७० प्रतिशत सकियो हुलाकी राजमार्ग निर्माणको काम

राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किमीमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ । 

खासगरी वन क्षेत्र, केही समस्या रहेको क्षेत्रमा सडक बनाउन र लामो समयदेखि अलपत्र पुल सम्पन्न हुन बाँकी रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । अहिले अन्योल भएका ठाउँबाहेक अरुतिरको सडक कतै निर्माण भइसकेको छ भने कतै निर्माण भइरहेको छ ।

अहिलेसम्म दुई सय ११ किमी सडक निर्माणका लागि ठेक्कामा जान बाँकी रहेको आयोजना प्रमुख चुडाराज ढकालले बताए । सत्तरी पुल पनि ठेक्कामा जान बाँकी छ । रेखाङ्कनमा पर्ने चितवन, नवलपुर खण्ड, कपिलवस्तु, बाँके र दाङ वनको क्षेत्रमा स्वीकृति नपाएका कारण निर्माण अघि बढेको छैन । उनले भने, “ती ठाउँमा के गर्ने भनी निर्णय आउन बाँकी छ ।”

सडकको रेखाङ्कन कतिपय खण्डमा पूर्व–पश्चिम राजमार्गको नजिकै पर्ने भएकाले त्यसैमा लगेर हुलाकी राजमार्ग जोड्ने कि रेखाङ्कनअनुसार बनाउन लाग्ने भनी निर्णय हुन बाँकी रहेको प्रमुख ढकालले बताए । उनले भने, “पूर्व–पश्चिम राजमार्गलाई दुई लेन गरेर यसलाई पनि दुई लेन गर्ने कि दाङ, कपिलवस्तु, बाँकेमा वन क्षेत्रबाटै निर्माण गर्ने भनी निर्णय हुन बाँकी छ ।”

यो आर्थिक वर्षको प्रगति ६० प्रतिशत रहेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ । बाँकी अवधिमा काम गर्दा पहिले विनियोजित रकममात्रै पर्याप्त नहुने देखिएको उनले बताए । यो आवमा रु दुई अर्ब थप रकम माग गरिएको उनले जानकारी दिए । उनले भने, “त्यो रकम आएर काम गर्दा यस वर्ष ९५ प्रतिशत प्रगति हुनेछ ।” 

जम्मा दुई सय ५० किमी सडक कालोपत्र गर्ने योजना बनाइएको भए पनि अहिले दुई सय किमी कालोपत्र गर्न लागिएको उनले बताए । कालोपत्रबाहेक यो आवमा अरु संरचनाको काम बढी भएकाले कालोपत्र कम गरिने योजना बनाइएको हो । यो आवमा हालसम्म आठ पुलको निर्माण सकिएको छ भने सात सकिने क्रममा छन् । 

दाङको शिवगढी मन्दिरबाट कपिलवस्तु, दाङ र बाँकेको केही क्षेत्रसम्म बस्ती नभएको वन क्षेत्र रहेको प्रमुख ढकालले बताए । लमहीबाट पश्चिम निकुञ्ज र वन क्षेत्र सबै जङ्गल नै जङ्गल रहेको छ । उनले भने, “चुरेमा साढे तीन किमी सुरुङ बनाउन सकिने पनि सम्भावना रहेको छ ।”
 
राष्ट्रिय गौरवको हुलाकी राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रूपमा रहेको थियो । आव २०६५/६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने भन्ने योजना बनेको थियो । विभिन्न कारणले त्यो स्वरुपमा काम हुनसकेको थिएन । भारतीय पक्षले बीचैमा छाडेर फर्किएपछि आव २०७३/७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेर सरकारले बाँकी निर्माण अघि बढाएको थियो । 
 
योजनाअन्तर्गत नै आठ सय ८१ किमी लम्बाइको शाखा सडक (फिडर सडक)को निर्माण भइरहेको छ । यसमध्ये दुई सय ४५ किमी भारत सरकारले र बाँकी नेपाल सरकारले निर्माण गर्ने समझदारी थियो । भारत सरकारले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ भने बाँकीमा सरकारले निर्माण गरिरहेको छ ।

राष्ट्रिय योजना आयोगले हुलाकी राजमार्ग आयोजना आव २०७९/८० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने विगतका वर्षमा कोभिडका कारणले निर्माण हुन नसकेकाले पनि राष्ट्रिय गौरवका सडक योजनाको लक्षित समय बढाउनुपर्ने बताएको छ ।

हुलाकी राजमार्गलाई तराई/मधेसको समृद्धिको लक्ष्यसहित सुरु गरिएको हो । यो पूर्वी तराईलाई पश्चिम तराईसम्म जोड्ने मार्ग पनि हो । मधेस क्षेत्रमा देशभरको झन्डै आधा जनसङ्ख्या बसोबास गर्ने भएकाले आयोजना सम्पन्न भएपछि त्यहाँका नागरिकको पहुँच बढ्ने अपेक्षा गरिएको छ । त्यस क्षेत्रको व्यापार, कृषिलगायतका क्षेत्रमा राजमार्गले नयाँ सम्भावना खुल्ने सरकारले अपेक्षा गरेको छ । 

सम्बन्धित समाचारहरू

हालसम्म सरकारले बनायाे ३४ हजार दुई सय ६७ किलोमिटर सडक

हालसम्म सरकारले बनायाे ३४ हजार दुई सय ६७ किलोमिटर सडक

काठमाडौं – आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार हालसम्म सङ्घीय सरकारबाट...

नाला पुल भाँचियो, राजधानी प्रवेश गर्ने वैकल्पिक सडक अवरुद्ध

नाला पुल भाँचियो, राजधानी प्रवेश गर्ने वैकल्पिक सडक अवरुद्ध

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा...

सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुने

सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुने

काठमाडौं – माघ ८ गतेलाई तय भएको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...