मोटरसाइकल मोडिफाइ गरेर चलाउने एक हजार ३७१ चालकलाई कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा चर्को आवाज निकाल्ने गरी मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरेर चलाउने चालकविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गर्दै हालसम्म एक हजार ३७१ चालकलाई कारबाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार मोटरसाइकलको साइलेन्सर तथा अन्य संरचना परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने, स्टन्ट गर्ने र मध्यरातसम्म सार्वजनिक सडकमा होहल्ला मच्चाउने चालकमाथि निगरानी बढाइएको हो ।

प्रवक्ता सुवेदीले यस्ता गतिविधिका कारण स्थानीय बासिन्दा, पैदलयात्री तथा अन्य सवारी चालकले लामो समयदेखि गुनासो गर्दै आएको जानकारी दिँदै चर्को आवाज निकाल्दै स्टन्ट गर्ने चालकलाई जरिवानासहित कानुनी कारबाही गरिएको बताए ।

उनका अनुसार यस्ता मोडिफाइड मोटरसाइकलका कारण विशेषगरी साना बालबालिका तर्सिने, रातिको समयमा स्थानीयको शान्ति भङ्ग हुने तथा सडक सुरक्षामा प्रत्यक्ष असर पर्ने गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार कतिपय अवस्थामा स्कुटर चलाइरहेका महिलाको छेउमै पुगेर चर्को आवाज निकाल्दै मोटरसाइकल कुदाउँदा उनीहरू आत्तिएर दुर्घटनामा समेत पर्ने गरेका छन् ।

सार्वजनिक सडक सबैको साझा सम्पत्ति भएकाले व्यक्तिगत रमाइलो वा प्रदर्शनका नाममा अरूको सुरक्षा, शान्ति र स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नपाइने स्पष्ट गरेको छ । सडकमा पैदलयात्रीदेखि विभिन्न किसिमका सवारीसाधन एकैसाथ सञ्चालन हुने भएकाले जिम्मेवार र अनुशासित रूपमा सवारी चलाउनुपर्नेमा कार्यालयले जोड दिएको छ ।

प्रवक्ता सुवेदीले ट्राफिक नियमको पालना गर्दै अनावश्यक रूपमा सवारीसाधनको स्वरूप परिवर्तन नगर्न, चर्को आवाज निकाल्ने उपकरण प्रयोग नगर्न तथा अन्य सवारी र पैदलयात्रीप्रति सम्मानजनक व्यवहार गर्न सबै चालकलाई आग्रह गरे ।

आगामी दिनमा पनि यस्ता गतिविधिविरुद्ध निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको ट्राफिक प्रहरीले जनाइएको छ । चर्को आवाज निकाल्ने, स्टन्ट गर्ने तथा सार्वजनिक शान्ति र सडक सुरक्षामा असर पुग्ने कुनै पनि गतिविधि सह्य नहुने भन्दै ट्राफिक प्रहरीले नियमविपरीत सवारी सञ्चालन गर्ने चालकलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ । रासस

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...