नेपालमा जोन्टेस जी१ १२५ सार्वजनिक, मूल्य ४ लाख ४० हजारबाट सुरु

काठमाडौं - नेपालमा जोन्टेस मोटरसाइकलको आधिकारिक वितरक आइरन मंक नेपाल प्रालिले बहुप्रतीक्षित जोन्टेस जी१ १२५ स्क्र्याम्बलर बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ। यसअघि नेपालमा जोन्टेस यू१ एडभेन्चर मोटार्ड सिरिजले राम्रो सफलता पाएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार लेभल-२ अफरोडरका रूपमा डिजाइन गरिएको जी१ सिरिज स्ट्रिट नेकेड र एडभेन्चर टुररका विशेषता मिसाइएको क्रसओभर बाइक हो। यो १२५ सीसीको प्याकेजमा आएको छ।

जी१ १२५ अर्बन स्क्र्याम्बलर र स्क्र्याम्बलर टुरर गरी दुई भेरियन्टमा उपलब्ध छ। अर्बन स्क्र्याम्बलरको मूल्य ४ लाख ४० हजार रुपैयाँबाट सुरु हुने भएको छ भने स्क्र्याम्बलर टुररको मूल्य ४ लाख ९० हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ। दुवै भेरियन्ट म्याट ब्लु रङमा उपलब्ध छन्।

युरोपेली बजारमा जोन्टेसको १५ वर्षे उपस्थितिको सम्झनामा स्पेसल लेगेसी एडिसन पनि ल्याइएको छ। दुवै भेरियन्टमा उपलब्ध यो संस्करणका लागि थप २० हजार रुपैयाँ तिर्नुपर्नेछ। यसमा म्याट ब्ल्याक थिम, सुनौला रिम र प्रिमियम बार-एन्ड मिरर रहेका छन्। कम्पनीका अनुसार यी मूल्य चाडपर्वको अवधिका लागि मात्र मान्य हुनेछन्।

बाइकमा १२५ सीसीको एलसी४भी (लिक्विड-कुल्ड, चार भल्व) इन्जिन रहेको छ, जसले १५ पीएस पावर र १३ एनएम टर्क उत्पादन गर्छ। कम्पनीले यसलाई आफ्नो श्रेणीमै सबैभन्दा उच्च भएको दाबी गरेको छ। इन्जिनमा निकासिल-कोटेड सिलिन्डर र हेभी-ड्युटी फोर्ज्ड पिस्टन प्रयोग गरिएको छ। जोन्टेस १२५ यू१ बाट विकसित इन्जिनलाई ४६ टी रियर स्प्रोकेटसहित पुनः ट्युन गरिएको छ, जसले ५ हजार ५०० आरपीएमसम्ममा अधिकतम टर्कको ८० प्रतिशत दिने कम्पनीको भनाइ छ।

छैटौं ओभरड्राइभ गियरसहितको यो बाइकको दाबी गरिएको टप स्पिड ११८ किमी प्रतिघण्टाभन्दा बढी रहेको छ। आइरन मंकका अनुसार यो गति नेपाली बजारमा रहेका १५० देखि ३५० सीसीसम्मका एयर-कुल्ड सिंगल-सिलिन्डर मोटरसाइकलभन्दा बढी हो।

बाइकमा ६-स्पीड गियरबक्स, असिस्ट तथा स्लिपर क्लच, डुअल-च्यानल एबीएससहितको ३०० एमएम हब-लेस डिस्क ब्रेक, टायर प्रेसर मनिटरिङ सिस्टम, १० एएच क्षमताको सुपरबाइक-ग्रेड ब्याट्री र एयर टेम्परेचर सेन्सरसहितको फ्युल इन्जेक्सन प्रणाली रहेको छ। साथै, पेन्टा-प्रोजेक्टर सेटअपसहितको अटोमोटिभ-ग्रेड एलईडी हेडलाइट, एन्टी-डाइभ यूएसडी फ्रन्ट सस्पेन्सन, ७९५ एमएम सिट हाइट र २०४ एमएम ग्राउन्ड क्लियरेन्स पनि दिइएको छ। डुअल यूएसबी पोर्ट (टाइप-सी फास्ट चार्जिङसहित), हजार्ड लाइट र एलसिडी इन्स्ट्रयुमेन्ट प्यानल पनि बाइकमा रहेका छन्। कम्पनीले अर्बन स्क्र्याम्बलर संस्करणका २० भन्दा बढी विशेषतालाई ‘फस्ट-इन-सेगमेन्ट’ भनेको छ।

स्क्र्याम्बलर टुररमा रेडियली माउन्टेड ट्युबलेस क्रस-स्पोक रिम तथा आल्मुनियम रियर लगेज र्‍याक, ग्रिप रेल र ह्विल, ब्रेक डिस्क र हेडलाइट प्रोटेक्टर जस्ता टुरिङ एसेसरिज स्ट्यान्डर्ड रूपमा आउँछन्।

आइरन मंक नेपालका संस्थापक तथा सीटीओ कलश तुलाधरका अनुसार बाइकले हाइवेमा प्रतिलिटर ६५ किलोमिटरसम्म माइलेज दिन्छ। २० लिटरको इन्धन ट्यांकले १ हजार किलोमिटरभन्दा बढी दूरी तय गर्न सकिने उनको दाबी छ। ‘नेपाली बजारले अन्ततः १२५ सीसी श्रेणीमा एउटा उचित टुरर पाएको छ,’ उनले भने। उनका अनुसार यो बाइक केवल ‘प्रिमियम’ नभई ‘प्रिमियम-प्लस’ हो र यसमा १५ भन्दा बढी सेगमेन्ट-फस्ट सुविधा रहेका छन्।

कम्पनीका सीओओ आयुष श्रेष्ठले यसले ५ लाखभन्दा तलको श्रेणीमा सबै प्रकारका राइडरका आवश्यकता पूरा गर्ने पहिलो बाइक भएको दाबी गरेका छन्। ‘तपाईंको सपनाको बाइक’ भन्ने नारासहित बाइक बजारमा ल्याइएको उनले जानकारी दिए।

इथानोल मिसाइएको ई१० पेट्रोलसँगको अनुकूलताबारे जिज्ञासा आएपछि तुलाधरले सन् २०१७ मा युरो-४ मोडेल सुरु भएदेखि नै जोन्टेसका मोटरसाइकल ई१० पेट्रोलसँग प्रयाेग गर्न मिल्ने भएकाे बताए। २०२६ को जी१ १२५ ले युरो फाइभ प्लस होमोलोगेसन मापदण्ड पूरा गरेको र जिंक-कोटेड ग्यालभेनाइज्ड ट्यांकले इथानोल मिसिएको इन्धनको हाइग्रोस्कोपिक प्रभाव रोक्ने कम्पनीको भनाइ छ।

बिक्रीपछिको सेवामा जोड दिएको जनाउँदै आइरन मंकले काठमाडौंको नक्सालस्थित गैरीधारामा पूर्ण सुविधासहितको थ्रीएस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ। ललितपुरको कुपण्डोलमा फ्ल्यागशिप शाेरुम छ । पोखरामा शाेरुम तथा स्पेयर पार्ट्स होल्डिङ सेन्टर पहिले नै सञ्चालनमा छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...