लन्च भयो २९८ किमी स्पिडयुक्त तेस्रो संस्करणको सुजुकी हायाबुसा सुपरबाइक

सुजुकीले भारतमा बहुप्रतीक्षित सुपरबाइक २०२१ सुजुकी हायाबुसा लन्च गरेको छ । यो सुजुकी हायाबुसाको तेस्रो संस्करण हो । अर्को महिना देखि यसको डेलिभरी शुरु गरिने कम्पनीको भनाइ छ ।

हायाबुसाको लुक पहिले भन्दा पनि आकर्षक छ । अनलाइन बुकिङ मात्र गर्न सकिने सो सुपरबाइक तीन विभिन्न कलरमा उपलब्ध हुनेछ ।

सुजुकी इन्डियाका प्रबन्ध निर्देशक कोइचिरो हिराओले विगत २० वर्ष देखि नै युवाहरुको ढुकढुकी बनेको सुजुकी हायाबुसा सानदार पर्फमेन्सका साथ बीएस–६ मापदण्डमा आधारित रहेको र यसको सुन्दरता तथा बोल्ड डिजाइनलाई मन पराउने सबैका लागि बनाइएको बताएका छन् ।
यो सुपरबाइक केही समय देखि नै निकै चर्चामा रहेको थियो । नयाँ हायाबुसामा कम्पनीको नयाँ लोगो डिजाइनको प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको एरोडाइनामिक फेस र क्रोम प्लेटेड लङ एक्जस्टका कारण पहिले भन्दा एग्रेसिभ देखिएको छ । त्यसैगरी यसमा प्रयोग गरिएको ७–स्पोक अलोय ह्विलले पनि यसको डिजाइनलाई नयाँ देखाएको छ ।

यो सुपरबाइकमा इन्जिन पनि अपडेट गरिएको छ । यसमा १३४० सीसी, इनलाइन फोर सिलिन्डर, लिक्विडकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले युरो ५ मापदण्डलाई पालना गरेको छ । सो इन्जिन राइड–बाई–वायर थ्रोटल सिस्टमयुक्त छ । त्यसैगरी यसमा अपडेट गरिएको इन्टेक र एक्जस्ट सिस्टम पनि छ । यी सबैका कारण लो तथा मिड रेन्जमा पावर र टर्क आउटपुट बढाउन सहयोग पुग्छ ।

सो इन्जिनले ९७०० आरपीएममा १८७.७ बीएचपी पावर र ७००० आरपीएममा १५० एनएम टर्क जेनेरेट गर्छ । पहिलेको मोडलको तुलनामा यसमा ८ बीएचपी पावर कम छ । यद्यपि सुजुकीका अनुसार नयाँ मोडल मजबुत टर्क डेलिभरीका साथ ‘सबैभन्दा तीव्र गतिको हायाबुसा’ हो । सो इन्जिनमा पहिले जस्तै ६–स्पिड गियरबक्स छ । रिपोर्ट अनुसार यसको टप स्पिड २९८ किलोमिटर प्रतिघण्टा छ । यो बाइक ३.२ सेकेन्डमै ० देखि १०० किमी प्रतिघण्टा सम्मको गतिमा जान सक्छ । यसले १५ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ ।

बाइकको इन्स्ट्रयुमेन्ट कन्सोलमा भएको ट्विन एनालग क्लक पनि अपडेट गरिएको छ । अब एनालग डायलको बीचमा एक सानो टीएफटी प्यानल दिइएको छ । यद्यपि यो अझै पुरानै मोडलको बाइकमा भएको जस्तो देखिन्छ । बाइकमा मल्टी इन्जिन पावर मोड, एक क्विक सिफ्टर र नयाँ इलेक्ट्रोनिक सिफ्टर उपलब्ध छ ।

बाइकमा नयाँ फिचरको रुपमा एसडीएमएस–अल्फाका साथ कम्पनीको नयाँ सुजुकी इन्टेलिजेन्ट राइड सिस्टम (एसआईआरएस) छ । यसमा ५ राइडिङ मोड, पावर मोड सेलेक्टर, इन्जिन ब्रेक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, बाई डाइरेक्सनल क्विक सिफ्ट सिस्टम र एन्टी लिफ्ट कन्ट्रोल सिस्टम जस्ता फिचर छन् । त्यसैगरी एक्टिभ स्पिड लिमिटर पनि छ, जसले बाइकको स्पिड लिमिट निर्धारण गर्न सहयोग गर्छ ।

नयाँ सुजुकी हायाबुसा २०२१ को मूल्य १६ लाख ४० हजार भारु तोकिएको छ, जुन पहिलेको मोडल भन्दा ३ लाख भारु महंगो हो ।

सुजुकी हायाबुसाको पहिलो मोडल सन् १९९८ मा लन्च गरिएको थियो । यो मोडललाई २००७ सम्म बेचे पछि २००८ मा सेकेन्ड जेनेरेसन आएको थियो । अब यसको थर्ड जेनेरेसन आएको हो ।

नेपालमा पनि कुनै जमानामा सुजुकी हायाबुसा बाइक बिक्रीका लागि उपलब्ध थियो । धेरै महंगो मूल्य पर्ने हुनाले यो केही संख्यामा मात्र उपलब्ध थियो । कान्तिपथस्थित सौरभ ज्योतिले सञ्चालन गरेको बाइक संग्रहालय ‘एसजे मोटो’ मा यो बाइक प्रदर्शन गरिएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ मारुती सुजुकी बलेनोको इन्टेरियर

यस्तो हुनेछ मारुती सुजुकी बलेनोको इन्टेरियर

केही दिन पहिला मारुती सुजुकी बलेनोको अपडेट भर्सन सार्वजनिक भएको थियो । सो...

सुजुकी स्विफ्ट फेरि बन्यो भारतको नम्वर १ कार

सुजुकी स्विफ्ट फेरि बन्यो भारतको नम्वर १ कार

सुजुकी स्विफ्टले नम्बर–१ कारको आफ्नो पुरानो विरासतलाई एकपटक फेरि फिर्ता...

वर्षमा ३ हजार ५ सय मोटरसाइकल बिक्री गर्न सुजुकीको ५८ डिलर, दवावमा कम्पनी

वर्षमा ३ हजार ५ सय मोटरसाइकल बिक्री गर्न सुजुकीको ५८ डिलर, दवावमा कम्पनी

सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...