रेनोको सबैभन्दा सानो ईभी सार्वजनिक, २६३ किमी रेन्जको स्टाइलिस ईभी सहरका लागि उपयुक्त

फ्रान्सेली अटो निर्माता कम्पनी रेनोले न्यु जेनेरेसन ट्विङगो इलेक्ट्रिक कारको प्रोडक्सन डिजाइन सार्वजनिक गरेको छ । पहिले नै सार्वजनिक भएको कन्सेप्टसँग मिल्दोजुल्दो देखिने २०२६ रेनो ट्विङगो ई–टेक एउटा सिटी साइजको इलेक्ट्रिक ह्याचब्याक हो ।

युरोपेली बजारमा रहेका मिनी कुपर ईभी र फियाट ५००ई तथा बीवाईडी एट्टो १ जस्ता ईभीसँग यसको प्रतिस्पर्धा हुनेछ । यो सानो ईभी अहिले सम्मको रेनोको सबैभन्दा सस्तो र सानो इलेक्ट्रिक कार हो, जसले २६३ किलोमिटरको डब्लुएलटीपी रेन्ज दिने दावी गरिएको छ ।

रेनोले पछिल्ला वर्षहरूमा आफ्ना पुराना लोकप्रिय मोडलहरूलाई नयाँ प्रविधि र विद्युतीय प्लेटफर्ममा रूपान्तरण गर्ने रणनीति अख्तियार गरेको छ। ट्विङगोे पनि सोही अवधारणाको अंश हो, जसको पहिलो संस्करण सन् १९९० को दशकमा चर्चित थियो। अहिलेको नयाँ ट्विङगोे ई–टेक पहिले नै सार्वजनिक गरिएको ‘कन्सेप्ट’ को उत्पादन संस्करण हो, जसले पुरानो डिजाइनको भावनालाई आधुनिक प्रविधिसँग मिलाएको छ।

रेनो ट्विङगोे ई–टेकको लम्बाइ ३,७९० एमएम, चौडाइ १,६४६ एमएम र उचाइ १,५५७ एमएम रहेको छ। यसको २,४९० एमएमको व्हिलबेसले सानो आकारमा पनि पर्याप्त आन्तरिक ठाउँ उपलब्ध गराएको छ।

यद्यपि आकारमा सानो देखिए पनि यसको भित्री भाग निकै व्यावहारिक बनाइएको छ । यसमा भएको पाँच सिटको लेआउटमा पाँच वयस्क व्यक्ति सहजै बस्न सक्ने दाबी गरिएको छ। साथै, ३६० लिटरको बुट स्पेस (डिक्की) प्रदान गरिएको छ भने पछाडिका सिट फोल्ड गरेपछि यो क्षमता १ हजार लिटरभन्दा माथि पुग्छ।

फ्रेन्च डिजाइन र प्रविधिको स्वाद यसमा पाउन सकिन्छ । गाडीको अगाडिको भागमा अर्धवृत्ताकार एलईडी हेडलाइट र टेललाइट डिजाइन, एरो–फ्रेन्ड्ली १८ इन्चका ह्विल र सरल तर आकर्षक प्रोफाइलले ट्विङगोेलाई आधुनिक बनाएको छ। भित्री भागमा रेनोको ‘फ्रेन्च टच’ झल्किन्छ । सयमा भएको ७ इन्चको डिजिटल मिटर क्लस्टर र १० इन्चको इन्फोटेनमेन्ट प्रणालीमा गुगलका सर्भिस उपलब्ध छन् ।

रोचक कुरा के छ भने, यस गाडीमा ‘रेनो’ नामक भर्चुअल सहायक (अवतार) र फ्रान्सेली संगीतकार जिन माइकल जेरद्वारा तयार गरिएको धुन र ध्वनि प्रभाव पनि समावेश गरिएको छ, जसले ट्विङगोेलाई साँच्चिकै ‘फ्रेन्च ईभी’ बनाउँछ।

