दशैंमा सहायता कक्षदेखि प्रविधिमार्फत निगरानी गर्दै ट्राफिक प्रहरी

काठमाडौं - नेपालीहरूको महान चाड विजया दशमी (दशैं) को अवसरमा काठमाडौं उपत्यकामा सवारी सुरक्षाका लागि विशेष योजना लागू गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले दशैंको चाप र सम्भावित जोखिमलाई ध्यानमा राख्दै व्यापक ट्राफिक तथा सुरक्षा योजना तयार पारिएको जानकारी दिए । उनले दशैंका बेला सवारी व्यवस्थापन र नागरिक सुरक्षा सुनिश्चित गर्न १४ वटा प्रमुख स्थानहरूमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए ।

‘यात्रुहरूले गुनासो या सूचना दिनुपरेमा ती सहायता कक्षबाट तत्काल सेवा प्रवाह गरिनेछ,’ उनले भने ।

उनका अनुसार, यात्रुहरूलाई आवश्यक सूचना प्रवाह, ट्राफिक सचेतना अभिवृद्धि तथा आकस्मिक समस्याको तत्काल समाधानका लागि सहायता कक्षले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।

उपत्यकालाई दुई समूहमा ट्राफिक प्रहरी परिचालन

दशैंको समयमा सवारी चाप वृद्धि हुने भएकाले राजधानी क्षेत्रलाई दुई समूह– ‘क’ र ‘ख’– मा विभाजन गरिएको छ । समूह ‘क’ अन्तर्गत २३ युनिट र समूह ‘ख’ अन्तर्गत २४ युनिट ट्राफिक प्रहरी परिचालित छन् । एसपी सुवेदीका अनुसार, ‘हाम्रो उद्देश्य सजाय होइन, सचेतना अभिवृद्धि हो । यात्रामा कसैले गल्ती गरेमा दण्डित गर्नुभन्दा पनि सुधार गर्ने अवसर दिन चाहन्छौं ।’

रात्रिकालीन चेकिङः पाँच समूहमा ६९ युनिट परिचालन

चाडपर्वमा मादक पदार्थ सेवनगरी सवारी चलाउने प्रवृत्ति बढ्ने भएकाले रातको समयमा विशेष निगरानीका लागि पाँच समूहमा विभाजन गरिएको छ । समूह ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ अन्तर्गत क्रमशः १४, १४, १५, १४ र १२ युनिट गरी कुल ६९ युनिट परिचालित छन् । रातको समयमा सम्भावित दुर्घटना र अनुशासनहीन सवारी गतिविधि रोक्न यी युनिटहरू निरन्तर गस्तीमा रहनेछन् ।

२५० किलोमिटरभन्दा बढी दूरीका सवारी साधनमा दुई चालक अनिवार्य व्यवस्था लागू गर्न ट्राफिक प्रहरीले कडाइ गरेको छ । ट्राफिक कम्युनिकेशन एपमार्फत चालक संख्या, क्षमताभन्दा बढी यात्रु राखिएको वा बढी भाडा लिएको जस्ता गतिविधिमा निगरानी गरिने सुवेदीले बताए ।

बसपार्क, नाका, सुपरमार्केट, सपिङ मलजस्ता स्थानहरूमा ट्राफिक प्रहरी र सिभिल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । एसपी सुवेदीका अनुसार, ‘नागरिकलाई सुरक्षा प्रत्याभूति दिन हामी संयुक्त रूपमा खटिएका छौं । हामी उच्च मनोबलका साथ फिल्डमा छौं ।’

प्रविधिमार्फत निगरानीः लागूपदार्थ र मापसेमा कडाइ

सवारी चेकिङमा प्रविधिको प्रयोग बढाइएको उनले बताए । लागुपदार्थ वा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई पहिचान गर्न विशेष उपकरण र प्रविधिको प्रयोग भइरहेको उनको भनाई छ ।

हालैका जेनजी आन्दोलनका कारण केही कार्यालयहरू क्षतिग्रस्त भए पनि सेवा प्रवाह प्रभावित नभएको एसपी सुवेदीको भनाइ छ । ‘कुनैपनि प्रहरी कर्मचारी मनोबल गुमाएर बसेका छैनन्,’ उनले स्पष्ट गरे, ‘युनिफर्म र आवश्यक सामग्री सबैमा पुगेको छ, हामी युनिफर्ममै सेवा दिइरहेका छौं ।’

एसपी सुवेदीले सवारी वा समाजमा असामाजिक गतिविधि देखिएमा १०० वा १०३ मा फोन गरी नजिकको प्रहरीलाई जानकारी दिन नागरिकहरूलाई अनुरोध गरे । साथै, लामो दूरी यात्रा गर्नुअघि सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिए । ट्राफिक प्रहरीको यो विस्तृत योजना दशैंमा नागरिक सुरक्षाका लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ । सुवेदी भन्छन्, ‘हामी नागरिकका आँगनमै सेवा दिन तयार छौं, सूचना दिनुहोस्, सेवा हाम्रो तर्फबाट सुनिश्चित हुनेछ ।’

सम्बन्धित समाचारहरू

करोडौंका सवारी साधन छन् प्रहरी परिसरमा, लिलामीमा किन्न पाइने

करोडौंका सवारी साधन छन् प्रहरी परिसरमा, लिलामीमा किन्न पाइने

काठमाडौं – विभिन्न जिल्लाका प्रहरी कार्यालय परिसरमा देखिने करोडौ मूल्यका...

सरकार र व्यवसायीबीच छबुँदे सहमति भएर पनि किन चलेनन् सार्वजनिक यातायात ?

सरकार र व्यवसायीबीच छबुँदे सहमति भएर पनि किन चलेनन् सार्वजनिक यातायात ?

काठमाडौं – सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्म भएको छलफल...

अब साधारण ट्याक्सी नै एक हजार सीसी क्षमताको हुनुपर्ने, यस्तो छ नयाँ मापदण्ड

अब साधारण ट्याक्सी नै एक हजार सीसी क्षमताको हुनुपर्ने, यस्तो छ नयाँ मापदण्ड

काठमाडौं – अब साधारण ट्याक्सी नै एक हजार सीसी क्षमताको हुनुपर्ने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...