सूर्यविनायक–धुलिखेल सडक विस्तार पुनः थालिने, ७ अर्बको टेन्डर हुँदै

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक आयोजनाको प्रक्रिया पुनः थालिने भएको छ । यसका लागि छ लेनको डिजाइन सकेर स्वीकृतिको चरणमा रहेको जनाइएको छ । 

केही वर्षदेखि धुलिखेलदेखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले सडक विभागले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । उक्त सडकखण्ड विस्तारको प्रक्रिया आगामी आर्थिक वर्षको शुरुआतसँगै पुनः थालिने सडक विभाग, योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिए । “नयाँ आर्थिक वर्षको शुरुआतसँगै आयोजनाको प्रक्रिया थालिनेछ”, उनले भने । उनका अनुसार सकेसम्म लगानीकर्ता खोजिनेछ, नभए सरकार आफैँले निर्माण गर्नेछ ।

उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग समेत छलफल भइरहेको नेपालले बताए । सो सडक करीब १५ किलोमिटर लम्बाइको छ । सङ्घीय राजधानीबाट वाग्मती प्रदेशअन्तर्गत मध्य पहाडीका विपी र पुष्पलाल राजमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट प्रदेश नं १ र २ का नागरिक काठमाडौँ आउजाउ गर्दछन् । विस्तारका क्रममा निर्माण हुनेछ, लेनमध्ये सवारी साधनका लागि चार र दुई लेन सर्भिस लेन हुने जनाइएको छ । छ स्थानमा आकाशेपुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण गरिनेछ । 

भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा प्रस्तावित एक दशमलव २९ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने–नगर्नेबारे समेत छलफल भइरहेको जनाइएको छ । सुरुङमार्ग भने दुई लेनको हुनेछ भने सडकको चौडाइ साढे तीन मिटरको हुनुपर्ने डिजाइनमा उल्लेख गरिएको छ । 

आयोजनाका लागि करीब रु सात अर्बको टेन्डर आह्वान हुने प्रक्रियामा रहेको पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार हाल आयोजनाको डिजाइन सकेर स्वीकृतिको चरणमा रहेको छ । “आयोजना सम्पन्न भएपछि धुलिखेल–भक्तपुरको सवारी चाप निकै कम हुन्छ, यसले सडक विस्तारमा अर्को फड्को मार्नेछ”, उनले भने । उनका अनुसार आउँदो आर्थिक वर्षको बजेटमा समेत उक्त सडक विस्तार आयोजना समावेश गरिएको छ । 

करीब दशक पहिले तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जाइकाले नै सूर्यविनायक–धुलिखेल सडक विस्तारको अघिल्लो प्रक्रियामा पनि चासो देखाएको थियो । सन् २०१८ मा अध्ययन सकेर प्रारम्भिक डिजाइन पेश गर्दै सरकारको बजेटमा डिजाइन अनुसारको काम गर्न नसक्ने जाइकाले जनाएको थियो । त्यसबेला सरकारसँग आयोजनाको बजेटमा सुरुङमार्गको योजना हटाएर पनि लागत कम गर्न अनुरोध गर्दै जाइकाले तारतम्य नमिलेको आरोप लगाउँदै हात झिकेको बताइन्छ । त्यसयता सरकारले आफैँ निर्माण गर्ने जनाउँदै आएको छ । 

सरकारले चालु आर्थिक वर्षमा कान्ति राजपथसँगै धुलिखेल–सूर्यविनायक सडक विस्तार शुरु गर्न रु एक अर्ब २० करोड विनियोजन गरेको थियो भने अघिल्लो आवको बजेटमा समेत उपत्यकाको विद्यमान सवारी चापलाई व्यवस्थापन गर्न स्तरोन्नति विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो ।

समयसमयमा जाइकाले उक्त आयोजनामा चासो दिइएको बताइए पनि कोभिड–१९ का कारण एक वर्षदेखि कुनै निकायद्वारा प्रक्रिया थालिएको थिएन ।  डिभिजन सडक कार्यालय भक्तपुरले भने गत वर्षदेखि सडक निर्माणस्थल खाली गराउन रूख कटान लगायतको काम गर्दै आएको छ । सडक विस्तार सम्पन्न भए पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ । 

जाइकाका अधिकारीका अनुसार त्यसबेला रु २३ अर्ब लागतको प्रस्ताव गरेको जनाइएको छ । उसले सडक विस्तारका क्रममा जग्गासमेत लिनुपर्दा रु ४२ अर्ब लाग्ने अनुमानसमेत गरेको जनाइएको छ । जाइकासँग उक्त सडकखण्ड विस्तारसँगै जडीबुटी अन्डरसापास वा फ्लाई ओभार समेत निर्माणको छलफल भएको थियो । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेलगत्तै जाइकाले सन् २०११ मै सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको प्रारम्भिक अध्ययन गरेको जनाएको थियो । 

राजकुमार पराजुली/रासस

सम्बन्धित समाचारहरू

ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित

ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित

काठमाडौं – ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’...

दशैंमा सहायता कक्षदेखि प्रविधिमार्फत निगरानी गर्दै ट्राफिक प्रहरी

दशैंमा सहायता कक्षदेखि प्रविधिमार्फत निगरानी गर्दै ट्राफिक प्रहरी

काठमाडौं – नेपालीहरूको महान चाड विजया दशमी (दशैं) को अवसरमा काठमाडौं...

उपत्यकामा आज पनि निषेधाज्ञा तथा कर्फ्यू निरन्तर, आवतजावतका लागि ताेकियाे समय

उपत्यकामा आज पनि निषेधाज्ञा तथा कर्फ्यू निरन्तर, आवतजावतका लागि ताेकियाे समय

काठमाडौं – पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...