केबुलकारमै अड्किएमा के गर्ने ? यस्तो अनुभव दियो चन्द्रागिरि केबलकारले

काठमाडौंको चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार पुगेका थिए।

चन्द्रागिरि केबलकारका प्रायःसबै डिब्बा भरिभराउ भए, यत्तिकैमा पत्रकारको यात्रा चल्यो। चल्दै गरेका केबलकारको डिब्बा केही मिनेटपछि रोकिए। त्यसबेला पत्रकार आत्तिएनन्। बरू डिब्बामा उभिएरै तस्बिर तथा भिडिओ लिन व्यस्त भए। उनीहरू काठमाडौं उपत्यका तथा चन्द्रागिरि डाँडो र त्यहाँको जंगलको वरपरका दृश्य क्यामेरामा कैद गर्नेतिर लागे। 

यो एक अभ्यास थियो र केबलकारका प्राविधिकहरूले पूर्वजानकारी गराएरै केबलकार रोकेका थिए। त्यसैले पनि डिब्बामा रहेका पत्रकार डराएनन् र यसलाई स्वाभाविक रूपमा लिए। पत्रकार चढेका हरेक डिब्बामा केबलकारका प्राविधिक र कर्मचरी सहभागी थिए। उनीहरूले पत्रकारलाई आउनसक्ने समस्या र समाधानका उपायबारे बुझाइरहेका थिए।

आजको अभ्यास यो केबलकार सुरक्षित छ र कहिलेकाहीँ कुनै प्राविधिक कारणले केही मिनेट रोकिन सक्छ भन्ने जानकारी दिन आयोजना गरिएको थियो। त्यसैले हरेक डिब्बामा यहाँका प्राविधिक र पत्रकार राखिएको थियो र उनीहरूले यसका विविध प्राविधिक विषयको जानकारी गराइरहेका थिए। 

एक डिब्बामा सहभागी थिए चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल। उनी भन्दै थिए, ‘यो केबलकारको प्रविधि अर्थात् उत्पादक अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनी हो। यो विश्वकै सबभन्दा सुरक्षित कम्पनी हो र हाम्रोजस्ता विश्वका २० हजार केबलकारमा यही कम्पनीको प्रविधि सञ्चालनमा छ। यो प्राविधिक विषय हो र पूरै रूपमा बिजुलीमा निर्भर हुने भएकाले बिजुली गएपछि केही समय रोकिन्छ त्यसलगत्तै जेनेरेटर चल्छ। जेनेरेटरले पनि समय लाग्ने अवस्था भएमा हामीसँग ‘इमर्जेन्सी ड्राइभ’ का कैयौं विकल्प छन्। त्यस्तै, संकट नै पर्ने या उद्धार नै गर्नुपर्ने भन्ने केही हुँदैन।’ 

डिब्बामा लेखिएको सूचना ‘हावाहुरी चलेका बेला, चट्याङ परेका बेला यो केबलकार पनि रोकिन सक्छ, नआत्तिइ यसैमा बस्नुहोला’ देखाउँदै ढकालले भने, ‘यो प्रविधि हो, पूरै सुरक्षित छ, तर कुनैबेला रोकिन सक्छ रोकिँदैमा डराउनुपर्दैन।’

हालै आफू स्वीट्जरल्याण्ड पुगेका बेला पनि यसैगरी केबलकारमा रहेकै बेला प्राविधिक कारणले केहीबेर केबलकार हावामै रोकियो तर त्यहाँ समाचार भएन भन्दै उनले यो एक नियमित प्रक्रिया नै हो तर हामीकहाँ समाचार नै बन्नु विडम्बना भएको बताए।

चन्द्रागिरि केबलकारका सेल्स मार्केटिङ प्रमुख प्रभाकर खड्का भन्छन्, ‘मेसिनबाट चल्ने भएकाले कहिलेकाहीँ केबलकार रोकिन सक्ने, प्राविधिक समस्या आउन पनि सक्ने भए पनि पूर्ण सुरक्षित रहन्छ, यसमा यात्रु आत्तिनु पर्दैन, तत्काल नभए केही समयमा समस्या समाधान गरेर केबलकार सञ्चालन गरिन्छ।’

केही दिनअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेका बेला केबलकार रोकिएको समाचार आएको थियो। त्यस बखत केहीबेर केबलकार रोकिएपछि डिब्बामा मानिस आत्तिएका, अक्सिजन नपुगेर सास फेर्न गाह्रो भएको समाचार आएको थियो। सो समाचारतर्फ संकेत गर्दै अध्यक्ष ढकालले डिब्बामा सात मिनेट रोकिएर रहेका पत्रकारलाई सोधे, ‘के यहाँहरूलाई सास फेर्न गाह्रो भएको हो? उनले डिब्बामा रहेका झ्यालतर्फ देखाउँदै भने।

