नाडा अध्यक्षका बलिया प्रत्याशी करण : युवा जोश र अनुभवको फ्युजन

केही दिन पहिले आफ्नो प्यानल घोषणा कार्यक्रममा अटोमोबाइल व्यवसायी करण चौधरीले आफू र आफ्नो टिमलाई परिचित गराउँदै थिए । उक्त समयमा उनले आफूलाई युवा भनेर चिनाए । तर यही समयमा उनी आफै कन्फ्युजनमा पनि परे । यसको मुख्य कारण थियो उनको उमेर र अनुभवमा समानता ।

तर व्यावहारिक रुपमा हेर्दा उनमा युवा जोश र अनुभव दुवैको फ्युजन पाइन्छ । उमेरले ४० कम भए पनि अनुभवले भने उनले अटो व्यवसायमै १६ वर्ष पुरा गरिसकेका छन् । पढाइले ५ विषयमा मास्टर्स, चौधरी घरानाका प्रतिनिधि तर मेकानिकबाट करियर सुरु । त्यस्तो फरक र रोचक कहानी छ करण चौधरीको ।

आज देखि शुरु भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षका एक बलिया दावेदार हुन् करण चौधरी । उनले उम्मेदवारी घोषणा गरेकै समय देखि उनको चर्चा चुलिएको छ । यो चर्चामा करणको वारेमा सकारात्मक धेरै, र केही नकारात्मक कुरा पनि समेटिएका छन् ।

करण आफै युवा हुन् । उनको प्यानलमा पनि धेरै युवा समेटिएका छन् । करणलाई युवा भन्ने कि नभन्ने ? भन्ने प्रश्नमा उनको सीधा जवाफ छ, ‘करण चौधरी अटो व्यवसायमा प्रवेश गरेकै १६ वर्ष भइसक्यो ।’ ठूला घरानामा जन्मिएर अवसर पाएको आरोप लगाउनेलाई चौधरी सरल जवाफ दिन्छन्, ‘म मेकानिक्सबाट अटो क्षेत्रमा प्रवेश गरेको हुँ । कुन नटबोल्ट कसरी खोल्ने ? कसरी फिट गर्ने ? इन्जिन एसेम्बल गर्दा पिस्टन कसरी फिट हुन्छ ? भन्ने विषयमा जोकोहीसँग जुहारी खेल्न सक्छु ।’

‘नेतृत्व उमेरले होइन, इच्छाशक्ति र क्षमताले तय गर्छ’ भन्ने मान्यता राख्ने उनी आफ्नो उमेर रहस्यमै रहोस् भन्न चाहन्छन् । अटो क्षेत्रमा बटुलेको अनुभव र विश्वविख्यात विश्वविद्यायहरुबाट प्राप्त गरेको उच्च शिक्षाले उनलाई दक्षता, परिपक्वता र व्यवस्थापकीय क्षमतामा निखार ल्याउन सघाएको छ । आफ्नो कुशल नेतृत्वमार्फत् सुजुकीलाई मार्केट सेयरको हिसाबमा नेपालको नम्बर वान ब्रान्ड बनाउन सक्षम भएको दाबी गर्छन् करण ।

नाडाको वर्तमान कार्यसमितिमा उपाध्यक्ष चौधरी सीजी होल्डिङ्सका कार्यकारी निर्देशक हुन् । सीजी होल्डिङ्सको सीजी मोटोकर्प सुजुकी गाडीको नेपालका लागि आधिकारित वितरक हो । नेपाल ल्युब आयल (गल्फ ब्रान्ड) मा पनि सीजी होल्डिङ्सको सेयर छ ।

नाडाको अघिल्लो कार्यकालमा उनले नेतृत्वलाई ठूलो साथ दिए । विद्युतीय सवारीमा कर घटाउन उनी सम्मिलित कार्यसमितिले गरेको मिहिनेत, खोप ल्याउन गरेको पहल, राहत प्याकेजका लागि लबिङ गर्नुमा उनको ठूलो हात छ ।

