सिताराम हाछेथुको ट्याटु कथा : नाडीमा ‘ट्राफिक नियम पालना गरौं’

‘मैले हातमा नमेट्ने गरेर लेखेँ तपाईहरुले मनमा लेखिदिनुहुन हार्दिक अनुरोध’ लेख्दै ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सिताराम हाछेथुले शनिबार बिहानै फेसबुकमा ट्याटु खोपेको तस्वीर सार्वजनिक गरे । उनले नाडीमा ‘ट्राफिक नियम पालना गरौं’ भन्दै ट्याटु खोपेका छन् । उनको उक्त तस्बीरमा सकारात्मक र उर्जाशील प्रतिक्रिया आइरहेका छन् ।

उनले यो ट्याटु डेढ वर्ष अघि खोपेका हुन् । तर, अहिले फेरि सडकमै आएपछि ट्याटु सार्वजनिक गरेको हाछेथु बताउँछन् ।

डेढ वर्ष अघिमात्र सरकारी सेवाबाट अवकास पाएका हाछेथुले करिव २९ वर्ष ट्राफिक प्रहरीमा बिताए । यो अवधिमा उनको अधिकांश समय सकडमै बित्यो । जसको झल्को अवकासप्राप्त भैसकेपछि पनि उनको मनबाट हटेन । ‘अवकास लिएको ६ दिनसम्म त मलाई निन्द्रा लागेन छटपटी भयो,’ उनी भन्छन्, ‘मेरो घर अरनिको राजमार्ग नजिकै भएकाले गाडीले हर्न बजाउँदा र गाडीको आवाज कानमा ठोक्किँदा सडकमै जाउँ–जाउँ लाग्थ्यो ।’

२९ वर्ष बिताएको पेसाबाट अलग्गिदा यस्तो लाग्नु स्वभाविकै हो । उनलाई शरीरमा ट्याटु खोप्ने ठूलो रहर थियो । तर, नेपाली प्रहरीको नुनपानी खाएकाले उनले ट्याटु खोप्न पाएका थिएनन् । अवकास प्राप्त भएपछि उनी एकजना साथी लिएर ठमेलस्थित गगन ट्याटुमा गए । त्यहाँ उनको ट्याटु खोप्नक लागि सबै तयारी पुरा भयो । यत्तिकैमा ट्याटु खोप्नेले के नामको खोप्ने भनेर हाछथुलाई सोेधे । उनले सिधै ट्राफिक नियम पालना गरौं भनिदिए । त्यसपछि ट्याटु खोप्ने मान्छे मज्जाले हाँसेको हाछेथु सम्झन्छन् । ‘उसले मैले मेरो श्रीमती अथवा छोराछोरीको नाम भन्छु भन्ने सोचेको रहेछ,’ उनी भन्छन्, ‘मैले ट्राफिक नियमको पालना गरौं भन्दा ती भाई मज्जाले हासेको थिए । सुरुमा त उनले मैले ट्याटु खोप्न लागेको भनेर पत्याएका थिएनन् ।’

त्यो भन्दा पहिला त्यस्तो अक्षरको ट्याटु नखोपेका हुनाले उसलाई फन्ट खोज्नै निकै समय लागेको हाछेथु बताउँछन् । ट्याटु खोपिसकेपछि उनले हाछेथुलाई ५० प्रतिशत छुट समेत दिए । ‘सुरुमा ट्याटु खोपेको ५ हजार रुपैयाँ लाग्छ भन्दै थिए,’ उनले भने, ‘ट्याटु खोपिसकेपछि ट्राफिक नियमको बारेमा पहिलोपटक ट्याटु खोपेको भनेर ५० प्रतिशत छुट गरेर २ हजार ५ सय रुपैयाँमात्र लिए ।’ प्रहरी सेवाबाट अवकाश प्राप्त भैसकेपछि हाछेथु ट्राफिक नियमको जनचेतना फैैलाउनका लागि विभिन्न स्कुल तथा कलेजमा पुग्थे । त्यहाँ आफ्नो ट्याटु देखेर सबै अचम्म मान्ने गरेको उनी बताउँछन् ।

अवकाश जीवन बिताइरहेका हाछेथुलाई २ महिना अघि अर्थात १५ भदौमा ललितपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखमा नियुक्त गरेको थियो । ट्राफिक प्रहरी हुँदा चर्चामा आएका उनले ललितपुर महानगरपालिकाको प्रहरी प्रमुखको जिम्मेवारी पाइसकेपछि धेरै काम गरिसकेका छन् । पहिलो काम उनले महानगरभित्रका सडकका फुटपाथमा राखेर मोटरसाइकल मर्मत गर्ने काम बन्द गराए ।

यससँगै रक्सीजन्य पदार्थको बारेमा गरिएका विज्ञापन हटाए, अनधिकृत रुपमा राखिएका होडिङ बोर्ड हटाए, कुपन्डोलदेखि कुमारीपाटीसम्म र एकान्तकुनादेखि जावलाखेलसम्म फुटपाथ निषेधित क्षेत्र घोषणा गरेका छन् । जसमा कसैले पनि फुटपाथमा पसल वा कुनै सामान राख्न पाउने छैनन् । यस्तै, महानगरभित्र रहेका मठ मन्दिर तथा पाटीहरु दिनको एउटा सफा गर्ने, महानगरभित्रका नौ वटा चोकमा ट्राफिक प्रहरीलाई सहयोग गर्न एकजना नगर प्रहरी परिचालन गरेका छन् । यसैगरी, उनी ललितपुर महानगरको प्रहरी प्रमुख भएसँगै प्रहरीको पोषाक परिवर्तन गराए भने नगर प्रहरीले लठ्ठी नबोक्ने निर्णयसमेत गरेका छन् ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...