नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैं अघि नै सञ्चालनमा आउँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दशैंअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई पुल दशैंअघि सञ्चालन गर्नेगरी काम अघिबढेको छ ।

नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ-मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार लामोबालुवा र डुम्रेस्थित पुल दशैं अघि सञ्चालनमा आउनेगरी काम अघि बढाइएको हो ।

पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभानस्थित पुल असार महिनादेखि सञ्चालनमा आएको छ । उनले भने, ‘सञ्चालनमा आउने तयारीमा रहेका दुवै पुलको माथिल्लो तहमा कालोपत्र गर्न बाँकी छ । वर्षातका कारण केही ढिलो भयो, दशैं अघि काम सम्पन्न हुन्छ ।’

आयोजनाले असार मसान्तमै ती पुल सञ्चालनमा ल्याउने तयारी गरेको थियो । वर्षात्सँगै कालोपत्र र बाँकी काम गर्न नभ्याइएकाले केही ढिलो भएको हो । बाँकी १२ मध्ये १० पुल पुस महिनासम्म सम्पन्न हुने अनुमान गरिएको आयोजना प्रमुख कार्कीले बताए ।

पुल निर्माणका लागि भित्तो विस्फोट गर्नुपर्ने भएकाले तुइन खोलाको पुलको काम सुरु गरिएको छैन । पुलको मुखमा बसेकालाई मुआब्जा वितरणसँगै खहरे खोलाको पुलको काम थालिएको छ । जगको काम सकिएको छ । यी दुई पुल चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको उनको भनाइ थियो ।

आयोजना प्रमुख कार्कीले भने, ‘जलविद्युत् कम्पनीमासमेत विस्फोटका सामग्री आउन थालेकाले दशैंपछि यो पुल निर्माणस्थलको भित्तो विस्फोट गर्न सकिएला । यससँगै कामलाई तीव्रता दिएर यसै वर्षभित्र पुल निर्माणको काम सम्पन्न गर्ने योजना छ । पुल निर्माणका क्रममा २४ घरको मुआब्जा दिनुपर्ने भएकाले काम रोकिएको थियो ।’

ती घर हटाउन रु ९७ लाख आवश्यक पर्नेमा रु ७० लाख निकासा गरी १६ परिवारलाई मुआब्जा दिएर हटाइएको छ । बाँकी छ परिवारलाई छिट्टै दिइनेछ । एक जनाले मुआब्जामा चित्त नबुझेर रकम बुझेका छैनन् भने अर्का एकजनाले यस अघि नै मुआब्जा लिएर पुनः सोही ठाउँमा बसेको बुझिन आएकाले अध्ययन हुँदैछ । पुलको मुखमा बसेकालाई मुआब्जा दिएर हटाउन लागिएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये चार पुल अघिनै निर्माण भई सञ्चालनमा आइरहेका छन् ।

आयोजना प्रमुख कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरिएको एक वर्षको समय यही विसं २०८० को पुस मसान्तसम्ममा सकिँदै छ । विसं २०७६ को चैतमा रु १ अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो ।

नक्साङ्कनसहित पुल निर्माणका लागि ठेक्का लगाइएकामा निर्धारित समयमै काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएको हो । पुलको गाडी गुड्ने ठाउँ ७.५ मिटर फराकिलो छ । दायाँबायाँ फुटपाथसहित गरेर ९ देखि ११ मिटर पुल फराकिलो रहेको छ । केही पुल भौगोलिक कारणले नौ मिटरमात्र फराकिलो बनाइएको छ भने धेरै पुल ११ मिटरका छन् । सो सडकको चौडाईसमेत ९ देखि ११ मिटर फराकिलो छ ।

यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी साधन आवागमन हुने गर्छन् । तराईबाट राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडक पर्दछ । केही वर्षअघि सडक विस्तार गरिएपछि सडक फराकिलो बनाइएको हो। तत्कालीन समयमा काटिएको भित्तोका कारण कतिपय ठाउँमा पहिरो खसेर दुःख दिने गरेको छ ।रासस

सम्बन्धित समाचारहरू

आकस्मिक बत्ती अर्थात हाजार्ड लाइटको सही प्रयोग: सानो अभ्यास, ठूलो सुरक्षा

आकस्मिक बत्ती अर्थात हाजार्ड लाइटको सही प्रयोग: सानो अभ्यास, ठूलो सुरक्षा

नेपालका धेरै सवारी चालकहरूमा आकस्मिक बत्ती (Hazard Light) को प्रयोगबारे स्पष्ट...

मनाङ जोड्ने सुरुङमार्ग सम्भाव्यता अध्ययन हुने

मनाङ जोड्ने सुरुङमार्ग सम्भाव्यता अध्ययन हुने

कास्की – जिल्लाको मादी गाउँपालिकाले गाउँपालिकाको मद्क्यु (सिक्लेसको...

अनलाइनबाटै गाडी भाडामा लिन सकिने, सजिलो रेन्टलले ल्यायो यस्तो सुविधा

अनलाइनबाटै गाडी भाडामा लिन सकिने, सजिलो रेन्टलले ल्यायो यस्तो सुविधा

सजिलो रेन्टलले अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको छ । यो सुविधा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...