तर, चुनाव सम्मुखैमा करणमाथि चौधरी परिवारको व्यक्ति हुनु नै सक्षमता हो ? भन्ने प्रश्न उठेको छ । तर, उनी ‘म किन सक्षम छैन ?’ भन्ने प्रतिप्रश्न गर्छन् ।

१६ वर्ष अगाडि बिजेनसमा छिर्दा उनीसँग कम्पनीको निर्देशक वा कार्यकारी निर्देशक बन्ने अवसर थियो । तर, उनले मेकानिकबाट काम सुरु गरे ।

काम गरेर मात्र नहुँदो रहेछ भन्ने निष्कर्षसहित करण थप शैक्षिक योग्यता हासिल गर्नतर्फ लागे । मेकानिकबाट सिकेको व्यवहारिक पक्ष र सीपलाई अध्ययनमा सिकेका सैद्धान्तिक विषयसँग जोडे ।

“मैले परेर सिकें, पछि पढेर ज्ञान विस्तार गरें भन्नु जति खुसी केहीमा पनि हुँदैन रहेछ,” चौधरी भन्छन् । चौधरीले स्नातक अध्ययन युनिभर्सिटी अफ वेस्ट इंग्ल्यान्डबाट पुरा गरेका छन् भने ५ भिन्न विषयमा स्नातकोत्तर अध्ययन गरे । करणले हार्बर्ड युनिभर्सिटी, युनिभर्सिर्टी अफ पेन्सल्भेनिया, युनिभर्सिटी अफ इलिनोय र वाल्टन स्कुलबाट मास्र्टर्स अध्ययन गरेका छन् ।

चुनावको मुखमा उनी भन्छन्, ‘नाडाको नेतृत्व सक्षम व्यक्तिको हातमा पुग्नुपर्ने छ । सक्षम टिमको आवश्यकता छ । म मलाई वा मेरो प्यानलका व्यक्तिलाई भोट गर्नुस् भन्दिनँ । जो सक्षम छ उसलाई जिताउनुस् ।’

व्यवसायीहरु २ प्यानलमा लाग्दा बाँडिए भन्ने आरोप लाग्नु नौलो होइन । हाल करिव ३ हजार २ सय नाडा सदस्य छन् । नाडा सानो संस्था हो । अर्कातर्फ ३ हजार २ सय सदस्य त्यति सानो संख्या पनि होइन । ३ हजार २ सयका कुरा सरकारकहाँ पु¥याउन सबैको कोही न कोही प्रतिनिधि आफ्नो टिममा हुनुपर्छ । आफूले सोही किसिमको टिम सेट गरेको उनी बताउछन् ।

करण भन्छन्, ‘मेरो टिममा टायर उद्योग सञ्चालक, दुईपांग्रे चारपांग्रे सवारीको एसेम्बल प्लान्ट खोल्ने उद्योगी छन् ।’ उनी आफैं लुब्रिकेन्ट उत्पादक पनि हुन् । ठूला देखि लिएर साना र सबै क्षेत्रका अटोमोबाइल व्यवसायी उनको टिममा छन् । उनलाई एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसम्मको साथ भएको उनको दाबी छ । त्यसैगरी टिममा हालको कार्यसमितिको ८० प्रतिशत सदस्यको साथ भएको उनले बताए ।

चुनावी एजेन्डाका वारेमा करण भन्छन्, ‘पूर्वाधार हाम्रो पहिलो एजेन्डा हो । बाटो ठूलो र धेरै भए भने धेरै गाडी चल्न सक्छन् । धेरै पार्टस् बिक्री हुन्छ, धेरै टायर, ब्याट्री र लुब्रिकेन्ट बिक्री हुन्छ ।

