दशैंमा मोटरसाइकलबाट लामो यात्रा गर्दै हुनुहुन्छ ? यी सावधानी अपनाउनुहोस्

दशैं सुरु भएसँगै सहर छाड्ने र गाउँ फर्कनेहरूको चटारो छ । बसको टिकट नपाएर, वा आफ्नै हिसाबले स्वतन्त्र भएर यात्रा गर्ने सोचले धेरैजसो युवा तथा परिवारहरू मोटरसाइकल वा स्कुटरमा लामो दूरीको यात्रा तय गर्छन् ।

हरियाली डाँडाकाँडा, चिसो हावा र दशैंको उत्साहका बीच मोटरसाइकल तथा स्कुटरमा यात्रा गर्नुको बेग्लै रोमाञ्चकता हुन्छ । तर, यही रोमाञ्चकताभित्र ठूलो जोखिम पनि लुकेको हुन्छ ।

नेपालका साँघुरा, घुम्तीले भरिएका र ठाउँ–ठाउँमा बिग्रिएका सडकहरूमा चाडपर्वका बेला सवारी साधनको चाप दोब्बर हुन्छ । अलिकति मात्र असावधानी वा हतारोले चाडपर्वको खुसीलाई क्षणभरमै दुःखान्तमा बदल्न सक्छ । त्यसैले, दशैंमा मोटरसाइकलबाट लामो यात्रामा निस्कनुअघि र यात्राका क्रममा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

सवारीको पूर्ण परीक्षण
घरबाट निस्कनुभन्दा कम्तीमा दुई–तीन दिनअघि नै आफ्नो मोटरसाइकललाई दक्ष मेकानिककहाँ लगेर पूर्ण रूपमा सर्भिसिङ गराउनु अत्यन्त आवश्यक छ । ओरालो र घुम्तीहरूमा ब्रेकको भूमिका मुख्य हुने हुनाले ब्रेक प्याड र सु राम्ररी चेक गराउनुपर्छ ।

यस्तै, टायरको ग्रिप खियाएको छ भने तुरुन्त फेर्नुपर्छ र यात्राका क्रममा पन्चर हुने जोखिम कम गर्न टायरको हावाको प्रभाव सही राख्नुपर्छ । राजमार्गमा हुस्सु लाग्ने वा रात पर्ने सम्भावना हुने भएकाले हेडलाइट, ब्रेक लाइट र इन्डिकेटरले सही काम गरेको हुनुपर्छ ।

लामो दूरीमा इन्जिन तातिने भएकाले मोबिल फेर्नु उत्तम हुन्छ भने चेन धेरै खुकुलो वा टाइट नभई सही लुब्रिकेसन भएको हुनुपर्छ ।

सुरक्षा कवच र भार व्यवस्थापन
थोरै टाढा त हो नि भनेर सुरक्षा कवच बिना यात्रा गर्नु सबैभन्दा ठूलो भूल हो । चालक र पछाडि बस्ने दुवैले अनिवार्य रूपमा गुणस्तरीय हेल्मेट लगाउनुपर्छ ।

लामो यात्रामा विन्डप्रुफ ज्याकेट, फुल पाइन्ट, पन्जा र एङ्कल कभर गर्ने जुत्ता लगाउनु उपयुक्त हुन्छ, जसले हावा र चिसोबाट बचाउनुका साथै सम्भावित दुर्घटनामा जोगाउँछ ।

दशैंमा घर जाँदा उपहार र सामान धेरै हुनु स्वाभाविक हो, तर मोटरसाइकलको क्षमताभन्दा बढी भार बोक्नु खतरनाक हुन्छ । सामानलाई मोटरसाइकलको पछाडि दुवैतर्फ बराबर तौल हुने गरी मिलाएर डोरी वा बन्जी कर्डको प्रयोग गरी दह्रोसँग कस्नुपर्छ, किनकि खुकुलो सामानले यात्रा गर्दा सन्तुलन बिगार्न सक्छ ।

संयमित ड्राइभिङ र विश्राम
सडकमा गुडाउने मात्र होइन, सुरक्षित रूपमा पुग्ने सोच राख्नुपर्छ । चाँडै पुग्नु छ भन्ने हुटहुटीले दुर्घटना निम्त्याउने भएकाले मोडहरू, बस्ती क्षेत्र र साँघुरा पुलहरूमा गाडीको गति सधैं नियन्त्रणमा राख्नुपर्छ ।

अगाडि ठूलो गाडी छ भने अन्धाधुन्दा ओभरटेक गर्नु हुँदैन । अगाडिबाट आउने गाडी स्पष्ट देखिएपछि र हर्न वा डिपर दिएर मात्र अघि बढ्नुपर्छ । लगातार मोटरसाइकल चलाउँदा शरीर र आँखा थकिने हुनाले हरेक दुई घण्टाको यात्रापछि केही समय रोकिएर चिया पानी पिउने र शरीर तन्काउने गर्नुपर्छ ।

मादक पदार्थ निषेध र आवश्यक कागजात
मदिरा वा कुनै पनि मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु आफैं र अरूका लागि ज्यानमारा कदम हो । त्यसैले यात्राको समयमा यसबाट पूर्ण रूपमा टाढै बस्नुपर्छ। यदि अघिल्लो रात निद्रा पुगेको छैन वा शरीर भारी भइरहेको छ भने यात्रा सुरु गर्नु हुँदैन ।

यसका साथै सवारी चालक अनुमतिपत्र, नवीकरण भएको ब्लुबुक र तेस्रो पक्ष बिमाका कागजातहरू अनिवार्य साथमा राख्नुपर्छ । मोबाइल पूर्ण चार्ज राख्नुका साथै पावर बैंक र सामान्य प्राथमिक उपचारका सामानहरू जस्तै ब्यान्डेज, डिटोल र दुखाइ कम गर्ने औषधि बोक्नु बुद्धिमानी हुन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...