काठमाडौं – आगामी अप्रिल महिनामा नेपाली बजारमा लन्च गर्ने घोषणा गरिएको प्योर ईभीको इलेक्ट्रिक स्कुटर ईट्रान्स नियोको बुकिङ खुलेको छ । नेपालका लागि प्योर ईभीको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले सो स्कुटर ५ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिने बताएको छ ।
सो स्कुटरको मूल्य २ लाख २९ हजार रुपैयाँ तोकिएको छ । यसरी बुकिङ गर्ने ग्राहकको बुकिङ वापतको ५ हजार रकम फिर्ता हुनुका साथै उनीहरुलाई १० हजार रुपैयाँ समेत मूल्यमा छुट उपलब्ध हुनेछ ।
ईट्रान्स नियोमा २.५ किलोवाट आवरको पोर्टेबल लिथियम आयोन ब्याट्री प्याक दिइएको छ जसले फुल चार्जमा ११६ किलोमिटर माइलेज दिने कम्पनीको भनाइ छ । यसमा २२ सय वाटको मोटर छ ।
तीन स्पिड मोड दिइएको स्कुटर ६० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ । स्कुटरमा एलईडी ड्यासबोर्ड दिइएको छ भने ३० एनएमको टर्क उत्पादन गर्न सक्छ ।
स्कुटरमा प्रयोग भएको ब्याट्रीमा ३ वर्ष वा ४० हजार किलोमिटरको वारेन्टी कम्पनीले नै दिएको छ । सुरक्षाका लागि स्कुटरमा एन्टी थेफ्ट स्मार्ट लक सिस्टम छ भने यसमा दुई जना व्यक्ति आरामदायी तरिकाले बस्न सकिन्छ ।
भारतमा हालै लन्च गरिएको यो स्कुटरले मास इलेक्ट्रिक स्कुटरको पहिचान कायम गरेको छ । यो भन्दा पहिले नेपाली बजारमा प्योर ईभीका दुई इलेक्ट्रिक स्कुटर ईप्लुटो ७जी र ईट्रान्स प्लस उपलब्ध छन् ।