हरेक डिब्बामा झ्याल रहेकाले नियमित अक्सिजन आपूर्ति भइरहेको थियो। फेरि केबलकारका माथिल्लो बटम स्टेसन नै दुई हजार तीन सयमात्र उचाइमा रहेकाले यहाँ अक्सिजनको कमी हुने अवस्था पनि नरहेको प्राविधिकको भनाइ थियो।  

विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरे पनि प्राविधिक समस्याका कारण केही समय केबलकार रोकिनसक्ने तर त्यसका लागि वैकल्पिक व्यवस्थाका लागि सधैं तयारी अवस्थामा रहने हुनाले पनि कुनै जोखिम नहुने सञ्चालकको भनाइ थियो।

यसै विषयमा जानकारी गराउन चन्द्रागिरि हिल्सले आज यसको सम्पूर्ण प्राविधिक पक्षको स्थलगलत अध्ययन गराई, केबलकारमार्फत् बटम स्टेनसमा लगेर पत्रकार सम्मेलन गरेको थियो। 

अध्यक्ष ढकालले तीन चरणबाट केबलकार सञ्चालन हुने जानकारी गराए।

‘पहिलो विद्युतबाट सञ्चालन हुन्छ, विद्युत गएको खण्डमा एक मेगावाट बराबरको जेनेरेटरबाट सञ्चालन गरिन्छ, यदि त्यसले पनि काम गरेन भने, ‘इमर्जेन्सी ड्राइभ’ भन्ने छ, त्यो सय प्रतिशत चल्छ, त्यसमार्फत् जति पनि यात्रु डिब्बामा हुनुहुन्छ, उहाँहरूलाई सकुशल अवतरण गराउने समयसम्ममा नै काम गर्छ,’ उनले भने। 

उनले यदि कोही यात्रु रोकिएर माथि रहेमा उनीहरूलाई निःशुल्क रूपमा रिसोर्टमा बस्ने, खाने व्यवस्था गरिने र आकस्मिक रूपमा तल झर्नुपर्ने यात्रुलाई सवारी साधनको समेत व्यवस्था रहेको जानकारी दिए।

केबलकारका इलेक्ट्रोनिक इञ्जिनियर सरोज चापागाईंले केबलकार रोकिएर कुनै पनि हालतमा दुर्घटना नहुने जिकिर गरे।

उनी भन्छन्, ‘यदि प्राविधिक समस्या नै आइहाल्यो भने पनि अधिकतम ४० मिनेटमा आकस्मिक रूपमा मानिसलाई ओराल्ने काम हुन्छ, नत्र ५, १० मिनेटमा नै सुरक्षित रूपमा सञ्चालनमा आउँछ।’

‘हरेक दिन केबलकार सञ्चालनमा ल्याउनुअघि प्राविधिक परीक्षण हुन्छ, त्यसपछि पनि समस्या आइहालेमा तत्काल विज्ञबाट अध्ययन हुन्छ र ५, १० मिनेटमा निराकरण गरेर सेवा सञ्चालन हुन्छ। यदि समय लाग्ने खालको समस्या देखियो भने आकस्मिक ड्राइभमार्फत् मानिसलाई अवतरण गराउँछौं, धेरै समय लाग्यो भने तलका यात्रुलाई तलैबाट फिर्ता गराउँछौं र माथिका यात्रुलाई माथि रिसोर्टमा पनि लैजान्छौं’, उनले थपे। 

केबलकारका संस्थापक सञ्चालक अम्बिकाप्रसाद पौडेलले प्रश्न गरे, ‘हिजोको घटनामा चर्चा भएको अवस्था र आज आफैं पत्रकार चढेर रोकिएको अवस्थामा कस्तो महसुस गर्नुभयो?’  

सम्बन्धित समाचारहरू

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उदघाटन, पूर्वी नेपालमा पनि बलियो उपस्थिति

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उदघाटन, पूर्वी नेपालमा पनि बलियो उपस्थिति

विराटनगर – जगदम्बा मोटर्स प्रालि अन्तर्गतको नेपालकै अग्रणी इलेक्ट्रिक...

प्रि–बुकिङ गरिएका एक्सपेङ जी६ एसयूभी दशैं अगावै आइपुग्ने, डेलिभरी समेत गरिने

प्रि–बुकिङ गरिएका एक्सपेङ जी६ एसयूभी दशैं अगावै आइपुग्ने, डेलिभरी समेत गरिने

काठमाडौं – एक्सपेङको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले केही दिन...

नासाको नयाँ स्पेस टेक्नोलोजी : मात्र ५ मिनेटमा इलेक्ट्रिक कार चार्ज गर्न सकिने

नासाको नयाँ स्पेस टेक्नोलोजी : मात्र ५ मिनेटमा इलेक्ट्रिक कार चार्ज गर्न सकिने

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भविष्यको अन्तरिक्ष अभियानका लागि नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...