पूर्वाधार विस्तार कसरी गर्न सकिन्छ ? सरकारसँग सहकार्य गर्नेछौं । तर, त्योभन्दा पहिला सरकारले सवारी व्यवसायप्रति हेर्ने नजर परिवर्तन गर्न जरुरी छ । नाडासँग आवद्धलाई अनुत्पादक मान्छन्, जुन सवारी व्यवसायमैत्री छैन ।’ कुल गार्हस्थ उत्पादन र राजस्वमा सबैभन्दा बढी योगदान गर्ने क्षेत्र नाडा हो भन्ने कुरालाई सरकारले बुझ्नु पर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘मेरो कार्यकाल सवारी व्यवसायमैत्री सरोकारवाला निकाय बनाउनेमा केन्द्रित हुनेछ ।’

नाडामा पहिले देखि नै सर्वसम्मतिको नाममा भावी अध्यक्ष पहिले नै तय गर्ने गरिएको चर्चा सधै चल्ने गर्छ । करणलाई पनि अध्यक्ष बनाउनका लागि पहिले नै तयारी भएको र अब ८ वर्ष पछिको अध्यक्षको तयारी आजैबाट गरिँदै छ भन्ने आरोप समेत लाग्ने गरेको छ । तर उनले यसलाई अस्वीकार गर्दै अहिले पनि सर्वसम्मतिको सम्भावना नटरेको र यसबाट सबै पक्षका, सबै वर्गका, सबै क्षेत्रका, सबै भूगोलका प्रतिनिधि नाडा कार्यसमितिमा हुनुपर्छ भन्ने आफ्नो मान्यता भएको उनले बताए ।

म्यानुफ्याक्चर हबका रुपमा नेपालको विकास र एसेम्बल उद्योग स्थापना गर्ने वारेमा करणको एउटा निश्चित तर्क छ । उनी भन्छन्, ‘भारत झैं नेपालमा म्यानुफ्याक्चर हबका रुपमा नेपाललाई विकास गर्नेबारे परिकल्पना गर्न मिल्दैन । सरकारले जेजति सहयोग गरेपनि निर्यात हब बन्न निर्यात रुट तथा यातायातका विकल्प हुनुपर्छ । बाटोको विकल्प नहुनुले ढुवानी खर्च निकै बढी हुन जान्छ । एसेम्बलिङ प्लान्ट निर्माण नेपालका लागि अति आवश्यक हो तर निर्यातका लागि होइन ।’

आफूले समेत नेपालमै ल्युब आयल उत्पादन र ब्लेन्ड गरिरहेको र गुणस्तरीय उत्पादन दिँदा ग्राहकवर्गमा आफूहरुमा विश्वास भएको उनी बताउछन् । यसरी नै नेपाल उत्पादन हुने गाडी, ब्याट्री टायर यहीँ खपत गराउन सकिने र यही एसेम्बल गरेका सुजुकीको गाडी नेपाली जनताले चढ्न पाउने विषयमा समेत विश्वस्त भएको उनले बताए ।

सम्बन्धित समाचारहरू

प्रतिबन्धका कारण अटो शो सर्न सक्ने नाडा अध्यक्ष थापाको भनाइ

प्रतिबन्धका कारण अटो शो सर्न सक्ने नाडा अध्यक्ष थापाको भनाइ

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले...

नाडाद्धारा ट्राफिक प्रहरीलाई ट्राफिक ब्यवस्थापन सामग्री हस्तान्तरण

नाडाद्धारा ट्राफिक प्रहरीलाई ट्राफिक ब्यवस्थापन सामग्री हस्तान्तरण

काठमाडौं– नाडा अटोमोवाइलल्स एशोसिएशन अफ नेपालले काठमाण्डौं उपत्यका...

यस्ता हुनेछन् नाडा अटो शो २०२५मा फोटोन र सोकोन ईभीका आकर्षक अफर, करिव ७ लाख छुटमा गाडी

यस्ता हुनेछन् नाडा अटो शो २०२५मा फोटोन र सोकोन ईभीका आकर्षक अफर, करिव ७ लाख छुटमा गाडी

काठमाडौं – यसपालिको नाडा अटो शो २०२५ को अवसरमा फोटोन टुनल्यान्ड पिकअप,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...