रेनो ट्विङगोे ई–टेकमा कम्पनीको आफ्नै एएमपी आर स्मल प्लेटफर्म प्रयोग गरिएको छ, जुन रेनो ४, रेनो ५ र निसान माइक्रा जस्ता मोडलमा पनि प्रयोग गरिएको छ । यसमा २७.५किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ, जुन क्याटलको स्रोतबाट प्राप्त भएको हो । यसले २६३ किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्छ।

ब्याट्री सानो भएकाले यसको डीसी फास्ट चार्जिङ गति ५० किलोवाटमा सीमित गरिएको छ, जसले १० देखि ८० प्रतिशत चार्ज गर्न ३० मिनेट समय लिन्छ।

यो गाडी रेनोको स्लोभेनियास्थित नोभो मेस्टो प्लान्टमा उत्पादन हुनेछ र सन् २०२६ को अन्त्यतिर युरोपेली बजारमा उपलब्ध हुनेछ। मूल्य २० हजार पाउन्ड अर्थात करीब ३५ लाख नेपाली रुपैयाँ भन्दा कम हुने अनुमान छ, जसले यसलाई युरोपका सबैभन्दा सस्ता ईभीहरूमध्ये एक बनाउनेछ।

हाल नेपालमा साना, सस्तो र सहरमै चल्ने विद्युतीय सवारीको माग तीव्र गतिमा बढिरहेको छ। काठमाडौं, पोखरा, विराटनगर जस्ता सहरहरूमा सघन ट्राफिक, सीमित पार्किङ स्थान, र इन्धन मूल्यवृद्धिले उपभोक्तालाई कम्प्याक्ट ईभीतर्फ आकर्षित बनाएको छ।

यदि रेनो ट्विङगोे ई–टेक नेपालमा ल्याइयो भने, यसले टाटा टियागो ईभी, एमजी कमेट ईभी र बीवाईडी डल्फिन जस्ता मोडलहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न सक्छ। यसको कम मूल्य, सानो आकार र फ्रेन्च शैलीको आकर्षणले युवा उपभोक्तालाई लोभ्याउने सम्भावना छ।

अर्कोतर्फ, २६३ किमीको वास्तविक रेन्ज नेपालका सहरहरूका दैनिक यात्राका लागि पर्याप्त मानिन्छ - जसले चार्जिङ इन्फ्रास्ट्रक्चर अझै सीमित भएको अवस्थामासमेत व्यावहारिक विकल्प बनाउँछ।

रेनोले नेपालमा सवारी बिक्री सुरु गर्न औपचारिक घोषणा नगरेको भए पनि, भारतीय बजारमा यसको उपलब्धता भएपश्चात नेपाल भित्र्याउने सम्भावना बलियो छ। किनभने रेनोको क्विड र ट्राइबर जस्ता मोडलहरू पहिले नै नेपाली बजारमा सफल छन्, र कम्पनीले इलेक्ट्रिक सेग्मेन्टमा प्रवेश गर्ने तयारी गरिरहेको संकेत पहिले नै देखिएको छ। यद्यपि यो गाडी नेपाल आउने वा नआउने भने अहिले नै भन्न सकिन्न ।

सम्बन्धित समाचारहरू

यस्तो छ आगामी फेस्टिभ सिजनमा नेपाल भित्रिने नयाँ इलेक्ट्रिक कार

यस्तो छ आगामी फेस्टिभ सिजनमा नेपाल भित्रिने नयाँ इलेक्ट्रिक कार

इन्डोनेसियामा उत्पादन हुने वुलिङ एयर ईभी नेपाली बजारमा भित्रिने भएको छ ।...

सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ बन्यो चीनको सबैभन्दा सुरक्षित कार

सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ बन्यो चीनको सबैभन्दा सुरक्षित कार

सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ क्रसओभरले सी–एनक्याप सेफ्टी र...

नयाँ शोरुम सहित बीवाईडी एट्टो३ पोखरामा सार्वजनिक

पोखरा बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ गत शनिबार पोखरामा सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...