दसैं वा तिहारमा इलेक्ट्रिक कार किन्ने सोच छ ? माफ गर्नुहोला, तपाईको पालो आउँदैन

काठमाडौं – चाडपर्वको छेको पारेर दसैं वा तिहारमा इलेक्ट्रिक कार किन्ने सोच बनाउनु भएको छ भने तपाईले कार पाउने सम्भावना एकदमै कम छ । तपाईले कार पाउने वा नपाउने कुरा तपाईले रोजेको ब्रान्डमा भर पर्न सक्छ । यसले गर्दा तपाईले यो दसैं वा तिहारमा इलेक्ट्रिक कार चढ्न पाउने सम्भावना भने कमै छ ।

नेपाली बजारमा बिक्रीका लागि इलेक्ट्रिक कार उपलब्ध गराइरहेका अधिकांश आयातकर्ताहरुले ग्राहकले खोजेको संख्यामा सवारी साधन उपलब्ध गराउन सकेका छैनन् । तर यस्ता इलेक्ट्रिक कारको माग धेरै भएर भने यसो भएको होइन । यसमा संख्याका साथै अन्य कुराले समेत असर पारेको छ ।

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार मध्ये किया निरो एक हो । तर हाल किया निरो खोज्नेका लागि गाडी उपलब्ध छैन र तिहार अगाडि नयाँ ग्राहकका लागि गाडी आउने सम्भावना पनि छैन । कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका असिस्टेन्ट जनरल म्यानेजर मन्जित पोखरेलका अनुसार केही संख्यामा गाडी उपलब्ध भए पनि यी सबै बुकिङ भइसकेका छन् ।

नयाँ बजेट पश्चात करिव ४० गाडी डेलिभरी भइसकेको र लगभग त्यति नै संख्यामा बुकिङ भइसकेको छ । विशेष गरी सेमी कन्डक्टर अभावको कारण कम्पनीले चाहेजति इलेक्ट्रिक गाडी उत्पादन गर्न नसकेको र त्यही अनुसार निर्यात गर्न पनि सकेको छैन । यसको असर कियाका नेपाली ग्राहकलाई पनि पर्ने भएको छ ।

यद्यपि हुन्डाईका कोना र आयोनिक इलेक्ट्रिक गाडी खोज्नेका लागि भने हाल केही संख्यामा गाडी उपलब्ध हुन सक्छ । तर पनि ग्राहकले आफूले रोजे अनुसारको कलर र भेरिएन्टमा गाडी उपलब्ध गराउन नसकिने हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका मार्केटिङ म्यानेजर सन्दीप शर्मा बताउँछन् ।

नयाँ बजेट घोषणा पश्चात इलेक्ट्रिक गाडीको वारेमा इन्क्वायरी निकै नै बढेको र बुकिङ समेत बढेको छ । केही दिनमै हुन्डाईले चाडपर्व लक्ष्यित स्किम समेत ल्याउने उनले बताए ।

नेपाली बजारमा एमजी ईजेडएस इलेक्ट्रिक गाडी उपलब्ध गराउदै आएको पारामाउन्ट मोटर्सले २ महिना पहिले बुकिङ गरेका ग्राहकलाई मात्र यो गाडी उपलब्ध गराउने तयारी गरेको छ । चीनबाट गाडी नेपाल पठाउदा प्रशस्तै संख्यामा पठाउन नसकिने र अन्य देशलाई समेत कम्पनीले प्राथमिकता दिनु पर्ने भएकाले आवश्यक संख्यामा गाडी उपलब्ध गराउन नसकिएको कम्पनी स्रोतको भनाइ छ । अहिले बुकिङ गर्ने ग्राहकलाई आगामी डिसेम्बर वा जनवरी सम्ममा मात्र गाडी उपलब्ध गराउन सकिने बताइएको छ ।

टाटाको इलेक्ट्रिक कार नेक्सन ईभी नेपाल भित्रिएको धेरै भएको छैन । तर पनि करिव ५ सय युनिट गाडी बुकिङ भइसकेको र नेपाली बजारमा भने जति गाडी पु¥याउन नसकिएको टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ कम्पनी स्रोतले बताएको छ । विश्वव्यापी रुपमा सेमी कन्डक्टरको अभाव भइरहेको र इलेक्ट्रिक गाडीमा प्रयोग गरिने चिपका लागि यो आवश्यक भएकाले अन्य गाडीका साथै नेक्सन ईभी उत्पादनमा समेत यसको प्रत्यक्ष असर देखिएको छ । भारतीय बजारमा समेत करिव ६ महिना सम्म ग्राहकले यो गाडी डेलिभरीका लागि पर्खिनु पर्ने अवस्था भएकोमा नेपालमा पनि यही अवस्था छ ।

सिप्रदी ट्रेडिङका अनुसार हाल सम्मको अवस्थामा पहिले बुकिङ गरेका ग्राहकहरुलाई डिसेम्बर महिना सम्ममा गाडी डेलिभरी दिइने र अब बुकिङ गर्ने ग्राहकले भने सन् २०२२ देखि मात्र गाडी लिन पाउने छन् ।

डेरी ब्रान्डका इलेक्ट्रिक कार ईभी७ र ईएम७ उपलब्ध गराउदै आइरहेको अटोहोस्ट प्रालिका म्यानेजिङ डाइरेक्टर नवराज पौडेल बजेटले गरेको नयाँ व्यवस्था पश्चात छोटो समयमै चाडपर्व आएको र कोभिड–१९ को कारणले पनि व्यवसायीहरुले प्रशस्तै संख्यामा गाडी भित्र्याउन नसकेको बताउछन् । यद्यपि अटोहोस्टले करिव ३०,३५ हाराहारीको संख्यामा मात्र अहिले बुकिङ लिएको र ती ग्राहकलाई गाडी उपलब्ध गराउने तयारी गरिरहेको उनले बताए । धेरै संख्यामा माग भएमा गाडी उपलब्ध गराउन समस्या पर्ने उनको भनाइ छ ।

गत आर्थिक वर्षको बजेटमार्फत इलेक्ट्रिक गाडीको अन्तःशुल्क र भन्सार दर बढाइएकोमा यो वर्षको बजेटमार्फत यसलाई घटाइएको छ । यसले गर्दा धेरैले इलेक्ट्रिक गाडीप्रति रुचि देखाएका छन् । तर पनि विश्वव्यापी रुपमा भएको सेमी कन्डक्टरको अभाव र न्यून उत्पादन संख्याले गर्दा नेपाली ग्राहकले खोजेकै समयमा इलेक्ट्रिक गाडी पाउने सम्भावना कम भएको छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२४ मा अर्को नयाँ ईभी सार्वजनिक गर्ने एमएडब्लु वृद्धिको संकेत

नाडा अटो शो २०२४ मा अर्को नयाँ ईभी सार्वजनिक गर्ने एमएडब्लु वृद्धिको संकेत

काठमाडौं – प्रविधि र डिजाइनका कारण छोटो समयमै नेपाली इभीप्रेमीको...

वर्षको अन्तिम महिनामा लन्च हुने सूचीमा सामेल छन् यी एसयूभी

वर्षको अन्तिम महिनामा लन्च हुने सूचीमा सामेल छन् यी एसयूभी

२०२४ सकिनै लागेको छ तर नयाँ कारहरू लन्च गर्ने प्रक्रिया अझै रोकिएको छैन ।...

सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ को खुल्यो बुकिङ, मूल्य ३३ लाख देखि शुरु

सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ को खुल्यो बुकिङ, मूल्य ३३ लाख देखि शुरु

काठमाडौं – सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...