’
हाल जावलाखेलका ३ स्थान, पुल्चोकका २ स्थान, हरिहर भवनको १ स्थान, पुल्चोक पेट्रोल पम्प अगाडि १ स्थान र कुपण्डोल १ स्थान गरी ८ स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गरिएको हाछेथुले बताए । २४सै घण्टा चल्ने, सबैलाई समान व्यवहार गर्ने र इन्टेलिजेन्ट भएकाले यी ट्राफिक लाइट महत्वपूर्ण भएको उनको भनाइ छ ।
उनका अनुसार अधिकतम ३० देखि ४० सेकेन्डमै बत्ती परिवर्तन हुने भएकाले सवारीचालक र पैदलयात्रीलाई लामो समय पर्खनु नपर्ने र यात्रामा सहजता भएको छ। कार्यालय समयमा काठमाडौंतर्फ जाने सवारीका लागि पनि एक मिनेटभन्दा बढी समय रोक्नु नपर्ने गरी प्रणाली सेट गरिएको जानकारी गराइएको छ।
महानगरले हाल आठ स्थानमा स्मार्ट लाइट जडान गरिसकेको छ भने आगामी महिनाहरूमा ग्वार्को, बल्खु, सातदोबाटो लगायतका तीन स्थानमा थप जडानको तयारी भइरहेको छ।
साथै, ट्राफिक लाइटसँगै जडान गरिएका भेइकल डिटेक्टरहरूले सवारीसाधनको संख्या र विवरण संकलन गरी तत्काल सर्भरमा पठाउने व्यवस्था समेत मिलाइएको छ। यो प्रणालीले सवारी साधनको गति, चाप, दिशा आदि विश्लेषण गरी स्वतः निर्णय गर्ने क्षमता राख्दछ।

ललितपुर महानगरको दाबी अनुसार, नेपालमा पहिलो पटक यस्तो प्रविधि प्रयोगमा ल्याइएको हो। यसलाई आगामी दिनमा देशका अन्य प्रमुख सहरहरूमा विस्तार गर्ने योजना समेत अगाडि सारिएको छ।
स्मार्ट ट्राफिक लाइटले मानव संसाधनको कुशल उपयोग, पारदर्शिता र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
विश्वभर कहाँ कहाँ छ स्मार्ट ट्राफिक लाइटको प्रयोग ?
चीनमा एआई ट्राफिक प्रणाली हाङझाउ र सेन्झेन जस्ता शहरमा सफलतापूर्वक प्रयोगमा छ। अलिबाबाको सिटी ब्रेन नामक प्रणालीले १५ प्रतिशत ट्राफिक घटाएको दाबी गरिएको छ। सवारीको गति, सडकको चाप, र एम्बुलेन्सलाई प्राथमिकता दिने सिस्टम यहाँ लागू गरिएको छ।
अमेरिकामा लस एन्जेल्स, पिट्सबर्ग जस्ता सहरहरूमा स्मार्ट ट्राफिक लाइट प्रणाली प्रयोग भइरहेको छ । पिट्सबर्गमा कार्नेजी मेलोन युनिभर्सिटीले विकास गरेको प्रणालीले ४० प्रतिशत सम्म ट्राफिक ढिलाइ घटाएको रिपोर्ट गरिएको छ।
भारतको बेंगलुरु, दिल्ली र मुंबई जस्ता महानगरहरूमा ट्रायलका रूपमा स्मार्ट ट्राफिक प्रणाली जडान गरिएको छ। दिल्लीमा एआई प्रणालीले ग्रिन करिडोर बनाउने र आकस्मिक सेवाहरूका लागि बत्ती अनुकूल मिलाउने काम गर्दै आएको छ।
युरोपका नेदरल्यान्ड, जर्मनी र स्वीडेन जस्ता मुलुकमा एआई–आधारित ट्राफिक नियन्त्रणमा साइक्लिस्ट, पैदल यात्री र सार्वजनिक सवारीलाई प्राथमिकता दिने प्रविधि प्रयोगमा ल्याइएको छ। यसले सस्टेनेबल ट्राफिक सिस्टम निर्माणमा ठूलो योगदान पु¥याएको छ ।
नेपालमा प्रयोगको महत्व
पारदर्शी र नियममा आधारित प्रणाली कार्यान्वयनको थालनी पश्चात अब ट्राफिक प्रहरीको बोझ कम भएको छ । यसले दुर्घटना घटाउने सम्भावना हुनुका साथै सहरलाई स्मार्ट सिटीमा रुपान्तरण गर्ने आधार समेत बनाएको छ । भविष्यमा सवारी साधनको नम्बर प्लेट ट्र्याक गरेर ट्राफिक नियम उल्लंघनमा कारबाही गर्नका लागि समेत यसले सघाउने विश्वास गर्न सकिन्छ ।
कसरी काम गर्छ स्मार्ट ट्राफिक प्रणाली ?
सडकमा जडान गरिएका सेन्सर, क्यामेरा र भेइकल डिटेक्टरले ट्राफिक डेटा संकलन गर्छन्। संकलित डेटा क्लाउड सर्भर वा स्थानीय एआई प्रणालीमा पठाइन्छ । एआईले वास्तविक समयको विश्लेषण गरी कुन दिशामा कति ट्राफिक छ भनेर निर्धारण गर्छ। यस अनुसार ट्राफिक लाइट स्वतः बदलिन्छ ।
भविष्यको सम्भावना
एआई ट्राफिक प्रणालीहरू आगामी दिनमा स्मार्ट सहर विकास, इलेक्ट्रिक सवारीको प्राथमिकता व्यवस्थापन र एम्बुलेन्स, दमकल जस्ता सेवाहरूलाई तुरुन्त बाटो खुलाउने प्रणाली निर्माणतर्फ अग्रसर हुने छन् ।
नेपालमा यदि यो प्रविधि ललितपुर पछि काठमाडौँ, पोखरा, इटहरी, बुटवल जस्ता शहरहरूमा पनि विस्तार गर्न सकियो भने ट्राफिक व्यवस्थापनमा गुणात्मक परिवर्तन सम्भव हुनेछ ।
काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा...
काठमाडौं – राजधानीको कोटेश्वर–जडिबुटी सडक खण्ड विस्तार भएसँगै सवारी...
आजको डिजिटल युगमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ । तर, के...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...