काठमाडौं– नगदमा आधारित कारोबार र भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंक लिमिटेडले उपाय सिटी कार्गो प्रालिसँग सहकार्य गरेको छ ।
सहकार्य सम्बन्धी सम्झौतामा बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप राणा, सिटी कार्गोका अध्यक्ष सुमन रायमाझी, एफवान सफ्ट इन्टरनेशनलका विश्वास ढकाल र यूके एड अन्तर्गतको सीपका नेपाल प्रमुख बल्जित बोहरालगातका प्रतिनिधिबीच हस्ताक्षर भएको थियो ।
उपाय सिटी कार्गोसँग आबद्ध पिक–उप ड्राइभर पार्टनरहरुलाई क्यूआरकोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले संचालित ढुवानी व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सिटी कार्गोको मूल उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
यस सहकार्य अन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम डाउन पेमेन्ट र ईएमआई पेमेन्ट अप्सन लगायतका थप सेवासुविधाहरु प्रदान गर्ने भएको छ ।
नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य तथा नीतिअनुरुप नगद कारोबारलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्न आयोजित उक्त कार्यक्रमले बैंकिङ सेवा क्षेत्रमा आउँदो डिजिटल आयामको संकेत दिएको छ ।
हाल सीमित रुपमा मात्र प्रचलनमा रहेको नगदरहित कारोबार अहिलेको परिप्रेक्ष्यमा व्यापक रुपमा विस्तार भइरहेको छ ।
आफ्नो डिजिटल सामर्थ्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटीएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।