लाइसेन्सको लाइन समस्या क्रमश: समाधान हुँदै गएको दाबी
काठमाडौं । यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउने...
तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ? चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले आकस्मिक (इमर्जेन्सी) रूपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई छ महिनाभित्र वितरण गरिसक्ने प्रतिबद्धता जनाएका थिए। प्रदेश सरकारले अतिरिक्त समयमा यातायात कार्यालय सञ्चालन गर्न सहज हुनेगरी २०७८ फागुन २६ गते कार्यविधि बनाएको थियो। सोही कार्यविधिअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले आफू मातहतका सवारी चालक अनुमतिपत्र लिने कार्यालय बिहान ७ बजेदेखि सञ्चालन सुरू गरेको छ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव इञ्जिनियर उमेश रूपाखेती बागमती प्रदेशले यातायात कार्यालयबाट दैनिक रूपमा प्रवाह हुने सेवाग्राहीको विवरण दैनिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको बताउँछन्।
‘सेवाग्राहीसँग प्रत्यक्ष जोडिने कार्यालय यातायात कार्यालयको सुधारका लागि बागमती प्रदेश कार्यालय लागेको छ,’ उनले भने।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभर्याङ, हेटौंडा, जगातिलगायतका कार्यालयले आज (साउन २२) बाट बिहान ७ बजेदेखि सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्रदान सुरू गरे पनि सवारी चालक अनुमतिपत्र एकान्तकुना, चाबहिलले छिट्टै सेवा प्रदान गर्ने बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बताए।
यातायात कार्यालयभित्र देखिएको अस्तव्यस्तता हटाउँदै सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि कार्यविधि बनाएर बिहानैदेखि कार्यालय सञ्चालन सुरू गरेको मन्त्री दाहालको भनाइ छ।
‘उपत्यका बाहेकका अरू जिल्लाका सेवाग्राही काठमाडौंभित्र सेवा लिन आउन नपरोस् भन्ने उद्देश्यले उपत्यका बाहिर पनि सवारी चालक अनुमतिपत्र कार्यालय खोल्न लागिरहेका छौं,’ उनले भने।
सेवाग्राही १० बजेदेखि यातायात कार्यालय सञ्चालन हुने भएकाले ७ बजेदेखि नै कार्यालय आएर लाइनमा बसेको अप्ठ्यारो अवस्थालाई महसुस गरेर बिहान ७ बजेदेखि नै कार्यालय सञ्चालन सुरू गरेको उनको भनाइ छ। मन्त्री दाहाल अतिरिक्त समयमा काम गर्ने कर्मचारीलाई मन्त्रालयले भत्ताकोसमेत व्यवस्था गरेको बताउँछन्।
आइतबार बिहान सवारी चालक अनुमतिपत्र ठूलोभर्याङमा सेवा लिन आएका नागार्जुन नगरपालिका-२ का रामबहादुर श्रेष्ठले यति चाँडो लाइसेन्सको काम हुन्छ भन्ने विश्वास आफूलाई नलागेको बताए।
‘यस्तो सेवा सधैं प्रदान गर्नसके यातायात कार्यालयप्रति सेवाग्राहीले हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ,’ उनले भने।
सोही कार्यालयमा आएका डडेलधुराका वीरेन्द्र साउदले पछिल्लो समय यातायात कार्यालयले दिने सेवाप्रति आफू सन्तुष्ट रहेको बताए।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभर्याङका निमित्त प्रमुख सञ्जय थापाले यातायात क्षेत्रलाई हेर्ने नजरमा परिवर्तन ल्याउनु जरुरी रहेको बताए। ‘हरेकले आफू कर्मचारीमात्र नभएर सेवाग्राहीको नजरबाट हेर्नसके यातायात क्षेत्रमा सुधार आउँछ,’ उनले भने।
ठूलोभर्याङले दैनिक तीन सय जनालाई सवारी चालक अनुमति पत्र प्रदान गर्दै आएको छ। दैनिक सात सय नयाँ सवारी चालक अनुमतिपत्रका लागि दर्ता, एक सय ५० नवीकरण, दुई सयको राजस्व सङ्कलन र ५० जनालाई प्रतिलिपि प्रदान गर्दै आएको छ।
यस्तै हप्ताको पाँच सय जनाको लिखित परीक्षा सञ्चालन गर्दै आएको कार्यालय प्रमुख थापा बताउँछन्। ठूलोभर्याङले सवारी चालक अनुमतिपत्रका लागि चन्द्रागिरि नगरपालिकाको गुर्जुधारास्थित भेहिकल एकेडेमीबाट प्रयोगात्मक परीक्षा गराउँदै आएको छ।
रासस
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...